Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

भक्तपुर बचत संघले बनायो आगामी ३ वर्षको व्यवसायिक योजना


२०७६ असार २३ गते , सोमवार प्रकाशित

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले त्रिबर्षीय व्यवसायिक योजना तथा नीति अध्यावधिका कार्यक्रम सम्पन्न गरेको छ । दुई दिने कार्यक्रमको उद्घाटन गर्दै संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले आत्मनिर्भर संघको परिचय बोकेको संघले स्थापना कालदेखि व्यवसायिक योजना बनाउदै प्रगति हासिल गर्न सकेको औंल्याए । पाँचौं त्रिबर्षिय व्यवसायिक योजनाको समीक्षा र छैटौं व्यवसायिक योजना निर्माणको सो कार्यक्रममा निर्वतमान अध्यक्ष राधेश्याम सुवालले व्यवसायिक योजनाले संघ कहाँ र कसरी पुग्ने भन्ने रोडम्याप प्रदान गर्ने भएको यसको महत्व रहेको उल्लेख गरे ।
संघका लेखा सुपरिवेक्षण समितिका संयोजक बालमुकुन्द उपाध्यायले संघले तय गरेको व्यवसायिक योजनालाई सफल बनाउन समिति, उपसमिति र कर्मचारीको महत्वपूर्ण योगदान रहने विचार राख्नुभयो । संघका उपाध्यक्ष हरि बल्ले कार्यक्रममा स्वगत गर्दै पाँचौ त्रिवर्षिय योजनाको समिक्षा प्रस्तुत गरेका थिए । संघका सचिव जगनाथ प्रजापतिले संघको विद्यमान नीतिहरुको समिक्षा गर्दै हाल परिमार्जित नीतिकोबारेमा प्रस्तुतीकरण गरेका थिए । कोषाध्यक्ष कान्छा भक्त घजुले छैंटौ त्रिबर्षिय व्यवसायिक योजनाको खाका प्रस्तुत गर्दै बार्षिक बजेट तथा कार्यक्रमको मस्यौदा समेत पेश गरेका थिए ।

संघको समिति, उपसमिति र उच्चस्तरीय कर्मचारी गरी २८ जनाको उपस्थिति रहेको कार्यक्रम मार्फत संघको परिकल्पना “दिगो सहकारी विकासको लागि संघ” तय गरिएको छ । ध्येय र उद्देश्यहरु तय गरि तीन बर्षको लागि बजेट तथा कार्यक्रम समेत निर्माण गरिएको थियो ।
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif