Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

प्रदेश ३ मा श्री लालिगुराँस उत्कृष्ट संस्था


२०७६ असार २५ गते , बुधवार प्रकाशित

यो वर्षको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७५ श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्थाले प्राप्त गरेको छ । ९७औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ बाट श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्थालाई उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत गरिएको हो । 

भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले संस्थाका अध्यक्ष अमरदास श्रेष्ठलाई २० हजार रुपिया नगद सहित सम्मानपत्र प्रदान गरेकी थिइन् । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीले अब कृषि क्षेत्रमा सहभागिता बढाउनुपर्ने जनाइन् । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले मर्यादित काम सिर्जना गर्न सहकारीले युद्धस्तरमा काम गरेको र आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा सात प्रदेशबाट सात र संस्थागत तर्फ ललितपुर बहुउद्देश्यीस संघलाई सम्मान गरिएको थियो । २०५६ सालमा डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई कारोबार सुरु गरेको यस संस्थालाई ६२औं सहकारी राष्ट्रिय दिवसको अवसरमा उत्कृष्ट सहकारीको रुपमा पनि घोषणा गरिएको हो । 

संस्थाले चालु आवमा सरकारलाई चार करोड ७१ लाख ९७ हजार १९९ राजश्व बुझाएको जनाएको छ । सहकारी संस्थाहरुबाट राजश्वमा धेरै योगदान गर्ने लालीगुराँस नै पहिलो भएको सो संस्थाको दावी रहेको छ ।

नेपाल सरकारलाई राजश्वमा गरेको योगदान  समग्र सहकारी संस्थाहरु मध्ये अग्रणी स्थानमा रहेको छ । संस्थाले ललितपुरको चापागाँउ, काठमाण्डौंको चाबहिल, भक्तपुरको कौशलटार र चितवनको खैरहनी गरी ४ जिल्लामा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ ।

१७ हजार ८ सय ७० जना शेयरसदस्य रहेको संस्थाले चितवन जिल्लाको खैरहनी नगरपालिकामा नेपालकै सर्वाधिक ठुलो डेरी फार्म संचालनमा ल्याएको छ । संस्थाले ललितपुरको गोदावरीमा डेरी उद्योग संचालनमा लयाउने तयारी गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले बहुउद्देश्यीय लगानी तर्फ लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस एजुकेशन फाउण्डेशन प्रालि, जय लालीगुराँस ईन्भेष्टमेन्ट एण्ड ट्रेडिङ्ग कम्पनी प्रालि, भैरबकुण्ड हाईड्रोपावर लि लगायत अन्य विभिन्न कम्पनी तथा संघ संस्थाहरुमा शेयर लगानी गरेको छ । 

कार्यक्रममा प्रदेश १ बाट झापाको शुभलक्ष्मी सहकारी संस्था, प्रदेश २ बाट सर्लाहीको मनोकामना बहुउद्देश्यीय सहकारी संस्था, गण्डकी प्रदेशबाट बागलुङको आदर्श संचार सहकारी संस्था, ५ बाट रुपन्देही सामुहिक विकास साकोस, कर्णाली प्रदेशबाट सुर्खेतको साना किसान कृषि सहकारी संस्था र सुदुरपश्चिम प्रदेशबाट कैलालीका किसान बहुउद्देश्यीय सहकारी संस्थालाई नगद २० हजार पुरस्कार सहित सम्मान गरिएको छ । त्यसैगरी सो अवसरमा विभिन्न १० जिल्लास्तरीय संघहरुलाई कार्यालय उपकरण समेत वितरण गरिएको थियो । 


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif