Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड बलराम


२०७६ असार ४ गते , बुधवार प्रकाशित


–भिमप्रसाद सेढाईं 

  ‘‘उहाँ क. बराउति’ भनेर परिचय गराउनु भयो क. हिक्मत सिंहले । खिसिक्क हाँसेर उहाँले मसँग हात मिलाउनु भयो । अग्लो, पातलो शरीर, निधार ठूलो भएता पनि आँखा अलिक भासिएका, हाँसेर बोल्ने मृदुभाषी र मिलनसार ब्यक्तित्वका धनी हुनुहुन्थ्यो कमरेड बलराम ! जो कोहीसँग चाँडै घुलमिल हुनसक्ने उहाँको बिशेषता थियो ।

यस्तो ब्यक्तित्वका धनी कमरेड बलरामसँग मेरो पहिलो भेट बनारसको दुधबिनायक, के–२९÷३०  दशपुत्र गल्लीमा रहेको त्यतिबेला नेपालमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालयमा सन् १९६७ मा भएको थियो । यो त्यही समय थियो जतिखेर नेपाल कम्युनिष्ट पार्टीको ‘तेश्रो महाधिवेशनले छानेको केन्द्रिय नेतृत्व बिलिन भएर गए पछि पार्टीको केन्द्रिय कार्यालयमा पार्टीको मन्त्रिपरिषदका ३ र केन्द्रिय समितिका ३ जना सार्थीहरु मात्र उपस्थित थिए । मन्त्रिपरिषदका ३ जनामा क. पुष्पलाल, क. हिक्मत सिंह र क. देबेन्द्रलाल र क. बलराम उपाध्याय, क.एकदेब आले तथा क. प्रेम प्रकाश केन्द्रिय समितिका सदस्य थिए । (श्रोत ः तेश्रो ऐतिहासिक सम्मेलनको रिपोर्टबाट) क. पुष्पलाल र हिक्मत सिंह बाहेकका अन्य ४ जना कमरेडहरुसँग यो मेरो पहिलो भेट थियो । त्यहाँ त्यतिखेर उहाहरुको दिनचर्या अत्यन्तै कष्टकर थियो । कहिले काही चना र साग मात्र खाएर दिन बिताउनु पर्ने स्थिति थियो कहिले काँही फुको चिउरा र पानी पिएर रात कटाउनु पर्ने अबस्था रहेको थियो । तर पनि गुजाराको त्यो दयनीय अबस्थाले उहाँहरु कसैलाई त्यत्ति छोएको जस्तो देखिदैनथ्यो जति पार्टीको चिन्ता र चासोले उहाँहरुलाई पिरोलेको देखिन्थ्यो । तेश्रो महाधिवेशनले छानेको केन्द्रिय नेतृत्व छिन्न भिन्न भइ केन्द्रिय स्वरुप नै बिलिन हुन पुगेको अबस्थामा पुगेको थियो । पार्टी इलाका र प्रदेशमा साँधुरिन पुगेको थियो । नेपालको कम्युनिष्ट आन्दोलन संकटपूर्ण घडीमा थियो त्यतिखेर । ‘राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा आधुनिक संशोधनबादका बिरुद्ध डटेर संघर्ष गर्ने लिखित प्रतिज्ञा गरियो । पार्टीलाई बिसर्जनबाट रोक्नका निमित्त हामी समक्ष योभन्दा अर्को कुनै बिकल्प थिएन’ .(तेश्रो ऐतिहासिक सम्मेलनको रिपोर्टबाट) । बास्तवमा उहाहरुले प्रतिज्ञा मात्र गर्नु भएको थिएन आई परेका जस्तासुकै कठिनाईहरुसँग जुज्धै पार्टीलाई पुनर्जीबन दिने काममा लागि पर्नु भयो । त्यही प्रतिज्ञा र संकल्पको प्रतिफल थियो बास्तबमा पार्टीको २०२५ सालमा सम्पन्न तेश्रो ऐतिहासिक सम्मेलन !
  तेश्रो ऐतिहासिक सम्मेलनपछिका क. बलराम 
  तेश्रो ऐतिहासिक सम्मेलनले पुनर्गठित गरेको नेपाल कम्युष्निट पार्टीको नयाँ जनबादी कार्यक्रम र संयुक्त जन आन्दोलनको कार्यनीतिलाई ३ जना सार्थीहरुले बिस्तारै छाडेर लाखापाखा लाग्नु भयो भने त्यही सेरोफेरोमा २०२५ साल माघ १२ गते क्यान्सर रोगका कारणले क. एकदेब आले पनि बित्नु भयो । यस्तो स्थितिमा क. बलराम उपाध्याय भने आफुले लिएको संकल्पप्रति दृढताकासाथ खडा भएर लागिरहनु भयो । पार्टीको नीति, सिद्धान्त र बिचार सम्बन्धि ब्याख्या बिश्लेषण र प्रशिक्षणको काम क. पुष्पलालले गर्नुहुन्थ्यो भने तानाशाही पञ्चायती ब्यबस्थाको कठोर सुरक्षा घेरालाई छिचोल्दै अनि बोर्डर वारी र पारीका गुप्तचरहरुको आँखा छल्दै देशभित्रका संगठनहरुमा पार्टी केन्द्रको गतिबिधि र जानकारीहरु पु¥याउनका साथै देश भित्रका संगठनहरुको गतिबिधि र जानकारीहरु पार्टी केन्द्रसँग जोड्ने र केन्द्र र तलका संगठनका बीच जीबन्त संपर्क राख्ने काम क. बलरामबाट भएको थियो । क. नेपाली क्रान्तिका निमित्त पष्पलालबाट प्रतिपादित नयाँ जनबादी कार्यक्रम र पुनर्गठित नेपाल कम्युनिष्ट पार्टीलाई स्थापित गराउनमा उहाँको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको थियो । 
  त्यतिबेला पार्टी गतिबिधि बढाउनका निमित्त आजको जस्तो मुलुक भित्र यातायात र सञ्चारको सुबिधा थिएन । त्यो निकै जोखिमपूर्ण र कष्टदायी थियो – भूमिगत पार्टी गतिबिधि सञ्चालन गर्न । कहाँ कतिखेर ज्यान जाने हो कुनै ठेगान थिएन । भोक तिर्खा नभनी, जाडो गर्मीको वास्ता नगरी टाउकोमा कफन बाँधेर राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका आधुनिक संशोधनबादका बिरुद्ध संघर्ष गर्दै नेपाल कम्युनिष्ट पार्टीलाई बिसर्जन हुनबाट जोगाउन र रोक्नका निमित्त उहाँको महत्वपूर्ण योगदान रहेको थियो । कमरेड पुष्पलालले उहाँको साथ नपाउनु भएको भए मुलुक भित्रका धेरैजसो अञ्चल र जिल्लाहरुमा संगठन बिस्तार त्यति चाँडो हुन सक्ने थियो थिएन भन्न सकिदैनथ्यो । नयाँ जनबादी कार्यक्रमको मस्तिष्क क. पुष्पलाल हुुनुहुन्थ्योभ नयाँ जनबादी कार्यक्रममलाई चलायमान बनाईराख्ने अंगको काम यसरी क. बलरामबाट भएको थियो । 
  क. पुष्पलालको देहाबसान पछिका क. बलराम

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक, सञ्चालक र सिद्धान्तकार एवं दूरदर्शी क्रान्तिकारी नेता क. पुष्पलालको २०३५ साल साउनमा असामयिक निधन भएपछि पार्टी अब सकियो भन्ने अनेक टिका टिप्पणीहरु मोफसलमा शुरु भइसकेका थिए । यस्तो प्रचारमा सामन्ती अधिनायकबादी पञ्चायती सत्ताको बिशेष भूमिका थियो नै त्यसमा पनि कमरेड पुष्पलाल जस्तो नेपाली कम्युनिष्ट आन्दोलनको अग्लो ब्यक्तित्वको देहाबसानले कम ठूलो क्षति आन्दोलनलाई पुगेको थिएन । यस्तो स्थितिमा त्यसै बर्षको भाद्र ३० गते अर्थात् १५ सेप्टेम्बरका दिन – ‘जुन दिन पार्टीको जन्म दिन हो – को अवसर पारेर दरभंगाको पुनम होटेलमा नेपाल कम्युनिष्ट पार्टीको संकटकालीन सम्मेलन शुरु भयो । त्यस्तो संकटको अबस्थामा पनि सम्मेलनमा पार्टी नेता तथा कार्यकतारुको उल्लेख्य उपस्थिति रहेको थियो । त्यस सम्मेलनको पहिलो दिन पार्टीका जेष्ठ केन्द्रिय समितिका सदस्य क. चित्रबहादुर गुरुङ्गले सम्मेलनको  उद्घाटन र सभाको अध्यक्षता गर्नु भयो । दोश्रो दिन बन्द सत्रमा सभाको अध्यक्ष मण्डलमा केन्द्रिय सदस्यत्रय क.  चित्र बहादुर गुरुङ्ग, क. गुणराज घले र क. दुःखी चौधरी चयन गरिनु भयो । क. पुष्पलालको दुःखद देहाबसान पछिको त्यो बैठक गम्भीर थियो र उपस्थिति सबैको अनुहारमा एक किसिमको चिन्ता, निराशा र अन्यौल जस्तो भाव पनि झल्केको देखिन्थ्यो । बन्द सत्रमा एक मिनेट मौन धारण गरेर कमरेड पुष्पलाललाई उच्च सम्मान र श्रद्धा ब्यक्त गरेपछि बोल्दै क. बलराम उपाध्यायले भन्नु भयो — ‘साथीहरु आज हामीमाथि ठूलो संकट आइपरेको छ । हामी बहुतै संकटपूर्ण घडीमा छौं । कमरेड पुष्पलालको असामयिक निधनले मुलुकलाई अपुरणीय क्षति भएको छ । नेपाली कम्युनिष्ट आन्दोलनले आफ्ना अग्रज, अथक योद्धा तथा  सिद्धान्तनिष्ठ शिर्षस्थ नेतालाई गुमाएको छ । कमरेड साथीहरु उहाले भन्ने गर्नु भएको ‘नेता प्रधान होइन, नीति प्रधान हुन्छ’ भन्ने सारपूर्ण उक्तिलाई हामीले सधैं स्मरण गर्नु पर्दछ । उहाँको दूरगामी बिचार हामीसँग छ । उहाँको यो बिचारले हामीलाई निरन्तर मार्गदर्शन गरिरहने छ । हामी यसबाट अलिकति पनि बिचलित भयौं भने यसबाट कम्युनिष्ट आन्दोलन फेरि पनि धरापमा पर्नसक्छ । शोकलाई शक्तिमा बदलेर देशका प्रत्येक झोपडीमा उहाँको बिचार पु¥याउन सके मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ’ । कमरेड बलरामको यो सार्थक र सारगर्भित श्रद्धाञ्जली भाषणले साथीहरुको मलिन अनुहारबाट द्विबिधा र अन्यौलका बादलहरु फाटेको देखियो । उनीहरुले जोशिलो र गडगडाहट ताली लगाएर कमरेड बलराको भाषणको स्वागत गरे । अनि सभा हलमा उपस्थिति साथीहरुका बीच नयाँ आत्म बिश्वासको सुगबुगाहट पनि देखिन थाल्यो । कमरेड बलरामले अब केन्द्रिय समितिको पुनर्गठन गर्नु पर्ने आबश्यकता र औचित्यमाथि प्रकाश पार्नु भयो । यस सम्वन्धमा हलको अनुमतिले उहाँले केन्द्रिय समितिमा थप साथीहरुको नाम प्रस्ताबित गर्नु भयो जुन यस प्रकार थियो — गोबिन्द ज्ञवाली, सहाना प्रधान, सगरमाथाबाट भिमप्रसाद सेढाई र भदेश्वर साह, जनकपुरबाट बोधराज काफ्ले र ओमराज कोइराला, गण्डकीबाट आर.सी. र आर.बी. भण्डारी, बिद्यार्थीबाट तिलक पराजुली र एकराज पाण्डे प्रस्ताबित र अनुमोति भए । प्रस्ताबित नामहरुमा मोहन चापागाईको नाम पनि थियो तर त्यसलाई उहाँले स्वीकार गर्नु भएन । सहाना प्रधान र एकराज पाण्डेको नाम प्रस्ताबित भए पनि उहाहरु दुबै सम्मेलनमा उपस्थित हुनुहुन्थेन । सबै प्रस्ताबित नामलाई हलले अनुमोदन गर्ने बित्तिकै ‘महासचिव बलराम’ हल एकै स्वरले गुञ्जियो । त्यो स्वभाबिक पनि थियो । तेश्रो ऐतिहासिक सम्मेलनपछि क. पुष्पलालसँगै काँधमा काँध मिलाएर पार्टी गतिबिधिमा क्रियाशील उहाँजस्तो ब्यक्तित्व अरु कोही थिएन । निकै बेर हलमा हल्लीखल्ली भए पछि क. बलरामले हात हल्लाउँदै सबैलाई शान्त हुन आग्रह गर्नु भयो । हल शान्त भइसकेपछि बडो शालीनता र गम्भीरताकासाथ उहाँले आफ्ना कुराहरु राख्नु भयो । उहाँले भन्नु भयो — ‘साथीहरुले मप्रति देखाउनु भएको सम्मानका निम्ति धन्यबाद ! तपाईहरुको भावनालाई मैले बुझेको छु । तर अहिले यो शोकको घडीमा मैले महासचिव पदमा आसीन हुन उपयुक्त समय नहुने ठानेको छु । क. पुष्पष्लालको सम्मानमा अहिलेलाई यो पद खाली राख्दै पार्टी प्रमुखले गर्नुपर्ने सम्पूर्ण काम पार्टी प्रबक्ताको नामबाट म गर्नेछु ।साथीहरुले मेरो यो गम्भीर अनुरोधलाई स्वीकारी दिनुहुनेछ’ । उहाँको कुरा सुनिसकेपछि  हलले ताली लगाएर उहाँको अनुरोधलाई अनुमोदन ग¥यो । मैले यी सबै सबै कुरा लेख्न पर्ने मकसद के हो भने क. बलराम उपाध्याय पटक्कै महत्वाकांक्षी हुनुहुन्थेन । उहाँसँग लामो समयसम्म सँगै पार्टीमा काम गरियो तर उहाँले कहिल्यै पनि बढप्पन देखाउनु भएन । उहाँमा कहिल्यै पनि अहंताको भावना देखिएन । सरलता र सादगीलाई उहाँले अत्यन्तै राम्रोसँग आत्मसात गरेको देखिन्थ्यो । 
  निश्चय नै मान्छेमा गुणै गुणको पोको मात्रै हुँदैन । उहाँमा पनि केही कमजोर अबश्य थिए । मलाई लागेको उहाँको सबैभन्दा ठूलो कमजोरी थियो – ‘बिडी’ । उहाँको बनारसको डेरा अगाडि ‘दिनाको चिया पसल’ थियो । बिहान उठ्ने बित्तिकैदेखि दिनाको चिया पसलको बेञ्चमा पल्था मारेर बस्यो अनि डेराबाट खाना खान नबोलाउञ्जेल ‘बिडी’ र चियाको दौड चलिरहन्थ्यो । पार्टी अफिस भित्र पस्ता या बाहिर कतै हिड्दा मात्र उहाँको हातामा ‘बिडी’ हुँदैनथ्यो । नत्र उहाँका दुइ औंला र बिडीका बीच अन्योन्याश्रित सम्वन्ध जस्तै थियो । कतिसम्म भने – एक पल्टको घटना हो — बलराम दाइ सिकिस्त बिरामी हुनु भएछ । हामीले खबर पायौं । त्यतिखेर खरबको माध्यम थियो ‘ट्रङ्कल’ वा ‘चिठी’ । खबर सोझै हामी भए ठाउँमा पुग्न त्यो पञ्चायती कालरात्री कालमा सम्भव थिएन । हाम्रो बनारसँगको खबर आदान–प्रदान गर्ने थलो थियो – भारतको कुनौली बजार । त्यहाँबाट खबर आइपुग्थ्यो कमरेड भदेश्वरजीकोमा । कुनौली बजारबाट हाम्रो खबर आदान प्रदान गरिदिने काम हुन्थ्यो उहाँको ससुराली घरबाट । हामीले खबर पाउँनासाथ सगरमाथा अञ्चल पार्टी कमिटीको संकटकालीन बैठक बसाल्यौ. र ‘बलराम बचाऔं’ अभियान चलायौं । सबै साथीहरुले दिल खोलेर सहयोग गर्नु भयो । भदेश्वर, हरि राउत र म बनारस पुग्यौं । क. बलराम हिडडुलसम्म पनि गर्न नसक्ने अबस्थामा हुुनुहुँदो रहेछ । उहाँको दिसाबाट कालो रगत आउँदो रहेछ । उहाँकै सल्लाह अनुसार उहाँलाई हामीले बि.एच.यू(बनारस हिन्दू बिश्वबिद्यालय)को मेडिकल कलेजमा लिएर गयौं । त्यहाँ पाल्पाका एकजना बरिष्ठ डाक्टर कार्यरत हुँनुहुँदो रहेछ । डाक्टरको नाम थियो लोकेन्द्रमान सिंह । उहाँसँग बलराम दाइको राम्रो सम्वन्ध रहेछ । डाक्टरले पनि दाइलाई राम्रो सम्मान गर्नु हुँदोरहेछ । डा. लोकेन्द्रमानले बलराम दाइलाई जाँच्ने काम गरिसकेपछि दिशा, रगत र पेटको एक्स–रे को रिपार्ट सहीत भोली पल्ट यसैबेला मलाई भेट्नुहोस् भनेर डाक्टरले भन्नु भयो । भोली पल्ट सबै रिपोर्ट हेरिसकेपछि डा. लोकेन्द्रमानले भन्नु भयो – ‘तपाईलाई अल्सर भइसके छ । भर्खर शुरुवात भएको रहेछ । आत्तिहाल्नु पर्दैन । दबाई लेखिदिन्छु, नियमित खानुहोस् र डेढ महिना दबाई खाए पछि फेरि जचाउन आउनुहोस् । सुधार भएमा अप्रेशन गर्नु पर्दैन’ । डा. लोकेन्द्र एलोपेथिक र आयुर्बेदिक दुबै औषधी सँगसँगै चलाउनु हुँदो रहेछ । बलराम दाइ ‘बिडी’को अम्मली हो भन्ने कुरा  उहाँलाई पनि थाहा रहेछ । त्यसैले डा. साहेबले भन्नु भयो – ‘तपाई निको हुने नहुने धुम्रपानमाथि नै भर पर्छ  । निको हुनका निम्ति तपाईले धुम्रपान छोड्नु पर्छ’ । बलराम दाइले खुइय गर्दै डा.सिंहसँग सोध्नु भयो – ‘डा. साहेब अरु केही बिकल्प छैन ? एकै चोटी छाड्न गाह्र्रो छ । मैले तपाईलाई ढाट्न त भएन’ । उत्तरमा डा. सिंहले ‘सकेसम्म छोड्नुहोस्, यदि सक्दै सक्नुहुन्न भने हुक्का प्रयोग गर्नुहोस्’भन्नु भयो । डाक्टरको कुरा सुनिसकेपछि बलराम दाइ खुशी हुनु भयो। बनारसमा हुक्का कहाँ पाउछ भन्ने थाहा पाउन पनि हामीलाई निक्कै गाह्रो भयो । हामी तीनैजना बनारसका लागि नौलै थियौं । भोलीपल्ट ‘म पनि तपार्ईहरुसँग बिस्तारै जान्छु’बराम दाइले भन्नु भयो । नभन्दै त्यो दिन हुक्का फेला प¥यो । हुक्का र नली किनेर ल्यायौं । हामी त्यतिखेर १५ दिनजति बनारस बस्यौं । बलराम दाइले – ‘मलाई पहिलाको भन्दा धेरै राम्रो भयो, तपाईहरु अब फर्कदा हुन्छ’ भन्नु भयो । हामी उहाँलाई उपचारको निम्ति सम्पूर्ण ब्यवस्था मिलाएर स्वास्थ्यमा कुनै पनि समस्या आयो भने तुरुन्तै खबर गर्नु होला भनी नेपाल फर्कियौं । 
सक्षम नेतृत्व


ब्यक्तिगत केही कमजोरीका बाबजुद घटना क्रममले क. बलरामा सक्षम नतृत्व दिन सक्ने क्षमता थियो भन्ने पुष्टी गर्दछ । क. पुष्पलाल बित्नु भएको बर्ष दिन नपुग्दै संयुक्त बिद्यार्थी आन्दोलनले तानाशाही पञ्चायती ब्यवस्थालाई जनताको कठघरामा उभ्भिन बाध्य पा¥यो । राजाले जनमता संग्रहको घोषणा गरे । तुरुन्तै नेपाल कम्युनिष्ट पार्टीले ५ पूर्ब शर्त सहीत जनमत संग्रहमा भागलिने निर्णय ग¥यो । प्रतिबन्धित भएकोले त्यतिखेर पार्टीको नामको अगाडि प्र. लेखेर मात्र प्रचार प्रसारमा जान पाइन्थ्यो । तानाशाही पञ्चायती ब्यवस्थाले कति खेर कुन कोल्टे फेर्ने हो ठेगान थिएन ।त्यसैले हाम्रो पार्टीले खुल्ला र भूमिगत दुबै गतिबिधि सँगसँगै चलाउने निर्णय गर्यो — खुल्ला गतिबिधिमा क. सहाना प्रधानले भाग लिने र भूमिगत गतिबिधिको सञ्चालन क. बलराम उपाध्यायले गर्ने ।  त्यसपछिको २०४२ सालको सत्याग्रहको आन्दोलन होस् या २०४६ सालको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था बिरोधी संयुक्त जन आन्दोलन पार्टीको निर्णय अनुसार भूमिगत बसी आन्दोलनलाई सफलतापूर्वक नेतृत्व दिन क. बलरामले नेतृत्व दिनु भएको थियो । 
  जनमत संग्रहमा पार्टीको भूमिका 

कमरेड पुष्पलालको बिचार बोकेको क्रियाशील, संगठित, अनुशासित कार्यकर्ताको जमात थियो त्यतिबेला । त्यसै कारणले २०३६ सालको संयुक्त बिद्यार्थी आन्दोनलले भर्खरै यस बिचारलाई ब्यबहारबाटै सही प्रमाणित गरेको थियो । त्यसैले कमरेड पुष्पलालको बिचार त्यस अनुरुपको सही गतिबिधिले गर्दा हाम्रो पार्टीमाथि राष्टयय तथा अन्तर्राष्ट्रिय संशोधनबादीहरुको गिद्धे दृष्टि परिसकेको थियो । अझ यस सन्दर्भमा बिशेषतः २०१७ सालदेखि नै क. पुष्पलालको बिरुद्धमा लागिपरेको राष्टयय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको समेत टाउको दुःखाई भइसकेको थियो । त्यहीदेखि नै कमरेड पुष्पलालको बिचार र २०२५ सालमा  उहाँको नेतृत्वमा पुनर्गठित कम्युनिष्ट पार्टीलाई अन्तरध्वंश गर्ने तानाबाना बुन्न थालिएको थियो । त्यसैको यो पहिलो कडी थियो २०४३ सालमा मनमोहनसँगको एकता । यो एकताको पक्षमा हाम्रा केही साथीहरु बुझीबुझी वा नबुझी ठूलो पार्टी  र कम्युनिष्टहरु बीचको एकताको नाममा बहकिनु भयो । कमरेड पुष्पलालले यथार्थ बस्तुगत र बास्तविकताको आधारमा लेख्नु भएको ‘१८ बर्षको सिंहाबलोकन’मा कम्युनिष्ट पार्टीमा संशोधनबादलाई प्रबेश गराउने र जनबादी केन्द्रियतालाई तोड्नेहरुको नाम प्रष्ट उल्लेख गर्नु भएको छ । त्यसलाई नेतृत्वका केही साथीहरुले बिर्सनु भयो वा नजर अन्दाज गर्नु भयो ।तर क. बलरामले त्यो बिर्सने कुरा थिएन । पुनर्गठित पार्टी र बिचारलाई स्थापित गराउन उहाँहरुले ज्यानको बाजी लगाउनु भएको थियो । कठिन संघर्ष पछि मात्र पार्टी यस ठाउमा आइपुगेको थियो । सही इतिहास र कार्यक्रमलाई छोडेर पार्टी एकता हुने कुरै थिएन । मनमोहनसँगको एकतामा त्यही भएको हो । बैचारिक र सैद्धान्तिकरुपमा हाम्रो पार्टीमाथि हमला हुने क्रम मूलतः यहीबाट शुरु भएको हो । 
  क. बलरामसँग अन्तिम भेट

२०४७ साल पौष १६ गतेदेखि १८ गतेसम्म नेपाल कम्युनिष्ट पार्टीको पोखरामा भएको राष्टयय कार्यकर्ता भेलामा क. सहाना प्रधानले पार्टीको नाम — नेपाल कम्युनिष्ट पार्टी मात्र, पार्टीको इतिहास र पार्टीको कार्यक्रमलाई छोडेर कुनै पनि हालतमा पार्टी एकीकरण हुने छैन भन्ने उद्घोषका साथ सभा समापनको घोषणा भयो । सबै साथीहरु आ–आफ्नो बाटो लागे । क. भदेश्वर जी र म बेलुका त्यही बसेर भोलीपल्ट मात्र काठमाण्डौ जाने निधो गर्यौं । पौष २२ गते काठमाण्डौमा हुने केन्द्रिय समितिको बैठक  सकेर मात्र जिल्ला फर्किने सोच बनायौं । बिहानै बलराम दाई हामी बसेको ठाउमा आइपुग्नु भयो । हामी तीनैजना चिया पिउन बाहिर निस्क्यौं । ‘तपाईहरु अब आज काठमाण्डौ नाइटमा जाने हो, म बसेको होटेलतिर जाऔं, त्यहीं खाना खाएर बेलुकाको गाडी चढ्नु होला’ बलराम दाइले भन्नु भए पछि हामी दुइजना पनि उहाँसँगै लाग्यौं । आज सदाझै भन्दा बलराम दाइ अलिक भिन्न र गम्भीर देखिनु हुन्थ्यो । हामी होटेलमा पुगेर उहाँ बसेको कोठमा पस्यौ । ‘‘कुरो निक्कै गम्भीर छ, पार्टीलाई दुर्घटनाबाट जोगाउन नसकिने भयो । ठूलो पार्टी र एकताको नाममा फेरि पनि पार्टी षडयन्त्रमा पर्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय संशोधनबादीहरु र देशी बिदेशी शक्ति केन्द्रहरुसँग जुधेर स्थापित गरिएको बिचार र पार्टी फेरि दुर्घटनामा पर्ने भयो सहाना प्रधान एकीकरणमा नजाने हो भने अझै पनि पार्टी अन्तरध्वंशबाट पार्टी जोगिने थियो । उहाँसँग राती मेरो टेलिफोनमा बार्ता भयो । सहाना प्रधानले पनि गति छाडेको स्पष्ट संकेत पाएँ । म त्यो एकीकरणमा सामेल हुन्न । म केही दिन यतै बस्छु ।’’ — उहाँले बडो पीडा र गम्भीताकासाथ यी कुरा भन्नु भयो । उहाको कुरा सुनिसकेपछि हामी पनि अत्यन्तै स्तब्ध भयौं । हामी तीनै जना सदाझै परस्परमा गफिन पनि सकेनौं । दाइ चुरोट सल्काएर बाहिर निस्कनु भयो । खाना खाएर केही बेरको आराम पछि म र क.भदेश्वर साहजी काठमाण्डौ जानका निम्ति बाहिर निस्कियौं । दाइ पनि हामीसँग बाटोसम्म आउनु भयो । ‘‘तपाईहरु जानुहोस् । समय अझै छ, घटना क्रममले अर्कै मोड लिन पनि सक्तछ’’ भन्दै सदा झै उहाँले यस पटक पनि खिसिक्क हाँसेर हात मिलाउनु भयो । फरक यत्ति थियो – आज उहाँको अनुहार मलिन थियो । त्यसपछि उहाँसँग हात मिलाएर सँगै बसी कहिल्यै पनि दोहोरो गफ गर्ने मौका जुरेन !  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif