Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

अमर धरती पुत्र हो पुष्पलाल !


२०७६ श्रावण ६ गते , सोमवार प्रकाशित


इन्द्रनारायण सुबेदी 

मन्दाक्रान्ता

जन्मे धेरै यस मुलुकमा क्रान्तिका अग्रदूत ।
श्रद्धा निष्ठा अनुपम हुने वीर योद्धा सपूत ।
त्यस्तै यौटा युग पुरुष त्यो चेतनाको हिमाल ।
बोकी हिँड्ने गति मुलुकको शैल हो पुष्पलाल ।१।


कैल्यै आफ्नो अडिग पथमा हार मान्दै नमानी ।
नेपालीका हित प्रगतिमा मात्र विश्वास ठानी ।
दायाँबायाँ अघिपछि हुने बिघ्न बाधा कराल ।
निल्दै हिँड्ने युग पथिकको नाम हो पुष्पलाल ।२।


अत्याचारी अहितकर त्यो देशघाती ब्यबस्था । 
सत्ताधारी सुखशयलमा तैरिएको अवस्था ।
तोड्दै जाने अनय सब ती लक्ष बोकी कमाल ।
भिड्दै हिँड्ने अथक बटुवा दक्ष हो पुष्पलाल ।३।


साना ठूला कुल अकुलका भिन्नता भेदभाव ।
मान्छे,मान्छे सरह नहुने, वर्गभेदी प्रभाव ।
फ्याँकी कालो कसर जनमा लादिने झेल जाल ।
बाटो खोज्दै गतिमय हुने दीप हो पुष्पलाल ।४।


भोका नाङ्गा कठिन श्रमले जिन्दगी जेलिएका ।
अत्याचारी क्रूर दमनले पिल्सिँदै पेलिएका ।
मान्छेलाई हितकर हुने एउटै चन्द्र भाल ।
ज्यूँदो जाग्दो अमर धरती पुत्र हो पुष्पलाल ।५।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif