Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

यै धर्तीसँग आत्म निर्भर हुने सम्भावना छन् कति


२०७६ असार २० गते , शुक्रवार प्रकाशित


.
इन्द्रनारायण सुबैदी

पानी पर्न सकेन दिन्दिन उसै आषाढ रित्तै गयो।
सुख्खा जर्जर खेत छन् समय त्यो घर्केर बित्तै गयो।
यी साह्रा प्रतिकूलता प्रकृतिका छन् कष्टदायी तर।
कैलेसम्म निरीह भै गरिरहौँ आकाशमा निर्भर ।१।  

ब्यर्थै खेर गयो भिजेन धरती खोल्सा नदीको जल ।
बन्दैछन् जलस्रोत दिन्दिन यहाँ निष्प्राण औ निष्फल ।
बेचिन्छन् बरु खेतमा नहरको पानी कहाँ पुग्छ र  ।
बुझ्दैनन् अनिकाल भित्र तिनकोआत्मा कहाँ दुख्छ र ।२।


  रोपी मानु मुरी फलाउन बनी अत्यन्त उत्साहित ।
कुर्छन् नित्य किसान ब्याकुल हुँदै आकाशको साइत ।
त्यो वर्षिन्छ कि वर्षिदैन नभको कालो घना बादल ।
मानौ शीतल त्यो खुला गगनको हो शुद्ध गङ्गाजल ।३।

हुन् उत्पादनका विशिष्ट गहना माटो र पानी मल ।
छैनन् यी उपलब्ध छन् कृषकका उद्योग झन् निष्फल ।
 बाँझा खेत हराभरा नबनिए चल्दैन यो जीवन ।
छौँ हामी अलपत्र हेर्छ रमिता हाम्रै पछौटे पन ।४।  


छन् औजार नयाँ नयाँ प्रबिधि छन् रोजेर झिक्ने गरौँ।
छन् उत्पादनका अनेक तरीका खोजेर सिक्ने गरौँ।
यै धर्तीसँग आत्म निर्भर हुने सम्भावना छन् कति ।
राख्नै पर्छ अगाडि बढ्न पहिले विश्वास आफैंप्रति ।५।    

चुरेघाँटी, इलाम  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif