Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

शिक्षा


२०७६ असार १४ गते , शनिवार प्रकाशित


-इन्द्रनारायण सुबेदी




विद्यार्थी गरिखान सक्षम हुने शिक्षा प्रणाली किन।
लागू हुन्न बजेट बग्छ गहिरो खोलो बनी दिन्दिन।
बीसौं वर्ष पढेर व्यर्थ छ यहाँ ढाक्रे भयो जीवन ।
पढ्ने जाँगर मर्छ पढ्छ कसले जोगी मगन्ते हुन।१।

छन् शिक्षालयका अनेक नमुना खोक्रो छ उत्पादन।
लाग्छन् यी सब हुन् बडा डिलरका ब्यापारका साधन।
बेच्ने बस्तु समान हुन्छ तुलना नाफा र घाटासित ।
सिङ्गै यो जग अस्तव्यस्त छ अझै बन्दैछ आतङ्कित।२।

 निष्ठा प्रेम घट्यो गुणस्तर घट्यो घट्दै गयो सिर्जना।
यो विज्ञापनको बनेर मसला गिर्दैगयो दिन्दिन।
देख्छौँ कागजमा विशिष्ट नतिजा उच्चो उपल्लो स्तर।
त्यो बिक्दैन प्रयोगहीन छ सधैं गर्दैन केही भर।३।

 छोरा नाति पढाउँदै बिकिसके ती खेत बारी पनि ।
पर्खेको परिणाम निष्फलअझै निस्किन्छ खोक्रो बनी ।
पेसा उद्यम सिर्जना प्रबिधिमा आएन नौलो गति ।
कोरा पाठ गरेर कण्ठ कहिले होला र के उन्नति ।४।

  ल्झिन्छन् कति वर्षसम्म दुनियाँ शिक्षा लिने नाउँमा।
आधा आयु सकेर बाहिर गए, फर्किन्न त्यो गाउँमा।
कोही दक्ष भयो भनेपनि यता टिक्दै नटिक्ने भयो।
नेपाली हुन गर्व गर्न उसले सिक्दै नसिक्ने भयो।५।

मान्छेको व्यबहार जीवन कला सम्मान औ गौरव।
हुन्नन् निश्चित अर्थपूर्ण युगका सापेक्षतामा जब।
नब्बे हैन उनान्सयै किन नहोस् प्राप्ताङ्कको भार त्यो।
चाहेको हतियार बन्न नसके बेकार नि:सार त्यो।६।

  मिल्दैनन् ब्यबसाय उद्यम कतै खुल्दैन आँखा भने।
पोखी पौरख शिल्पले मुलुकको फुल्दैन पाखा भने।
त्यो शिक्षा वरदान हुन्न कहिल्यै गर्दैन केही भलो।
जिम्मेवार निकाय मौन छ अझै देखेर जन्मस्थलो।७।

असार १३, २०७६, इलाम           

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif