Saturday, 07 December, 2019    |    २०७६ मंसीर २१ गते , शनिवार

सदस्यहरुलाई गुणस्तरीय सेवा दिन सहकारीहरुबीच एकिकरण गर्नुपर्छ


२०७६ असार ११ गते , बुधवार प्रकाशित

कृष्णप्रसाद बास्तोला
अध्यक्ष, करुणा बचत तथा ऋण सहकारी संस्था लि.


वि. सं. २०५० सालमा लगनखेलमा रहेको जागृति बहुउद्देश्यीय सहकारी संस्थाबाट सहकारी क्षेत्रमा प्रवेश गरेका कृष्णप्रसाद बास्तोलाले धेरै वर्ष विभिन्न सहकारी संस्थामा कर्मचारीको रुपमा काम गरे । २०६५ सालमा करुणा सहकारी संस्था स्थापना पछि बास्तोला हाल अध्यक्षको रुपमा रहेका छन् । सहकारीमा व्यक्ति हावी नभइ सामुहिक हितका लागि काम गरे संस्था सफल हुने उनको बुझाई छ । एक  लाख पूँजी र ३० जना शेयरसदस्यबाट शुरु भएको संस्थाले हालसम्म १६ करोडको हाराहारीमा बचतको कारोबार गर्दै आएको छ । सहकारीको बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सकेमात्रै राष्ट्रलाई आर्थिक रुपमा टेवा पुर्याउन सक्ने उनको धारणा छ । सहकारी धेरै हुँदा सेवामा गुणस्तरीयता दिन नसकिने हुँदा अबको बाटो एकिकरण नै भएको उनको ठम्याई छ । सहकारीमार्फत नै गाउँदेखि शहरसम्मका न्यून आय र मध्यम वर्गका मानिसको जीवनस्तर माथि उकास्न सक्ने बाँस्तोला बताउँछन् । करुणा साकोसको समग्र अवस्था, संस्थाको भावी योजना, सहकारी नियमावली र सहकारीका विविध विषयमा अध्यक्ष बास्तोलासँग नेपालपत्रन्यूजले गरेको कुराकानी  :



करुणा बचत तथा ऋण सहकारी संस्थाको समग्र अवस्था के छ ? 

२०६५ सालमा हामीले यो संस्था स्थापना गरेका हौं । ३० जना शेयरसदस्यबाट शुरु भएको संस्थामा हालसम्म ८ सय शेयरसदस्य पुगेका छन् । १ लाख शेयरपूँजीबाट शुरु भएको संस्थाको पूँजी हाल १ करोड ५० लाख पुगेको छ । असार समान्तसम्म १ करोड ७५ लाख पुग्ने विश्वास छ । संस्थाले यस अवधिसम्म १६ करोड बचत संकलन गरी १४ करोडको हाराहारीमा लगानी गरेको छ । संस्था शुरुवात गर्दाको अवस्थालाई स्मरण गर्ने हो भने धेरै गाह«ो र कठिन अवस्था थियो । सहकारीलाई मानिसले पूर्ण रुपमा विश्वास गर्ने बातावरण थिएन । केहि सहकारीहरुको अस्वस्थ प्रतिस्पर्धा कारण त्यो समयमा सदस्यले सहकारीप्रति त्यति विश्वास गर्दैन थिए । त्यो बेला राम्रो र मजबुत ऐन तथा नियम पनि थिएन । अहिले सहकारी ऐन २०७४ आएको छ । यसले पनि सहकारीलाई राम्रो बाटोमा डो¥याउन सक्छ भन्ने बुझाई मेरो छ । 

संस्थाले बचतलाई कसरी परिचालन गर्दै आएको छ ? 

हामीले सदस्यलाई मात्रै ऋण लगानी गर्छौं । केहि प्रतिशत बचत उत्पादनशील क्षेत्र पनि लगानी गर्न पाए हुन्थ्यो भन्ने सोच बनाएका छौं । कृषि, साना तथा मझौला उद्योग र रोजगारमूलक क्षेत्रमा लगानी गर्ने योजना हामीले बनाएका छौं । यसका लागि हामीले संस्थाको व्यवस्थापन मिलाउँदै छौं । व्यवस्थापन ऐन र प्रशासनिक नियमावली बनाइराखेका छौं । उत्पादनमूलक क्षेत्रमा नै लगानी गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ । 

बचत ऋणको अलावा कस्ता सेवा सदस्यलाई दिँदै आउनुभएको छ ? 

बचतऋण बाहेक हामीले सदस्यहरुलाई आपत् पर्दा आकस्मिक कर्जा उपलब्ध गराउँदै आएका छौं । सदस्यको मृत्यु भएको खण्डमा आश्रित परिवारका सदस्यलाई राहत प्रदान गर्छाैं । सदस्यहरुमध्येका गरिब तथा जेहेन्दार छोराछोरीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छौं । सामाजिक उत्तरदायित्वको काम पनि हामी संलग्न छौं । नेफ्स्कुन, जिल्ला संघ, सहकारी बैंक र बचत संघमा आवद्ध भइसकेपछि हामीले धेरै तालिम तथा गोष्ठीमा सहभागी हुने मौका पायौं । ती तालिमले हामीलाई सामाजिक त्रियाकलाप सञ्चलान गर्न अभिप्रेरित ग¥यो । हामीले विभिन्न उपसमिति बनाएर सामाजिक क्रियाकलापका काम अगाडि बढाएका छौं । रक्तदान, सरसफाई तथा स्वास्थ्य शिविर जस्ता कामहरु गर्दै आएका छौं । त्यसैगरी महिला उद्यमशीलता विकास, सिलाईबुनाई र घरमै बसेर गर्न सकिने ससानो व्यवसायहरु सञ्चालनको लागि तालिम तथा लगानी गर्दै आएका छौं । ५ जनाको समुहमा लगानी गर्ने र सानोभन्दा सानो व्यवसायमा हामीले लगानी गर्ने गरेका छौं । हामीले संस्थागत रुपमा लघुवित्त कार्यक्रम शुरु गरेका छौं । र भोलिका दिनमा लघुवित्त कार्यक्रममा जोडिन सजिलो हुन्छ भनेर संस्था स्वयंले लघुवित्तको कार्यक्रम सञ्चालनमा ल्याउने योजना बनाइराखेका छौं । ५ जनाको सहभागितामा महिला समुह गठन गरिदिन्छौं । गोदाम चौरका महिला समुहले बुटिकको काम गर्छन् । इमाडोलमा पनि महिला समुह गठन गरेका छौं । उनीहरुले सिलाइबुनाइको काम गर्छन् । कृषिसम्बन्धी बाख्रापालन र कुखुरापालनलाई पनि प्राथमिकता दिएका छौं । 

उत्पादनशील क्षेत्रमा जान सहकारी ऐन तथा नियमावलीले कतिको बाटो खोलेको छ ? 

बचतऋणको कारोबार गर्ने र बहुउद्देश्यीय सहकारीबीच केहि फरक छ । बहुउद्देश्यीयले हरेक कुरा गर्न पाउने तर बचतऋण सहकारीले बचत र ऋणको मात्रै कारोबार गर भन्दा बचतऋण सहकारीलाई हातखुट्टा बाँधिएको जस्तो महशुस भएको छ । बचतऋण र बहुउद्देश्यीय दुवैले सदस्यबाट पैसा नै ल्याउने हो । बहुउद्देश्यीयले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न पाउने र बचतऋण सहकारीले गर्न नपाउने व्यवस्थाले केहि कठिनाई भएको छ । ऐनले उत्पादनशील क्षेत्रमा ऋण लगानी गर्न पाउने व्यवस्था गरेको हामीले विभिन्न्न कार्यक्रममा सुनेका छौं । ऐन संशोधन गर्नुपर्छ र बचतऋण सहकारीले पनि उत्पादन र रोजगारमूलक क्षेत्रमा लगानी गर्न पाउनुपर्छ भन्ने माग अभियानको छ । यसमा हामी पनि आशावादी छ । उत्पादनमूलक क्षेत्रमा बचतऋण सहकारीले पनि लगानी गर्न पाउने छन् । 

सहकारी नियमावली २०७५ कस्तो पाउनु भयो ? 

सहकारी नियमावलीले कतिपय क्षेत्रमा सहकारीको लागि सहज पनि बनाइदिएको छ । सहकारी क्षेत्रमा कापोमिक्स लागु गर्ने कुरा छ । यो लागु हुनसके सहकारी क्षेत्रलाई राम्रो गर्छ । प्रभावकारी रुपमा लागु हुन सकेन भने त्यसले समस्या पनि ल्याउँछ । सहकारी नियमावली आउँदैमा आजको भोलि लागु हुँदैन । लागु हुन समय लाग्छ । अहिले तीनवटै तहले सहकारी हेर्न सक्ने व्यवस्था ऐनले गरेको छ । तर स्थानीय र प्रदेशले हेर्ने संस्थाहरुको फाइल एउटा कोटामा थुप्रिएको छ । प्रदेशको सबै कुरा व्यवस्थापन गर्न समय लाग्ने अवस्था छ । नियमावली केहि बुँदा परिमार्जन गर्नुपर्ला तर धेरै कुरा सहकारीमैत्री छ । 

सहकारीमा मर्जरको कुरा पनि उठिइरहेको छ नि ? 

अहिलेको परिस्थिति हेर्दा मर्जर समय सान्दर्भिक जस्तै लाग्छ । धेरैवटा सहकारी खोलेर कारोबार गर्नुभन्दा संख्या घटाएर कारोबार गर्दा राम्रो हुन्छ । थोरै संस्था हुँदा सिस्टममा चल्छन् भने पूँजी फस्ने डर पनि कम हुन्छ । अहिले एउटै घरमा ५ वटा संस्था छन् र सबै संस्थामा तिनै सदस्यले कारोबार गरेको पाइन्छ । भोलि ५ वटा संस्था मर्ज भएर एउटा भयो भने उसले पनि एउटा संस्थासँग मात्र कारोबार गरे पुग्छ । ५ वटै संस्थासँग कारोबार गर्दा सबै संस्थाको कारोबारमा ऊ सफल हुन्छ भन्ने पनि ग्यारेन्टी छैन । मर्जका लागि राज्यले केहि लचिलो नीति लिनै पर्छ । त्यो भयो भने मर्जमा जान सजिलो हुन्छ । सहकारीको लागि समयसिमा दिनुपर्छ । त्यस अवधिमा आफ्ना शेयर सदस्य र संस्थागत व्यवस्थापन गर्न सकिन्छ । जतातजै धेरै संस्था हुनुभन्दा सीमित संख्या भयो भने सदस्य र संस्था दुवैलाई फाइदा पुग्छ । ऐन नियमले भने जस्तै यतिवटा मात्र संस्था बन्नुपर्छ भन्दा त्यो सम्भव छैन । तर मर्ज अभियानलाई निरन्तर अगाडि बढाउनुपर्छ । यो प्रक्रिया क्रमशः चलिरहनुपर्छ । ३ वर्षभित्र ललितपुरमा यतिवटा मात्र संस्था हुनपर्छ भन्ने हो भने त्यो सम्भव हुँदैन । ललितपुरमा १ हजार संस्था छन् भने ३ वर्षमा घटाएर ७ सयमा ल्याउनुपर्छ । त्यसको दुई वर्ष पछि ५०० मा आओस् भन्ने नीति हुनुपर्छ । यसरी क्रमशः घटाउँदै आवश्यक मात्रामा सहकारी ल्याउनुपर्छ भन्ने हो । यसले सहकारी पनि मजबुत बन्छ र सरकारलाई पनि प्रभावकारी नियमन गर्न सहयोग मिल्छ । मेरो बुझाईमा सहकारी मर्जमा जानुपर्छ भन्ने लाग्छ । ३ वर्ष भित्र करुणा सहकारीसँग अन्य केहि संस्था पनि मर्ज गर्छौं । यसका लागि हामीले अन्तरक्रिया पनि बढाइसकेका छौं । सहकारी सिद्धान्तमा चलेको सानो वा ठूलो संस्थासँग मर्ज गरेर अगाडि बढ्छौं । 

सरकार, सहकारी र निजी क्षेत्र मिलेर नै अर्थतन्त्र निर्माण गर्ने कुरा छ, तर संविधानले व्यवस्था गरे अनुसार सहकारीले काम गर्न सकेन भनिन्छ नि ? 

सहकारीले मात्रै होइन, कतिपय बैंक तथा वित्तीय संस्थाले पनि जनतालाई सन्तुष्ट हुने गरी सेवा दिन सकेका छैनन् । सहकारी भनेको सानो भन्दा सानो पूँजीबाट चल्ने संस्था हो । सहकारीले ठूलाठूला परियोजनामा लगानी गर्न सक्दैन । बैंकहरुले धितोमा कर्जा लगानी गर्छन् । सहकारीले समुदायमा आधारित भएर सामुहिक जमानीमा पनि कर्जा लगानी गर्नुपर्छ । यो पनि चुनौतीको पाटो छ । सदस्य व्यवसायमा सफल भयो भने संस्थाको पैसा फिर्ता गर्छ तर यदि ऊ असफल भयो भने ऋण तिर्न नसक्ने अवस्था सृजना हुन्छ । बैंकले धितोमा लगानी गरेकाले धितो लिलाम गरेर भए पनि पैसा उठाउँछ । सहकारीले केहि काम त गरेको छ । त्यो पर्याप्त मात्रामा नहोला । त्यसलाई बढाउने तर्फ हामी लाग्नुपर्छ । यसका लागि सहकारी मर्जमा जाने नै हो । जति ठूलो रुख भयो त्यसको छायाँ त्यति नै बढि हुन्छ र फल पनि धेरै दिन्छ । सहकारीलाई मजबुत बनाएर देशलाई योगदान दिन मर्जर नै सबैभन्दा राम्रो विकल्प हो । 

समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका के रहन्छ ? 

ठूला संस्थाहरु माथिल्लो तहमै सीमित हुन्छन् । सहकारी तल्लो वर्गका मानिससम्म पुगेको छ । ठूला वर्गलाई ठूलो रकमको आवश्यकता पर्छ तर किसानलाई बीउबिजन, मलखाद खरिद गर्न पैसाको आवश्यकता पर्छ । ससानो खरखाँचो टार्ने भनेको सहकारी नै हो । सहकारीले तल्लो स्तरका मानिसलाई सेवा पु¥याउँदै आएको छ । सहकारीका रुपहरु धेरै छन् । ती सबै प्रकृतिका सहकारीलाई राज्यले व्यवस्थित गर्ने हो भने आर्थिक सामाजिक रुपान्तरणमा सहकारीले धेरै ठूलो भूमिका खेल्न सक्छ । सहकारीले महिला सहभागिता बढाएको छ । हिजोको दिनमा केहि गर्न नसक्ने महिलाहरुलाई सहकारीले लगानी गरेर उनीहरुलाई आयआर्जनमा टेवा पु¥याएको छ । जसको कारण उनीहरुको जीवनस्तर माथि उठ्दै गएको छ र श्रीमानको भरमा बाँच्नुपर्ने अवस्थाको अन्त्य भएको छ । छोराछोरीले कमाएर कहिल्यै ल्याउलान् र गर्जो टार्नु भनेर बस्नुपर्ने अवस्था अन्त्य भएको छ । 

सामाजिक रुपान्तरण जति भयो, आर्थिक रुपान्तरण त्यति हुन सकेन भनिन्छ नि ? 

एक प्रकारले हेर्ने हो भने ठिकै हो तर सबै कुराको परिवर्तन एकै पटक सम्भव छैन । सामाजिक परिवर्तन नभई आर्थिक परिवर्तन हुँदैन । जब मानिसमा चेतनाको विकास हुन्छ, यसले उनीहरुमा बचत गर्ने बानी बस्छ । यसपछि आर्थिक उन्नति हुन्छ । जबकि मानिसमा बचत गर्नुपर्छ र ससानो रकम भएपनि बचत गर्न सके भोलि समस्या परेको बेला गर्जो टार्न सकिन्छ भन्ने जनचेतना भएन भने आर्थिक उन्नति कहिल्यै हुन सक्दैन । यसकारण सामाजिक चेतना नै पहिलो कुरा हो । डाक्टरले औषधीको पोको दिएकै छ जतिखेर दुख्छ, त्यतिखेर मात्र खान्छु भन्ने हो भने रोग निको हुँदैन । डाक्टरले भने अनुसार औषधी सेवन गरियो भने मात्र रोग निको हुन्छ । सहकारीले पिछडिएको समुदायमा पनि अहम् भूमिका खेलेको छ । शहरी क्षेत्रका सहकारीलाई लाञ्छना लाक्ष्नु स्वाभाविकै हो । धेरै सहकारी नाफामूलक भएका छन् । सहरी क्षेत्रमा समुदायमा लगानी गर्ने ठाउँ छैन । तर ग्रामीण क्षेत्रमा सहकारीले राम्रो गरेका छन् । तीनखम्बे अर्थनीतिमा सहकारी एउटा खम्बा बन्न सक्छ । 

अबको बाटो सहकारीको के हुनुपर्छ ? 

उत्पादनमूलक क्षेत्रमा अब सहकारी लाग्नुपर्छ । विगतमा हामीले लोडसेडिङ १८ घण्टा खेप्नुपथ्र्यो । त्यो हल भएको छ । एउटा सहकारी सञ्चालनमा १०–१२ लिटर डिजेल–पेट्रोल खर्च गर्नुपथ्र्यो । आज त्यो समस्या छैन र खर्च घट्न गएको छ । प्रत्येक सहकारीले शेयर लगानी गरे हाइड्रो पावरमा लगानी गर्न राज्यले प्रेरणा दिने हो भने लगानी गर्न सकिन्छ । सहकारीले हरेक व्यवसायमा लगानी गर्न सक्छ । कृषि र रोजगारमूलक क्षेत्रमा सहकारीले लगानी बढाउनुपर्छ । यसका लागि राज्यले नीतिगत रुपमा बाटो खोलिदिनु पर्छ । लगानीमैत्री बातावरण बनाइदिनुपर्छ । 

बजेट सहकारीको लागि कतिको उपयोगी छ ?

बजेटले सहकारीको लागि कर्जा सूचना केन्द्र स्थापना गर्ने भनेको छ । यो राम्रो पक्ष हो । यस्तो व्यवस्थाले सहकारीबाट कर्जा लिएर केहि व्यक्तिले संस्था डुबाउन पाउँदैनन् । सहकारीलाई कर्जा असुलीमा सहयोग मिल्छ र संस्थाहरु डुब्ने सम्भावना कम हुन्छ । अहिले आएको बजेट र नियमावली सहकारीका लागि सकारात्मक छ । नियमावली शतप्रतिशत सहकारी मैत्री छ भन्ने होइन । यसलाई संशोधन गर्दै जानुपर्छ र सहकारीमैत्री बनाउँदै लैजानुपर्छ ।

सहकारीमा लाग्ने आयकर पनि घटेको छ नि ? 

कुन निकायले मात्र कर लिने भने निश्चित हुनुपर्छ । अहिले स्थानीय निकाय र केन्द्रिय सरकारले पनि सहकारीबाट कर लिइराखेको छ । स्थानीय सरकार गठन हुनुभन्दा अगाडि होर्डिङ बोर्डको कर तिर्नुपथ्यो । बोर्डको साइज अनुसार कर तिराइन्थ्यो । अहिले स्थानीय सरकारले संस्था स्थापनादेखिको कर तिराएको छ । सहकारी ऐनको आएको डेढ वर्ष हुँदैछ । यस विषयमा बचत संघ र जिल्ला सहकारी संघले पनि आवाज उठायो । कतिपय संस्थाले स्थानीय कर तिरे भने कतिपयले तिरेका छैनन् । सबै संस्थालाई समान कर लगाउने भन्दा पनि संस्थाहरुलाई वर्गिकरण गरेर कर लगाए राम्रो हुन्थ्यो । 

करुणाको आगामी योजना के छ ? 

जुनसुकै क्षेत्रमा चुनौती र अवसर सँगै हुन्छन् । रिस्क भएको ठाउँमा गेन पनि हुन्छ । सहकारीमा बिचलन आउन नदिन हामीले ३ वटा रणनीति अपनाएका छौं । ३ वर्षे रणनीति अनुसार ५० प्रतिशतसम्म उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएका छौं । संस्थालाई एकिकरण गरेर ठूलो र मजबुत बनाउने सोच लिएका छौं । सहकारी  ऐनमा रहेर संस्थालाई कोपोमिसमा आवद्ध गराउने र संस्था सञ्चालन गर्न विभिन्न उपसमिति बनाई क्रियाशील बनाउने योजना छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif