Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

धानखेतीमा आत्मनिर्भर हुन केहि उपाय छन्


२०७६ असार १५ गते , आईतवार प्रकाशित

भोलामान सिंह बस्नेत
धानबाली विज्ञ  


हालै तपाईं चीनको साना कुन सिलसिलामा पुगेर आउनुभयो ? 
 

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कोरिडरमा पर्ने राष्ट्रहरुलाई एकसाथ ल्याएर धानको विकास गर्नका लागि वैज्ञानिकहरुबीच अन्तक्र्रिया गराइएको थियो । वास्तवमा वर्णशंकर जातको धानमा त चीन पहिलो नै हो । को बीउ उत्पादन चीनबाट नै शुरु भएको हो । यस्तो खालको पहिलो बीऊ बनाउने चिनीया वैज्ञानिक ९० वर्षे युआन लङपिङ नै यस कार्यक्रममा प्रमुख अतिथि पनि थिए । त्यसैमा भाग लिएर म आएँ । 

चीनको प्रत्यक्ष अनुभव कस्तो  पाउनुभयो ?
 

चीनमा बीसबाइस वर्ष अगाडि टन्न खान पुग्ने समेत स्थिति थिएन । एकजना चिनीया महिला लिनासँग मैले कुराकानी गरेको थिएँ । उनले आफू नेपालमा विवाह गरेर आउँदा स्वर्गमा आएजस्तो लागेको बताएकि थिइन् । २०५२ सालमा उनको विवाह एकजना नेपालीसँग भएको थियो । त्यसबेला चिनमा उनीहरुले दुई छाक पेटभरी खान नपाएको तर यहाँ घरभरी धान र अन्न देखेर चकित परेको बताएकि थिइन् । त्यस्तो अवस्थाबाट अहिले चीन बिल्कुलै भिन्नै अवस्थामा आइपुगेको छ । जुनसुकै क्षेत्रमा अगाडि बढेको छ । धानको उत्पादनमा पनि उसको अग्रता छ ।  

चीनमा ३ करोड हेक्टर धानखेती योग्य जमीन छ । त्यसको ६० प्रतिशत क्षेत्रफलमा हाइब्रिड धान खेती गरिएको छ । चीनमा विश्वको २१ प्रतिशत जनसंख्या बसोबास गर्छन् । धान उत्पादनमा पनि १ नम्बर राष्ट्र बनेको छ । हाइब्रिड धान उत्पादनको सफलताले गर्दा नै त्यत्रो जनसंख्यालाई धान उत्पादनले पु¥याउन सकिएको चिनीयाँहरु बताउँछन् ।   संसारमा ७ अर्ब रहेकोमा साढे ३ अर्ब जतिले धानको भात खाने गरेको पाइन्छ । त्यसमा पनि एशियाली देशहरुमा हेर्ने हो भने ९० प्रतिशत धानको खपत यहिँ हुने गरेको छ । त्यसैगरी विश्वको कुल धान उत्पादनको ५० प्रतिशत चीन र भारतमा नै हुने गरेको छ । यो क्षेत्रमा नै भात खाने सँस्कृति कम भएको छैन । जनसंख्या क्रमिक रुपमा बढिरहेको छ । धानको उत्पादन बढाउन आवश्यक छ । चिन र अन्य राष्ट्रको पनि अनुभव र प्रविधि प्रयोग गरेर यसलाई बढाउन सकिन्छ जस्तो लाग्छ ।   

कार्यक्रमको प्रमुख मुद्दा के थियो ?   

१८ देशका करिब ७ सय प्रतिनिधिको भेला भएको कार्यक्रम थियो या ‘थर्ड इन्टरनेशनल फोरम अन राइस’ । त्यससँगै ‘फस्र्ट इन्टरनेशनल फर राइस एक्स्पोजिशन’ नामक धानसम्बन्धी प्रदर्शनी पनि आयोजना गरिएको थियो । करिब ५० वटा जति कार्यपत्र प्रस्तुत गरिएको थियो । छलफलको कार्यक्रम नभएपनि साइडलाइन टकको आयोजना गरिएको थियो । त्यसमा मैले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुका साथै यस्ता कार्यक्रममा कुरा भन्दा पनि विभिन्न देशका सफलताका कथागाथा, अनुभव र प्रविधि साटासाट गरिनुपर्छ भन्ने सुझाव दिएको थिएँ । जनसंख्या वृद्धि, खेतीयोग्य जमीनको अभाव, जलवायु परिवर्तन लगायतसँग जुध्दै आधुनिक र परम्परागत प्रविधि दुवै प्रयोग गरे धान उत्पादनमा वृद्धि ल्याउनुपर्ने विषयमा मेरो जोड थियो ।   

धानको उत्पादकत्वमा वृद्धि गर्न तपाईंका सुझावहरु के के छन् ?   

पहिलो सुझाव, बैज्ञानिक तरिकाले बीउ छान्दा मात्रै पनि १० देखि १५ प्रतिशत उत्पादन बढ्छ ।

दोश्रो धान खेतीका लागि माटोको उर्वराशक्तिको व्यवस्थापन पनि आवश्यक पर्छ । हुन त सबैखाने बालीका लागि उर्वराशक्तिको भूमिका रहन्छ । माटोको उर्वराशक्ति बढाउन नाइट्रोजन, फोस्फोरस, पोटास तीनै वटा पदार्थ सन्तुलित रुपमा प्रयोग गर्नु पर्नेमा नेपाली किसानहरुको बानी यूरिया मल मात्र प्रयोग गर्ने छ । मल भनेकै त्यैमात्र हो भन्ने बुझाई छ ।  त्यसरी प्रयोग गर्दा अधिकांश तत्व उडेर बगरे जान्छ । त्यसको विकल्पमा आधा यूरिया र आधा प्राङ्गारिक मल वा ढैंचाको प्रयोग गर्नु उत्तम हुन्छ । जसले गर्दा उत्पादन पनि बढ्ने, बातावरण पनि नबिग्रने साथै विदेशबाट हुने आयातको कम हुन जान्छ ।   

तेश्रो, घामको प्रयोगले धानको उत्पादन बढाउने तरिका । हाम्रोमा बर्षे धान र चैते धान लगाउने चलन छ । तथ्यांकले के देखाउँछ भने वर्षे धानको तुलनामा चैते धान प्रति हेक्टर प्रति दिन २५ प्रतिशत बढि उत्पादन हुन्छ । यो लगभग १२० दिनमा पाक्छ । त्यो के कारणले हुन्छ भने, धान पाक्नु अघि फूल फुल्छ । धानको फूल फुलेपछि जति बढि घाम लाग्यो त्यसको उत्पादन बढि हुन जान्छ । लगभग धान पाक्नुभन्दा एक महिना अघिजस्तो फूल फुल्छ । सोलार रेडिएसन वर्खामा ५०० क्यालोरी भएकोमा चैते धानको सिजनमा ६०० क्यालोरी हुने रहेछ । त्यसैले किसानले खेती गर्दा उत्पादन बढाउने विभिन्न पद्धतिमा छनौट गर्नुपर्छ । कुनैमा धेरै पैसा लाग्छ भने कुनैमा मध्यम त कुनै पद्धछि निःशुल्क उपलब्ध हुने पनि छन् । घामलाई प्रयोग गर्ने कुरामा जोड दिनु पर्नेमा मैले १५/२० वर्षदेखि एड्भोकेसी गर्दै आएको छु । सरकारले पनि अहिले आएर चैते धानलाई पहिलेभन्दा प्राथमिकतामा राखेको देखिन्छ । तर मेरो सुझाव के छ भने धान सम्बन्धी विज्ञ र अनुभवीहरुसँग रायसल्लाह लिन एउटा रोष्टर उहाँहरुले बनाउनुपर्छ । विद्यावारिधी गरेका भन्दा पनि फिल्डमै अनुभव बटुलेका त्यस्ता व्यक्तिहरु खोजेर उनीहरुको ज्ञान, सीप र अनुभवको सदुपयोग गर्नुप¥यो । हाम्रो मान्छ होइन राम्रो मान्छेलाई लिनुप¥यो । उत्पादकत्व बढाउन उनीहरुलाई उपयोगर्नुप¥यो ।   

धानको बीउ छान्ने वैज्ञानिक उपाय  र घामको प्रयोग के हो ? बताइदिनुस् न,  

हाम्रो कृषि प्रणाली पारम्परिक तरिकाको छ । यसमा नयाँनयाँ प्रविधिको प्रयोग आवश्यक छ । बीउ छान्ने भनेको साधारण कुरा हो । मैले सैद्धान्तिक भन्दा पनि लामो समय प्रयोग नै गरेर सफल भएको अनुभव छ । किसान दाजुभाइ दिदी बहिनीले बुझ्ने भाषामा भन्दा एउटा भाँडामा पानी हाल्ने । कुखुराको ताजा अण्डा पानीमा हाल्दिनुस् । त्यो अण्डा पिँधमा बस्छ । अब त्यो अण्डालाई माथि पानीको सतहमा ल्याउन पानीमा नुन हाल्दै घोल्दै जानुस् जबसम्म अण्डा माथि आइपुग्दैन ।    त्यो पानी बीउ छान्न तयार भयो । विकल्पमा पाँच लिटर पानीमा एक किलो नुन हाल्नु भयो भने पनि हुन्छ । त्यसपछि विस्तारै धानको बीउ त्यो पानीमा हाल्दै जानुस् । नराम्रो बीउ तैरिन्छ । राम्रो बीउ थिग्रन्छ । राम्रो बीउ तुरुन्तै निकालेर दुईतीन पानी सफासँग धोइदिनुभयो भने नुनको असर रहँदैन । अब असर बीऊ छर्न तयार भयो । धानमा लाग्ने कडा रोग भनेको डढुवा हो । यो बीउजन्य भएकाले बीउबाटै सर्छ । त्यसरी छानेपछि रोगी बीउ हल्काफुल्का हुने हुनाले तैरिएर बस्छ । हृष्टपुष्ट बीउ डुब्छ । बीउ राम्रो भए बेर्ना राम्रो हुन्छ । बेर्ना राम्रो भए उत्पादन राम्रो हुन्छ । 

घामको प्रयोगले उत्पादन बढाउन ठूलो मद्दत पुग्छ । धानको फूल फुलेपछि जति धेरै घाम लाग्यो त्यति धेरै उत्पादन बढ्छ । सोलार रेडिएसन भनिन्छ त्यसलाई । चैते धानको बेलामा ६०० क्यालोरी र बर्षे धानको बेला ५०० क्यालोरी घाम मापन जनकपुरमा धानसम्बन्धी परीक्षण गर्दा मैले पाएको थिएँ । वर्षेको तुलनामा चैते धानको उत्पादन त्यसकारणले २० देखि २५ प्रतिशत बढी हुन आउँछ । यो पैसा नपर्ने विधि पनि हो । त्यसकारण चैते धानमा प्राथमिकता दिनुपर्छ । मुलुकभर १४ देखि १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । वर्षा राम्रो भयो भनेदेखि थप १ लाख हेक्टरमा खेती हुन्छ । अहिलेसम्म चैते धान भने १ लाख २० हजार हेक्टर क्षेत्रफलमा मात्र लगाइएको छ । चैते धानको खेती बढाउने ठूलो स्कोप छ । लगभग ७० प्रतिशत धानको उत्पादन तराई क्षेत्रमा हुन्छ । चैते धान भित्री मधेश र पहाडका औल ठाउँमा मात्र लगाइन्छ । यसलाई बढाउने ठाउँ भने प्रशस्त छ ।  यसलाई बढाएमा धानको आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुनसक्छ । लगभग ५ लाख मेट्रिक टन धान विदेशबाट आयात हुने गरेको छ । थप एक लाख  हेक्टरमा चैते धानको खेती लगाउँदा ४ लाख मेट्रिक टन धान उत्पादन गर्न सकिन्छ । चैते धानमा दुईवटा समस्या किसानलाई छ । पहिलो त सिंचाईको सुविधा चाहियो । अर्को समस्या असारमा धान पाक्छ जतिखेर झमझम् वर्षा भइराखेको हुन्छ । बर्खे धान लगाउने बेला हुन्छ । चैते काटेर थान्को लगाउन समस्या हुन्छ । त्यसको लागि सरकारले नै तराईक चारपाँच ठाउँमा ठूल्ठूला ड्रायर प्लान्टहरु लगाउनु आवश्यक हुन्छ ।   

अर्को नेपाल अलि मीठो मसिनो खाने प्रचलन बढेको छ । तर शिफारिस गरिएका अधिकांश धानका जात मोटो चामलका छन् । विस्तारै चैते ५ जस्ता मसिना चामल आउने बीउहरु बढाउँदै जानुपर्ने आवश्यकता छ । यी सबै उपायको साथसाथै बाली लगाउनु अघि विज्ञको रायसल्लाह पनि किसानलाई उत्तिकै आवश्यक पर्छ ।   

पहाडी र सुख्खा जमीनमा पनि धान खेती लगाउने कुनै प्रविधि छ कि छैन ?   

त्यसका लागि घैया जस्तो कम पानी चाहिने जातका धान लगाउन सकिन्छ । जलवायु परिवर्तनले गर्दा कहिले खडेरी पर्ने त कहिले अतिवृष्टिको समस्या देखिरहेको छ । कृषि मन्त्रालयबाट एकताका बाढीको समस्या आएर पश्चिम तराईमा टोली खटाइएछ । त्यो टोली दुईसातापछि  काठमाण्डौं फर्किने बेलामा फेरि त्यहिँ खडेरी देखा परेको अवस्था आएको प्रसँग थियो ।    अधिकांश सभागोष्ठीमा जलवायु परिवर्तन सम्बन्धमा परिभाषा मात्र दिने गरेको पाइन्छ । ग्लोबल वार्मिङ बढ्यो, चाँडै फूल फुल्यो, यो भनेको यस्तो हो त्यस्तो हो भन्ने गरेको मात्र पाइन्छ । किसानलाई त परिभाषासँगको मतलब भएन, उनीहरुको समस्या समाधान हुनुपर्यो नि । किसानका समस्या के हो त्यसका लागि समाधान के दिइयो भन्ने कुरा मुख्य हो ।   

सुख्खा क्षेत्र छ भने जातहरु सिफारिष गरिएको छ । सुख्खा र डुबान दुवैमा राम्रो हुने धानका जातहरु छन् । डुबान क्षेत्रमा मात्रै मौलाउने धानका जातहरु पनि छ । वैज्ञानिकहरुले सुख्खा क्षेत्रका लागि बेर्ना रोप्ने भन्दापनि सिधै बीउ छरिदिने उपाय पनि सुझाएका छन् । सिद्धान्ततः एक किलो धान उत्पादनका लागि ३ देखि ५ हजार लिटर पानी आवश्यक पर्दछ । अब त्यो भनेर धान खेती नगर्नी त भएन । संसारभर अहिले वैज्ञानिकहरु कम पानीमा कसरी धान उत्पादन गर्ने भन्ने खोजी गर्दैछन् । एउटा भनेको सोझै बीउ छर्दिने हो । डाइरेक्ट सिडिङ भनिन्छ त्यसलाई । अर्को एसआरआई भन्ने प्रविधि छ, त्यसलाई पनि कम पानी लाग्छ । तरकारी खेतीमा अचेल थोपा सिचाईं प्रयोगमा आइराख्या छ त्यसलाई धानबालीमा पनि परिक्षण गरिराखिएको छ ।   

नेपालमा धान उत्पादनको क्षमता कति हो ?   

चाइनामा भएको यहि अन्तर्राष्ट्रिय धान गोष्ठीमा विभिन्न देशकाले आआफ्नो क्षेत्रको उत्कृष्ट बीउ लिएर आएका थिए । नेपालबाट मैले पनि खुमल–११ नामक बीउ २ केजी लिएर गएको थिएँ ।  चिनमा एउटा प्याडी फिल्ड नेशलन पार्क भनेर विशाल पार्क बनाइएको छ । त्यसमा खुमल–११ पनि लगाइराखिएको थियो । खुमल–११ जातको धान १० टन प्रति हेक्टर फल्छ । नेपालको औसत उत्पादन भने ३.८ प्रतिहेक्टर रहेको छ ।  चीनमा करिब ७ टनको औसत छ । केहि हाइब्रिड जातका धान त २२ टन सम्म फल्ने पनि रहेछन् । हामीकहाँ पनि उत्पादन दोब्बरसम्म गर्न त त्यति गाह्रो पनि होइन । थोरै बाट माथि लैजान सजिलो हुन्छ विभिन्न प्रविधिहरु प्रयोग गरे । जहाँ पहिले नै धेरै उत्पादकत्व छ त्यसमा थप्न भने गाह्रो छ । अर्को तर्फ खाद्य सुरक्षाको प्रश्न पनि छ । परनिर्भर देशका लागि त झन् संकटको विषय हो यो । सन् २००७ मा विश्व खाद्य संकट भएको थियो । त्यस बेला भारतले सर्वसाधारणले खाने मोटो चामल ४ वर्ष निर्यात गर्न प्रतिबन्ध गरेको थियो । यदि फेरि त्यस्तो स्थिति आयो र हामी धान उत्पादनमा समेत आत्मनिर्भर हुन सकिएन भने हामीले पैसा भएर पनि किनेर खान पाउने छैनौं । त्यसैले हामी के खानमात्रको लागि पन अरु देशको भर पर्ने । मैले त्यहि भएर यो मुद्दा उठाउने गरेको छु । देशमा खाद्य सुरक्षा कायम गर्नको लागि एउटा राष्ट्रिय खाद्य सुरक्षा मिसन बनाऔं, सरोकारवाला र विज्ञ राखेर ।    

कृषिमा, खासगरी धानमा हाम्रो समस्या के हो ?  

प्रधानमन्त्री कृषि आधुनिकीकररण आयोजना भन्ने छ । जोन, सुपरजोन भनिएको छ । झापा जिल्लामा मात्रै पहाडका २२ जिल्ला बराबरको धान उत्पादन हुन्छ । त्यसैले झापालाई धान सुपरजोन भनेर १ हजार हेक्टर छुट्याइएको छ । तर सुपरजोन भनियो त्यसपछि के के गर्ने त भन्ने योजना छैन । कृषि सामग्री, प्रविधि कसरी जुटाउने, वास्तवमा नै त्यसबाट प्रतिफल लिने कुराहरु मैले देखिँन । त्यहाँ जसलाई कामको जिम्मा दिइएको छ उनीहरुलाई नै पहिला सिकाउनु पर्यो । सम्बन्धित दक्ष प्राविधिकबाट तालिम दिलाउनु पर्यो । घोषणा गर्नलाई मात्र गर्या हो कि नतिजा प्राप्त गर्न ? यस्ता खाले समस्याहरु यत्रतत्र देखिन्छन् । धान र अरु क्षेत्रमा पनि यहि समस्या देखिन्छ । विज्ञ, विशेषज्ञ, प्राविधिकहरुको भरपुर उपयोग गर्नुपर्यो । अनुसन्धानलाई प्रोत्साहन दिनुपर्यो । साँच्चै काम गर्ने व्यक्तित्वहरुलाई प्रोत्साहन र पुरस्कार दिनुपर्यो । कसैले कृषि क्षेत्रमा प्रयोग गरेर प्राप्त गरेका सफलताका कथाहरु मिडियामार्फत पनि आउनु पर्यो । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif