Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

'यक्ष प्रश्न'को आरम्भको इतिहास यस्तो थियो !


२०७६ असार ३ गते , मंगलवार प्रकाशित


पाण्डबहरुको बनबासको १२ बर्षसमाप्त हुन लागेको थियो । त्यसपछिको १ बर्षको अज्ञातबासको चिन्ताले युधिष्ठिरलाई सताइरहेको थियो । त्यसै चिन्तामा डुबेका उनी एक दिन आफ्ना भाइ बन्धुहरु र कृष्णसँग बिचार बिमर्श गरिरहेका थिए । त्यसैबेला त्यहाँ एक जना रुदै गरेका ब्राहृमण आएर खडा भए । रुनुको कारण सोद्धा तिनले बताए : मेरो झोपडी बाहिर अरणीका काठ टाँगिएको थियो । एउटा हिरण आयो र त्यसले त्यो काठले आफ्नो जिउ कन्याउन थाल्यो र हिड्यो । त्यस क्रममा त्यो अरणीको काठ उसको सिंगमा अट्कियो । त्यसबाट हिरण डरायो र दुरुरु कुद्न थाल्यो अब म अग्नि होत्रका लागि अग्नि कसरी उत्पन्न गरौं (अरणी यस्तो काठ हो जसलाई त्यस्तै अर्को काठसँग घोट्दा आगो उत्पन्न गर्न सकिन्छ ) ।
ती ब्राहृमणको दुःख सुनेर पाँचै भाइ पाण्डबहरु हिरणको खोजीमा हिडे । हिरण उनका अगाडिबाटै जोडले दौडदै धेरै टाढा पुगिसकेको थियो र आँखाबाट ओझेल भइसकेको थियो ।

पाँचै पाण्डव थकाई र तिर्खा लागेर एउटा बृक्षको छायामा बसे । उनीहरु कुन कुराले लज्जित थिए भने शक्तिशाली पाँच भाइ भएर पनि एउटा. ब्राहृमणको हिरण पक्रने सानो काम पनि गर्न सकेनन् । तिर्खाले उनीहरु सबैको घाँटी सुकिरहेको थियो । नहकुल सबैका लागि पानीको खोजीमा हिडे । केही टाढा पुगे पछि उनले एउटा तलाऊ(सरोबर) भेटे, जसमा स्वच्छ पानी भरिएको थियो । नहकुल पानी पिउन जब सरोबरमा पुगे एउटा आवाज आयो - 'माद्री पुत्र दुस्साहस नगर, यो जलाशय मेरो अधिनमा छ, पहिला मेरो प्रश्नको उत्तर देऊ अनि पानी पिउनु'

नहकुल तीन छक्क परे तर उनलाई यत्ति धेरै तिर्खा लागेको थियो कि त्यस्तो चेतावनी सुन्नै चाहेनन् र पानी पिए । पानी पिउने बित्तिकै उनी प्राणहीन भएर लडे ।

केही बेरसम्म पनि नहकुल नफर्किए पछि युधिष्ठिर चिन्तित भए र सहदेवलाई हेर्न पठाए । सहदेबलाई पनि त्यस्तै घटना भयो जस्तो नकुललाई भएको थियो । सहदेव पनि नफर्के पछि अर्जुन त्यो सरोबर नजिक गए । दुबै भाइहरु मृत भएको देखेर त्यसको कारण बारे सोच्दै अर्जुन पानी पिउन लम्किदा अर्जुनले पनि त्यस्तै बाणी सुने जस्तो नकुल र हसदेवले सुनेका थिए । अर्जुन कुपित (खुबै रिसाएर) भएर शब्दभेदी बाण चलाउन थाले तर त्यसको कुनै फल निस्केन । अर्जुनले पनि क्रोधमा आएर पानी पिए र किनारामा पुग्दा नपुग्दै मूर्छा परेर लडे । अर्जुन पनि नफर्किए पछि युधिष्ठिर अझ चिन्तित भएर भीमसेनलाई उनले दाजु भाइहरुको खोजीमा पठाए । भीमसेन छिटो छिटो जलाशय तर्फ दौडे । तीनै दाजु भाइलाई मृत देखेर उनले सोचे यो अबश्य कुनै राक्षसको करतुत हो । तर केही गर्नुभन्दा पहिला उनले पानी पिउन चाहे । यो सोचेर भीम जब सरोबरमा पुगे उनले पनि त्यही आवाज सुने । तर 'मलाई रोक्ने तिमी को हौ' भन्दै भीमसेनले पानी पिए । पिउने बित्तिकै उनी पनि उही प्राणहीन भएर ढले ।

चारै भाइ नफर्किए पछि युधिष्ठिर अत्यन्तै चिन्तित बने र तिनलाई खोज्न जलाशयतर्फ हिड्न थाले । निर्जन बनबाट गुज्रिदै युधिष्ठिर त्यसै बिषालु सरोबरको नजिक पुगे जुन सरोबरको जल पिएर उनका चारै भाइले प्राण गुमाएका थिए । तिनको मृत्युको कारण खोज्दै युधिष्ठिरले पनि पानी पिउनका लागि सरोबरमा उत्रन थाले । अनि उनले पनि त्यही आवाज सुने - 'सावधान त्रि्रा भाइहरुले मेरो कुरा नमानेर तलाऊको पानी पिए, यो तलाउ मेरो अधिनमा छ । मेरो प्रश्नको सही उत्तर दिएमा मात्र तिमीले यस तलाऊको पानी पिउन सक्छौ' । 

युधिष्ठिरले बुझिहाले कि यो कुनै यक्षले बोल्दै थिए, अनि उनले भने - 'तपाई प्रश्न गर्नुहोस् म उत्तर दिने कोशिश गरुला' ।
यक्षले प्रश्न गरे - मानिसलाई साथ कसले दिन्छ
युधिष्ठिरले भने - धैर्यले नै मानिसको साथ दिन्छ ।
यक्ष - यश लाभको एक मात्र उपाय के हो ?
युधिष्ठिर - दान 
यक्ष - हावाभन्दा छिट्टो के चल्दछ ?
युधिष्ठिर - मानिसको मन
यक्ष - बिदेशजानेहरुलाई केले साथ दिन्छ ?
युधिष्ठिर - बिद्या
यक्ष - केलाई त्यागेर मानिस प्रिय हुन जान्छ ? 
युधिष्ठिर - अहं भावबाट उत्पन्न गर्बलाई त्यागेपछि 
यक्ष - के कुरा गुम्दा या हराउँदा दुःख हुदैन ?
युधिष्ठिर - क्रोध 
यक्ष - के कुरालाई गुमाएर मानिस धनी बन्दछ ?
युधिष्ठिर - लोभ 
यक्ष - ब्राहृमण हुन के कुरामा निर्भर हुन्छ ?
जन्म, बिद्या, शीतल स्वाभाव
यक्ष - कुन एउटा मात्र उपाय हो जसले जीवन सुखी हुन्छ ?
युधिष्ठिर - राम्रो स्वभाव नै सुखी हुने एक मात्र उपाय हो ।
यक्ष - सर्बोत्तम लाभ के हो ?
युधिष्ठिर - आरोग्य 
यक्ष - धर्मभन्दा ठूलो संसारमा के छ ?
युधिष्ठिर - दया
यक्ष - कस्तो ब्यक्तिसँगको मित्रता पुरानो हुँदैन ?
युधिष्ठिर - सज्जन ब्यक्तिसँग गरिएको मित्रता पुरानो हुँदैन ।
यक्ष - यस जगतमा सबैभन्दा ठूलो आर्श्चर्य के हो 
युधिष्ठिर - दिनदिनै हजारौ लाखौं मानिस मर्छन् तर पनि सबैलाई अनन्त कालसम्म बाच्ने इच्छा हुन्छ । यसभन्दा ठूलो आश्चर्य अरु के नै हुनसक्छ र !

यसरी यक्षले कयौं प्रश्न गरे र युधिष्ठिरले ती सबै प्रनहरुको सही सही उत्तर दिए । अन्त्यमा यक्षले भने - राजन् म तपाईको मृत भाइरुमध्ये कुनै एकजनालाई मात्र जीवित तुल्याउन सक्छु, तपाई जसलाई चाहनु हुन्छ उ जीवित हुनेछ । 
युधिष्ठिरले यो कुरा सुनेर एक पल सोचे, फेरि भने - नहकुल जीवित होस् ।

युधिष्ठिरको यो कुरा सुन्नासाथ यक्ष उनका सामुमा प्रकट भयो र भन्यो - युधिष्ठिर ! दश हजार हात्ती जत्तिको बलशाली भीमलाई छोडेर तपाईले नहकुललाई जीवित तुल्याउन किन ठीक मान्नु भयो - भीम नभए तपाईले अर्जुनलाई जीवित तुल्याउन सक्नु हुन्थ्यो जसको युद्ध कौशलले सदा र्सबदा तपाईको हित हुँदै आएको छ ।

युधिष्ठिरले भने हे देब ! मानिसको रक्षा न त भीमबाट हुन्छ न अर्जुनबाट, धर्मले नै मानिसको रक्षा गर्दछ र धर्मबाट बिमुख हुँदा मानिसको नाश हुनजान्छ । मेरा पिताका दुइ पत्नीहरुमा कुन्ती माताको पुत्र म मात्रै बाँचेको छु र म चाहन्छु कि माद्री माताको पनि एउटै पुत्र जीवित रहोस् ।

'पक्षपात रहीत मेरा प्रिय पुत्र ! तिम्रा चारै भाइ जीवित होऊन ! यक्षले युधिष्ठिरलाई यो बरदान दिए । यी यक्ष अरु कोही नभएर स्वमय धर्मदेव थिए, उनैले हिरणको र यक्षको रुप धारण गरेका थिए । उनको इच्छा थियो कि उलने आफ्नो धर्म परायण पुत्र युधिष्ठिरलाई देखेर आफ्नो आँखा तृप्त गरौं । यसरी आरम्भ भएको थियो 'यक्ष प्रश्न' को इतिहास !      

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif