Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

पुष्पलालका बिर्सन नसकिने केही महत्वपूर्ण पक्षहरु


२०७६ असार १४ गते , शनिवार प्रकाशित

 क. पुष्पललको ९५औ जन्मजयन्ति असार १५को सन्दर्भमा

-लोकनारायण सुवेदी


हाम्रो देशको आधुनिक नेपाली राजनीतिक इतिहासका एक महान असमानान्तर हस्ती, शोषित पीडत नेपाली जनताका इतिहासकार, बिचारक, सिद्धान्तकार, योजनाकार र कार्यनीतिका प्रबक्ता कामरेड पुष्पलाल जो महान अमर शहीद गंगालालका सहोदर भाइ पनि हुन्, अत्यन्तै उच्च बिचार र सादा जीवनका प्रतिमूर्ति थिए । उनको सबैभन्दा महत्वर्पूण पक्ष र धेय नेपाली समाजको बैज्ञानिक दृष्टिकोणका आधारमा अध्ययन तथा बर्गीय शोषण र सामाजिक उत्पीडनबाट नेपाली समाजको मुक्ति नै थियो । पार्टी प्रशिक्षण दिदा उनले सदैब ’जसले आफ्नो देशको इतिहास, सस्ँकृति, भूगोल र समाजका बारेमा यथेष्ठ अध्ययन गर्दैन त्यसले नेपाली समाजको आमूल र अग्रगामी परिवर्तका लागि कुनै सार्थक योगदान दिन सक्तैन’ भन्ने कुरा एकदमै प्रष्टसँग हरेक पटक औल्याउँदथे र सबै परिवर्तनकामीहरुलाई कम्तिमा पनि नेपाल र बिश्वको इतिहास पढ्न सदैब प्रेरित र प्रोत्साहित गर्दथे । खासगरी पुष्पलालले अमेरिकी स्वतन्त्रता संग्रामको इतिहास, फ्रान्सेली क्रान्ति, बेलायतको औद्योगिक क्रान्ति, महान अक्टोबर समाजवादी क्रान्ति, भारतीय स्वतन्त्रता संग्राम र चीनीया नयाँजनबादी क्रान्ति तथा बिश्वका चलिरहेका साम्राज्यावाद तथा उपनिवेशबाद बिरोधी आन्दोलनहरुको ज्ञान परिवर्तनकामी शक्तिहरुमा हुनै पर्दछ भन्ने कुरामा बिशेष जोड दिन्थे ।   आफु पनि नेपाल र बिश्व समाजको गम्भीर र गहन अध्ययन गर्ने र अरुलाई पनि त्यसो गर्न झकझक्याइरहने क. पुष्पालालमा कुनै दम्भ र तुजुकको गन्धसम्म पनि थिएन । तर जनतामाथि शोषण र अन्याय गर्ने शक्तिका बिरुद्ध निरन्तर संर्घषशील र कहिले नझुक्ने दृढता, परिवर्तनप्रतिको उच्च संकल्प र साहसले उनी ओतप्रोत थिए । उनको यो ब्यक्तित्वले गर्दा उनलाई भेट्ने नेता, कार्यकर्ता र बिरोधीहरुले पृुष्पलालप्रति सम्मान र आदरको दृष्टिले र्हेदथे र उनीसँग प्रभावित हुन्थे ।   कमरेड पुष्पलालको जन्म १५ असार १९८१ सालमा त्यतिबेलाको र्पूव २ नम्बर रामेछाप जिल्लाको भँगेरी गाउँमा भएको थियो । उनकी माता तुलसी कुमारी र पिता भक्तलाल थिए । आफ्ना माता पिताका उनी माहिला छोरा हुन् । उनका जेठा दाजु अमर शहीद गंगालाल र अरु तीन भाइहरु गौरीलाल, देबीलाल र बिजयलाल हुन् भने उनकी एक मात्र बहिनी पुष्पलता हुन् ।     पिता भक्तलालले पनि २००९ सालमा गठित अखिल नेपाल न्यून बैतनिक कर्मचारीहरुको हडतालको क्रममा एक्शन कमिटीको अध्यक्ष भएर आन्दोलन चलाएका थिए । दाजु गंगालालले त १९९७ सालमै क्रुर राणाशाही सत्ताले हत्या गरेको थियो र उनले उच्च शहादत प्राप्त गरेका थिए । गंगालाललाई राणाहरुले उनलाई मार्दैछन् भन्ने कुरा थाहा थियो । त्यसबेला उनलाई गोली हान्न शोभा भगवती लानुभन्दा एक दिन पहिला कमरेड पुष्पलाल दाजुलाई भद्रगोल जेलमा सपरिवार भेट्न गएका थिए । त्यतिबेला गंगालालले पुष्पलाललाई सम्झाउदै र उत्प्रेरित गर्दै भनेका थिए ः ‘‘हेर, माहिला यो मैले प्रजातन्त्रको निमित्त बालेको दियोलाई तैंले निरन्तर प्रज्वलित गर्नेछस्, निभ्न दिने छैनस्’’ । आफ्ना दाजुका यी उच्च राजनीतिक दृढताका शब्दहरु नै कमरेड पुष्पलालका निमित्त राजनीतिमा प्रवेश गर्ने प्रेरणा पुञ्ज बने अनि पुष्पलालले त्यसै दिन दृढ अठोट गरे एकतन्त्री निरंकुश राणाशाही लगायत सम्पूर्ण तानाशाहीका बिरुद्ध आजीवन लड्ने !     त्यसपछि १९९८ सालमा पुष्पलाल प्रेमबहादुर कंसारका, शम्भूराम श्रेष्ठ, सूर्य भारद्वाज र राजारामहरुसँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गर्न पुगे । त्यस संघमा रहेका सदस्यहरुले आ(आफ्नो रगतले प्रतिबद्धतापत्रमा सही गरेर लाग्नु पर्ने नियम थियो । संघले राणाशाहीको बिरोध गर्ने, बिद्यालयहरु खोली बिभिन्न खालका सीपमूलक तालिमहरु दिने गर्न थाल्यो । भारत प्रबासमा रहेका नेपालीहरुका बीच पनि राणाशाही बिरुद्ध कृयाकलाप बढाउन पुष्पलालले १९९७ सालदेखि नै बन्दी जीवन बिताइरहेका नेपाल प्रजापरिषदका नेताहरुसँग पनि गोप्यरुपले समम्पर्क राखेर टंकप्रसाद आचार्य लगायतका अरु नेताहरुसहितको फोटो सन् १९४२ मा भारत पटनाबाट प्रकाशित हुने ’जनता’ पत्रिकामा प्रकाशित गर्न पनि मद्दत गरे । २००४ सालमा नेपाली राष्ट्रिय काग्रेसले नागरिक अधिकारका लागि आन्दोलन गर्दा त्यसको नेतृत्व पुष्पलाल, शम्भूराम, स्नेहलता,साहना प्रधान आदिले गरेका थिए । जनताद्वारा गरिएको यही पहिलो राजनीतिक जन आन्दोलनका कारण तत्कालीन राणा प्रधानमन्त्री पद्म समशेर राजनीतिक सुधारका बिभिन्न कदमहरु चाल्ने घोषणा गर्न बाध्य भएका थिए ।   त्यसपछि नेपाली काग्रेसका नेताहरु खाशगरी रेग्मी र कोइराला गुटहरु परस्पर झगडामा लाग्ने र सामन्त बर्गसँग सम्झौता गरेर शासन सत्ता हत्याउनमा मात्र सीमित रहने स्थिति बोध गरेर पुष्पलालले मार्क्सबादको अध्ययन गर्दै नेपाली जनताले अब छुट्टै बाटो अर्थात् नयाँ जनवाद, बैज्ञानिक समाजवाद र साम्यवादको बाटो लिनुपर्ने निष्कर्शमा पुगे । अनि नेपाली राष्ट्रिय काग्रेसको केन्द्रिय कार्यालयको सचिवबाट राजीनामा गरी कम्युनिष्ट पार्र्टी गठन गर्ने बाटोमा अग्रसर भए । उनले त्यसै क्रममा २००५ सालमा बिश्व प्रसिद्ध कम्युनिष्ट घोषणापत्रको नेपालीमा अनुबाद गरे । त्यही नै नेपालमा पहिलो र महत्वर्पूण कम्युनिष्ट दस्तावेज र साहित्य पनि हुनपुग्यो । त्यसको भूमिकामा उनले नेपाली समाजको जुन बर्ग बिश्लेषण गरेका छन् त्यसले गर्दा पनि त्यो दस्तावेज महत्व अझ बढेर गयो भने क.पुष्पलालको देशको राजनीिितको बर्गीय सुझबुझ के कस्तो रहेछ भन्ने पनि त्यसबाट र्छलङ्ग भयो । यसरी कम्युनिष्ट पार्टी गठनको गृह कार्य गर्दै गएर पुष्पलालसहीत पाँच जना मिलेर नेपालमा कम्युनिष्ट पार्टी थापना गर्न अपिल गर्दै २००६ साल बैशाखमा लेनिन जयन्तीको सेरोफेरोमा एउटा अपिल पत्र जारी गरे, जसलाई कम्युनिष्ट आन्दोलनको पहिलो पर्चा भन्ने गरिन्छ । त्यस अपिलको धेयलाई कार्यरुपमा परिणत गर्न नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र, बिधान र केन्द्रिय संगठन समितिको निर्माणकासाथ बिधिवत १५ सेप्टेम्बरका दिन नेपालमा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको घोषणा गरियो ।   त्यसपछि कम्युनिष्ट पार्टी राणशाहीका बिरुद्ध संघर्षमा होमियो । संघर्षको क्रममा अनुभवहरु सँगाल्दै पार्टीका भगिनी संगठनहरुमजदुर, किसान, महिला, यूवा(बिद्यार्थी जस्ता जन बर्गीय संगठन निर्माण गरेर सामन्तबाद साम्राज्यवाद बिरोधी संघर्षलाई ब्यापक तुल्याउने र मूख्य गरेर किसान आन्दोलन उठाउने दिशा पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्र्टीले लियो । सामन्तबादसँग साँठगाँठ गर्ने र राणाशाही बिरोधी आन्दोलन सम्पूर्ण सामन्तबादकै उच्छेद गर्ने किसिमले फैलिन थालेपछि भारतको दिल्लीमा नेहरुको मध्यस्थतामा राणा, राजा र काग्रेसका बीचमा क्रान्तिलाई अपूरो र अधुरो छोड्ने कुरामा सहमतिकासाथ सम्झौता गरियो । त्यसको बिरुद्ध लाग्दा २००८ सालमा कम्युनिष्ट पार्टीमाथि नै प्रतिबन्ध लगाइयो । त्यसपछि पार्टीलाई किसान आन्दोलनमार्फ सुरक्षित र सकृय राख्दै देशमा खाशगरी काठमाण्डौ उपत्यका, बारा, पर्सा, रौतहट, सप्तरी, सिरहा,झापा र पश्चिममा पाल्पा रुपन्देही (त्यत्तिबेला पाल्ही माझखण्ड भनिन्थ्यो) र सुदुर पश्चिममा समेत भीमदत्त पन्तको अगुवाईमा किसान बर्गको तुफानी आन्दोलन नेकपाको नेतृत्वमा चल्यो ।   यसै बीचमा कमरेड पुष्पलाल अन्तर्राष्टिय कम्युनिष्ट सम्मेलनमा भागलिन २०१६ सालमा सोभियत रुसमा पनि गएका थिए । उनले खु्रश्चेभको नीतिको बिरुद्ध स्तालिनको पक्षमा आफ्नो प्रष्ट अडान पनि त्यहाँ राखेका थिए । त्यही साल क.पुष्पलाल, मनमोहन अधिकारी, शम्भूराम श्रेष्ठ लगायतको टोलीसँग चीन भ्रमणमा पनि गए र त्यहाँ चीनीयाँ कम्युनिष्ट पार्टीका नेतृत्वसँग बिचारको महत्वपूर्ण आदान(प्रदान गरियो ।   २०१७ सालमा राजा महेन्द्रले सैनिक कु गरेर सीमित प्रजातन्त्रलाई पनि समाप्त पारे पछि त्यस्तो कुनै प्रतिगामी कदम राजाले उठाउन सक्ने र सचेत हुनुपर्ने कुरा बारम्बार उठाउदै आएका कमरेड पुष्पलालले आपसी सैद्धान्तिक मतभेदका बाबजुद राजाको प्रतिगामी कदमका बिरुद्ध काग्रेस र कम्युनिष्ट एक भएर संर्घषको मैदानमा उत्रिनु पर्ने संयुक्त आन्दोलनको जोडदार आह्वान गरे । तर काग्रेसलाई त्यो कुरा तत्काल मान्य भएन ।   वास्तबमा कमरेड पुष्पलाल सिद्धान्तनिष्ठ, दूरदृष्टि एवं उच्च नैतिकता भएका प्रभावशाली नेता र क्रान्तिकारी योद्धा थिए । उनले जसका बिरुद्ध नेपाली जनतालड्नु पर्ने हो त्यस शक्तिसँग कस्तै कठिन परिस्थितिमा पनि कुनै प्रकारको सम्झौता कदापि गरेनन् । संयुक्त जन आन्दोलनका प्रतिपादक, नयाँ जनवादी कार्यक्रमका नेपालका प्रबक्ता र प्रयोक्ता पुष्पलालको २०३५ साल साउन ७ गते दिल्लीको बल्लभ भाइ पन्त अस्पतालमा असामयिक दुःखद निधन भयो । नेपालको कम्युनिष्ट तथा जनवादी आन्दोलनलाई अपुरणीय क्षति भयो । आज पुष्पलाललाई भजाउने कम्युनिष्टहरु त धेरै छन् । तर उनको बाटोमा अग्रसर हुने क्रान्तिकारी कम्युनिष्टहरु किनारामा परेका छन् । उनको ९५औं जन्मजयन्तिमा उच्च सम्मनकासाथ क. पुष्पलाललाई लाल सलाम !

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif