Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

धनको आधुनिक महिमा गान


२०७६ असार १५ गते , आईतवार प्रकाशित

धेरै पहिला कबिशिरोमणी लेखनाथ पौडेलले कबितामा लेखेका थिए: ‘‘धनै भए लभ्य छ गासाबास, धनै भए मात्र रहन्छ शास, धनै छ सर्बोत्तम सार जे छ  सबै धनै भित्र लुकिरहे छ’’ । आज त धनको धर्ममा त्यस्तै महत्व छ जस्तो महत्व राजनीतिमा गुण्डा या डनहरुको छ । जसरी गुण्डागर्दीबिना ठूला पार्टी र नेताहरुको राजनीति टिक्न सक्दैन त्यसरी नै धनबिना धर्म आज टिक्न सक्दैन । यसकारण जे आज राजनीतिमा भइरहेको छ, त्यो अब धर्ममा पनि हुनेछ । जसरी धेरै जसो गुण्डाहरुले नेताहरुलाई हटाएर देश सेवा कुर्सीमा बसेका छन् त्यसरी नै अब चाँडै धनले पनि धर्मलाई हटाएर त्यसको गद्दीमा बस्नेछ । धनको पूजा त अहिले नै पनि हुन्छ तर त्यसले धार्मिक सत्ता कब्जा गरेपछि त्यसको बकाइदा प्रार्थना गर्न थालिने  छ। यस बारेमा अहिले नै पनि प्रशस्ती लेखिसकिएको छ । मन परेमा याद गर्नु राम्रो कुनै दिन काम लाग्न सक्तछ । त्यो प्रशस्ती यस्तो छ :

हे धन तिमी नै साधन हौ, तिमी नै साध्य हौ । आफ्ना अनेक रुपमा तिमी मेरा आराध्य हौं । हे प्रिय धन तिमी जन मनको पहिलो मन परेको कुरा हौ। हरेकले तिमीलाई ग्रहण गर्न चाहन्छ । संसारमा पैसा लिन नचाहने कोही पनि छैन । हे बिराट धन तिम्रो महिमा अपरम्पार छ तिम्रो स्वरुप सहश्ररुपा छ,तिम्रो प्रत्येक रुपले कमाई गर्ने बाटो देखाउँदछ । हे जीविका धन सबैले तिमीलाई प्राप्त गर्न चाहन्छन् । कसैले नोकरी गर्छ । सैले ब्यवसाय गर्छ । कसैले घुस लिन्छ । मार्ग बिभिन्न छन् । तर लक्ष एउटै मात्र छ । हे करुण धन तिमीलाई दीनहीनको मद्दतको नाममा अरुको खल्तीबाट निकालिन्छ । अनि फेरि त्यसलाई आफ्नो कब्जामा परिन्छ ।

हे पुरुषार्थ धन तिमी मर्दहरुको सबैभन्दा प्रिय धन हौं  । तिमीलाई कमजोर मानिसहरुको हक मारेर प्राप्त गर्ने गरिन्छ । हे तीक्ष्णधन तिम्रोजस्तो तेज धार संसामा कुनै अन्य कुराको छैन । तिम्रै कृपाले जेब काटिने गर्दछ । गला काटिने गर्दछ । इमानलार्ई हलाहल अर्थात् हत्या गर्ने गरिन्छ । जसका पछाडि तिम्रो बरद हात हुन्छ त्यसले आफ्ना सबै किसिमका बिरोधीहरुलाई काटेर फ्याँकिदिन्छ  । तिकडम धन तिमीजस्तो चतुरो अरु कुनै हुँदैन । तिमी कम वजन तौलने तराजु हौ । दूधमा मिलाएको पानी हौ । चुनावमा गरिएका प्रतिबद्धता या शर्त हौं । हे देश सेवा धन, तिमी त्यस्तो निस्वार्थ सेवा हौ, जससको नि नै निरर्थक भइसकेको छ । तिमी बिना देश सेवा सार्थक हुँदैन । तिम्रा भक्तले देशको सेवा मात्र गर्ने होइन त्यसमा अतिरिक्र आफ्नो पूरै खानदान देश सेवामा लगाइदिन्छ । तिम्रो प्रताप देश देशानतरमा ब्याप छ । घरको सन्र्दूक देखि स्वीस बैंकसम्म स्थापित छौ । हे समृद्धिबान तिमी संसारको सर्बश्रेष्ठ धर्म हौ । अरु धर्मले केवल धन्य गर्दछन् तर तिमीले त धनी नै बनाइदिन्छौ ।

हे दुःख निवारण धन, बिश्वको सबैभन्द ठूलो दुःख गरीबी हो, सजलाई तिमी बाहेक अरु कसैले हटाउन सक्तैन । समाज सेवामा पनि अर्काको दुःख दूर गर्ने ब्रत लिदा आफ्नो गरीब दूर हटेर जान्छ । हे बिशाल धन आज सबै धर्ममा ठूलो बन्ने होड चलिरहको छ । तर तिमीभन्दा ठूलो कोही हुन सक्तैन । किनभने ठूलो हुनका लागि हरेक धर्मलाई धन चाहिन्छ । ठूल्ठूला प्रवचन, ठूल्ठूला अनुष्ठान, ठूला पूजाघर, ठूलो स्मशान,, चिहान, संसारमा केही पनि धन प्राप्ति नगरीकन ठूलो हुन सत्तैmन । जुन धर्मले धनलाई नकार्ने उपदेश दिन्छ उसैको काम पनि धन बिना सम्भव हुदैन ।   

हे धन तिमी नै अर्थ हौ तिमी नै अनर्थ हो तिमी नै स्वार्थ हौ । तिमी नै परमार्थ हौ । जे हौ तिमी नै हौ । तिमीबिना त मानिस आफ्नो इच्छाले मर्न पनि सक्तैन । जहर किन्न पनि पैसै लाग्छ । बिना पैसा त अन्तिम संस्कार पनि हुदैन । हरेक मानिस स्वर्ग जान चाहन्छ । स्वर्ग पुण्य काम गर्नेहरुलाई प्राप्त हुन्छ । पुण्य गर्न पनि पैसै चाहिन्छ । हे धन धेरैजसो मानिसहरु तिम्रो धर्म बन्ने प्रतिक्षामा रहिरहेका छन् । घुस लिनेहरु, बेइमानीबाट कमाउनेहरु, तूटपाट गर्नेहरु अपहरण गर्नेहरु सबैले ब्यग्रताकासाथ तिम्रो प्रतिक्षा गरिरहेका छन् । जुन दिन तिमी धर्म बन्ने छौ, । अनि जुन दिन तिमी धर्म बन्ने छौ,। जुन दिन तिमी धर्म बन्ने छौ त्यस दिनदेखि पैसा कमाउने हरेक कामलाई पुण्य मानिनेछ । हे धन तिम्रो स्तुतिमा यो बन्दना एकदमै मन लगाएर लेखिएको छ । यो लेखकमाथि पनि कृपा गर र यस रचनाका लागि राम्रोभन्दा राम्रो पारिश्रमिक दिलाऊ ! 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif