Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

सुध्रिने छाँट देखिदैन नेपाल—भारत सम्बन्ध


२०७६ असार २० गते , शुक्रवार प्रकाशित

  असामान र बिवादास्पद मानिदै आएको नेपाल र भारतका बीच भएको १९५०को सन्धिका बारेमा पहिलो पटक दुइ देशका बीच बनेको प्रबुद्ध समूहको संयुक्त संयन्त्रमा छलफलको बिषय बन्यो  । दशकौंदेखि चर्चामा रहेको नेपाल र भारतबीचको सन् १९५० को त्यो शान्ति तथा मैत्री सन्धिका बारेमा दुइ देशीय संयुक्त संयन्त्रमा पहिलो पटक औपचारिक छलफलको मुद्दा बन्नु आफैमा महत्वपूर्ण कुरा थियो र हो ।दुइ छिमेकी देश – नेपाल र भारतले संयुक्त रुपमा बनाएका प्रबुद्ध व्यक्तिको समूहको काठमाण्डूमा २०७३ आरम्भ भएको बैठकमा त्यो बिषय लगायत सम्बन्धका अन्य विषयहरुमा पनि छलफल गरिएको कुरा प्रकाशमा आएको थियो । तर प्रबुद्ध समूहको त्यो प्रतिबेदन अहिलेसम्म भारतीय प्रधानमन्त्रीले बुझेका छैनन् । त्यसले गर्दा प्रतिबेदनमा दिइएका सुझाबले सम्बन्धलाई पुरानै ढंगले यथास्थानमा राख्न नसिकिने देखिएपछि भारतका प्रधानमन्त्रीले यो प्रतिबेदन बुझ्न बिलम्ब गरेको या त्यसको वास्ता नगरेको बुझिदैछ । 
    नेपालले यो सन्धि भएको शुरुदेखि नै ‘असमान’ रहेको भन्दै कतिपय प्रावधानमा राजनीतिक स्तरमा बिमति राख्दै र विरोध गर्दै आएको हो । खाशगरी नेपालका कम्युनिष्ट तथा वामपन्थीहरुले लामो समयदेखि त्यसको खारेजी वा पुनरावलोकन गरी समानतामा आधारित पञ्चशीलको सिद्धान्त अनुरुप नयाँ मैत्री र शान्ति सन्धि हुनु पर्ने माग गर्दै आएका हुन् । संयोगबश जतिबेला नेपालमा बाम(दक्षिण गठबन्धनको संयुक्त सरकार सत्तामा रहेको थियो त्यही बेला  दुइ देशको संयुक्त प्रबुद्ध समूहले यो दुइ देशका बीचको सम्वन्धका बारेमा यस किसिमको पहिलो छलफल शुरु गरेको थियो ।   नेपाल र भारत दुइ देशबीचको सम्बन्धलाई प्रभावित पार्ने महत्वपूर्ण विषयमा छलफल गरेर सुझाव दिने जिम्मेवारी पाएको भनिएको त्यो प्रबुद्ध समूहमा दुबै देशका चार–चारजना ब्यक्तित्वहरु रहेका छन् । विगतमा कतिपय नेपालका प्रधानमन्त्रीहरुले यदाकदा भारतीय समकक्षी समक्ष यो १९५० को सन्धिका बारेमा सामान्यरुपमा कुरा उठाउने गरे पनि त्यस बिषयले यस प्रकारको औपचारिक छलफलमा प्रवेश पाएको भने थिएन । 
  यो सन्धिका सम्वन्धमा दुइ देशका सरकार प्रमुखहरुको तहमा कुरा उठे पछि नै छलफल गर्ने सहमति भएको र अनि त्यही प्रक्रिया अन्तरगत प्रबुद्ध समूह बनेको हो । यस छलफललाई सही रुपमा तार्किक परिणतिमा पु¥याउन सके नसकेको सम्वन्धमा आधिकारिकरुपमा केही पनि कुरा प्रकाशमा ल्याइएको छैन । सम्वन्धमा सुधार आउन सक्ने र नसक्ने यसले सही दिशा लिने स्थिति बन्ने नबन्ने केही पनि कुरा प्रष्ट भएको छैन । यद्यपि दुबै पक्ष त्यसका निमित्त स्पष्टताकासाथ तयार भएरै प्रबुद्ध समूह बनेको र सुझाव दिएको होला ।  अन्यथा यो प्रबुद्ध समूहको छलफल एउटा बौद्धिक बिलासितामा नै सीमित हुन पुग्ने सम्भावना पनि त्यत्तिकै रहेकै छ । 
    यस सम्वन्धमा पहिला पहिला भारतले बाहिर बाहिर ’छलफल गर्न तयार रहेको’ बताउने गरे पनि भित्रीरुपमा  भने कुनै छलफलका लागि इच्छुक नदेखिएको टिप्पणी हुने गर्दै पनि आएको हो । तर यस पटक भने भारत पनि तयार रहेको संकेतको रुपमा यो छलफललाई लिइएको थियो । यो सन्धि लगायत दुइ देशका बीचको समग्र सम्वन्धमा कुरा उठेकाले यो छलफल र सहमति गर्ने भनेर नै प्रबुद्ध समूह बनेको अन्यथा यस्तो समूह बनाउनुको औचित्य नै हुने र बन्ने थिएन भन्ने टिप्पणीहरु पनि भएका हुन्  । यद्यपि यो लामो समयदेखि बिवाद र चर्चामा रहेको समस्या एक दुइ बैठकमा कुराकानी भएर मात्र टुंगिने बिषय अबश्य होइन र थिएन पनि । त्यसमा पनि अनौपचारिक ढंगले र्दुइ देशबीचका धेरै महत्वपूर्ण कुरा किनारा लगाइने र समाधानहीनरुमा थन्क्याउने गलत परम्परा जस्तै बनेका बेला समूह गठनले त्यसलाई व्यवस्थित बनाउने एकथरीको अपेक्षा रहेको पाइन्थ्यो । प्रबुद्ध समूहलाई दुइ बर्षसम्मको समय सीमा तोकिएबाट पनि गलत परम्परा नदोहोरिएला कि भन्ने झीनो आशा नगरिएको पनि होइन । किनभने भारतसँगको सम्बन्धलाई समिति वा समूहले निर्दिष्ट गर्न नसक्ने र त्यसको प्रभावकारिताले मात्र पुग्दैन भन्ने कुरा पनि एकदमै प्रष्ट हुँदै आएको कुरा नै हो  । परम्परा र स्थिति यस प्रकार रहेको पृष्ठभूमि र परिप्रेक्षमा प्रबुद्ध समूहको सक्रियताभन्दा त्यसले दिने सही सुझाव पनि सही किसिमले पारस्परिक सम्वन्धलाई समुधर र समानतामा आधारित बनाउने गरी कार्यान्वनय हुन्छ कि हुदैन भन्ने महत्वपूर्ण प्रश्नले सही उत्तर पाउनै पर्ने हुन्छ । यस कारण र अर्थमा नै तीन बर्ष अघि गठित त्या प्रबुद्ध समूह र त्यसले गरेका छलफलहरुलाई हेरिएको थियो थियो ।
    बास्तवमा १९५० को नेपाल र भारत दुइ देश बीचको सन्धि जुन बिश्व र क्षेत्रीय परिस्थितिको परिप्रेक्षमा गरिएको थियो त्यसयता सम्वन्धको उतार चढावका अनेक अनुभव भइसकेका छन् । अनि आजको बिश्व र क्षेत्रीय स्थितिमा पनि त्यो समयकोभन्दा धेरै भिन्नता आइ सकेको सन्दर्भ छ । यी सबै कुरालाई राम्रोसँग केलाएर दुइ देश बीचको सम्वन्धलाई कसरी बिश्वसनीय, ब्यवस्थित र ब्यवहारिक बनाउने भन्ने सही निष्कर्शमा प्रबुद्ध समूह पुग्यो पुगेन त्या अझै अज्ञात नै छ । पुगेको भए त्यसलाई सकारात्मक र उपलब्धीमूलक मान्न सकिने हुन्छ  । तर पनि  त्यसलाई त्यत्तिकै संबेदनशील भएर कार्यरुपमा परिणत गर्ने अग्रगामी तत्परता, दृढता र इच्छाशक्ति भएन भने प्रबुद्ध समूहको सम्बन्ध सुधारका सही सुझावहरु रहेका भए पनि त्यो निष्फल र निरर्थक भएर जान्छ । भारतको बिलम्ब र नेपालको मौनताले अहिले दिइरहेको संकेत यस्तै यस्तै देखिदैछ आएको छ । भारतीय राज्य सत्ताको स्वरुप र नेपालसँगको त्यसको ब्यवहारमा कुनै तात्विक परिबर्तन आउने छाँटकाँट र संकेत पनि देखिदैन । सतही कुरा बीर बलको खिचडी जस्तै मात्र हुन् ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif