Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

विषादी नियन्त्रणमा सरकारी उदासीनता


२०७६ श्रावण १९ गते , आईतवार प्रकाशित



     उपेन्द्र झा   जनजीवनलाई अस्त व्यस्त बनाउने बाढी, पहिरोको प्रकोप सालमा एकपल्ट आउँछ । तर नेपाली जनजीवनमा महामारीको रूपमा प्रवेश गरेको बिषादिको प्रयोग मानव सभ्यताका लागि ठूलो चुनौतीको रूपमा देखा परेको छ । कृषिजन्य उत्पादनमा बाध्यात्मक रूपमा प्रयोग हुने “प्लान्ट क्वोरेन्टाइन एवं बिषादि व्यवस्थापन केन्द्रमा” दर्ता भएको बिषादिको संख्या १३९ किसिमका छन् । भारतमा यो संख्याको दोब्बरभन्दा पनि बढि बिषादि कृषिजन्य उत्पादनमा प्रयोग हुने गरेको छ ।    वातावरणीय प्रभाव अनुसार वालीको सुरक्षा तथा अत्यधिक उत्पादन लिने उद्देश्य मात्रमा प्रयोग गरिने बिषादि निर्विकल्प अवस्थामा रहेको छ । व्यावसायिक खेतीका लागि बालीको सुरक्षा र बढि उत्पादनको तीव्र विचारमा मानव स्वास्थ्य प्रवेश गरेको पाइन्न । नित नयाँ वैज्ञानिक प्रविधीको आविष्कारले जहाँ मानवलाई संसारसंग जोड्यो, आधुनिक मानवको रूपमा उभ्यायो । उहीं आधुनिकताको नाममा मानव जीवनशैली उदाङ्ग, असन्तुलित र अराजक बन्यो । यही अराजक शैलीले वातावरणको स्वच्छतालाई नाश ग¥यो । वातावरणको स्वच्छता बिगार्न मानवको अज्ञानतावश आक्रामक हस्तक्षेपले वातावरण अशुद्ध मात्र होइन, अनेक शक्तिशाली ब्याक्ट्रियाहरू जन्मिदै गएपछि यो मानव जीवनका लागि प्रकोपको रूपमा देखा परेको छ ।
  वातावरणीय स्वच्छता कायम राख्न जैविक तथा वानस्पतीय योगदानको सन्तुलनमा मानवको अराजक हस्तक्षेपले प्राकृतिक प्रणाली नै बिग्रिएर मानव विपरितको वातावरणीय बिकटता आएको हो । मानव सभ्यतालाई नष्ट गर्ने यी विपदालाई शक्ति राष्ट्रहरूले चिन्ताको बिषय बनाएका छन् । तर नेपाली जनजीवन बिषादि प्रयोग गरेर रोगी हुँदै उल्लेख्य रूपमा मर्दै जानेप्रति सरकारको कुनै चासो नदेखिनु ठूलो दुर्भाग्य हो ।    नेपालमा ४० वर्षदेखि भित्रिएको केमिकल मल र बिषादि २० वर्ष यता बिषादीको प्रयोग तीव्र रूपमा बढेको छ । अन्नवाली, दलहन, तेलहन, तरकारी, सागपात तथा फलपूmलहरू सबै बिषादियुक्त रहेकोले बिषादिबाट बच्ने कुनै विकल्प नरहेको अवस्थामा मानव जीवनको अवस्था के होला ? कुनै बिषादि दीर्घकालीन प्रभाव जमाउने किसिमका छन् भने कुनै अल्पकालीन । तर यसको पनि वर्गीकरण गरेको पाईंदैन । यति लामो समयदेखि नेपाली जनजीवनमा बिषादिको प्रयोग भई रहेको, स्वास्थ्य बिग्री रहेको तथा अस्पतालमा रोगीको संख्या यसैकारण बढि रहेको कुरा अध्ययन अनुसन्धानबाट डाक्टरहरूले लेखमार्फत सार्वजनिक गर्न लाग्दा यो महामारीबारे सर्वसाधारणले थाहा पाए ।        भारतीय तरकारी, फलपूmल लादिएको सयकडौं मालवाहक वाहन विषादि परिक्षणका लागि सीमानाकामा रोकिएपछि बिषादीको आतंक फैलिएको हो । योभन्दा पूर्व सबै तैं चुप मै चुपको अवस्थामा व्यक्तिगत पीडा भोगि रहेका थिए । साधन स्रोतको अभावमा सरकारले सीमा नाका रोकिएको मालवाहक वाहनलाई नेपाल प्रवेश गर्न अनुमति दियो । बिषादियुक्त तरकारी, फलपूmलको आयात पूर्ववत् संचालनमा आयो । तत्काल सरकारले पनि कुनै विकल्प खोज्न सकेन । जेहोस् अज्ञानवश सीमानाकामा रोकिएको मालबाहक वाहकको घटनाले नेपाली जनजीवनमा बिषादिबारेको प्रचार आतंक फैलाउन राम्रो भूमिका खेल्यो । रोकिएको भारतीय तरकारीको परिक्षण गर्दा बिषादिको मात्रा ७०% भन्दामाथि थियो ।   वि. सं. २०२६ – ०२७ सालतिर नेपालमा महामारीको रूपमा मलेरियाको प्रकोप धेरै मात्रामा देखिएको थियो । मानव जीवन बचाउन त्यतिबेला डिटीटी बिषादि वरदान साबित भएको थियो । कीटनाशकको रूपमा पनि यसको प्रयोग प्रभावकारी साबित भएको थियो । विस्तारै यो बिषादि मानव जीवनको महत्वपूर्ण अंग बन्यो भने पछि विनाशका कारण पनि बन्यो । विस्तारै त्यसको प्रयोग बन्द भयो ।    नेपालमा बढि प्रयोग हुने अर्गानोक्लोरिन, अर्गानोफोस्फेट, पाईरिथ्रोइड्स र कार्बामाईट नामका बिषादि विज्ञहरूले पहिचान गरेका छन् । सम्पूर्ण परिक्षण गर्नका लागि उपकरण प्रविधी “खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग” मा रहेकोले नाकामा आउने तरकारी र फलपूmलको बिषादि जाँच सम्भव छैन । कालीमाटीमा खोलिएको “पिषादी परिक्षण ईकाई” मा परिक्षण उपकरणको अभाव छ । यसले बिषादिको अवशेषमात्र परिक्षण गर्न सक्दछ भनिन्छ । कृषि विभाग अन्तर्गत रहेको “प्लान्ट क्वोरेन्टाइन” संग पनि पूर्ण जाँचको साधन नभएकोले सीमानाकामा जाँचको प्रक्रियाबाट सरकार पछि हटेको देखियो ।  अहिले नाकामा राखिने सिमित प्रकारका जाँच उपकरणले बिषादिको पूर्ण जाँच गर्न असक्षम नै रह्ने देखिन्छ । जाँचको पूर्णता प्राप्त गर्न खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले ताईवानबाट आयात गरेको उपकरण जस्तै हरेक सीमानाकामा उपकरण राख्नु पर्ने हुन्छ । अनि मात्र बिषादियुक्त कृषिजन्य उत्पादनको आयातलाई नियन्त्रण गर्न सकिन्छ ।   कृषिजन्य नेपाली उत्पादनभन्दा भारतबाट आयात हुने उत्पादन बढि बिषालु छन् । नेपालको उत्पादनमा तराईमा बढि बिषादिको प्रयोग छ भने पहाडमा मध्यम तथा दुर्गममा किञ्चित पनि छैन । तर कम तथा बिषादिरहित कृषि उत्पादन प्रतिस्पर्धामा नरहेकोले यो व्यक्ति प्रयोगमा सिमित छ । बिषादिको तीव्र प्रयोगका कारण मानिसमा क्यान्सर रोग लाग्ने, स्नायु प्रणाली प्रभावित हुने आदि रोगको संख्या दिनानुदिन बढ्दो छ । स्वास्थ्य परिक्षण अध्ययनले यही देखाएको छ ।     रासायनिक पदार्थ तथा विषादी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुसार यहाँ पनि कानून बनेको छ । तर विषादी प्रयोगको महामारीमा सम्पूर्ण नेपाली जनसंख्या शिकार भई रहेको अवस्था छ । नेपाली जनजीवन विनाशतिर अग्रसर भई रहेकोप्रति न सरकार न उपभोक्ता कोही सचेत भई रहेको देखिदैन र दैनिक जीवनमा आवश्यकता पूर्ति गर्न त्यही बिषादि तरकारी प्रयोग गर्न मानिस बाध्य छन् । जानी जानी बिष खाने, खुवाउने बसी रहेको प्रथालाई हटाउन वैकल्पिक मार्गको खोजी आवश्यक बुझिएको छ ।    नेपाली जनजीवनमा दशकौंदेखि विषादीको प्रयोग भई रहेको र यसको नियन्त्रणमा सरकारको उदासीनता निश्चय पनि एउटा समस्या बनेको छ । विषादी खाएर मृत्युको शिकार भई रहेको जनजीवनलाई यसरी सरकारी स्तरबाट उपेक्षा हुनु निन्दनीय छ । यो महामारीलाई रोक्न जनस्तरबाट पनि आवाज उठ्न जरूरी देखिन्छ । यस्तो महामारीप्रति सम्बेदनशील नहुनु सभ्य सरकारको परिचय होइन । बिषादि नियन्त्रणतर्फं यथाशीघ्र कदम चालियोस् ।
(मधेश दर्पण फिचर सेवा)  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif