Tuesday, 15 October, 2019    |    २०७६ आश्विन २८ गते , मंगलवार

वार्षिक ४ अर्बको बीउ आयात, हाइब्रिडको माग बढ्यो


२०७६ असार १ गते , आईतवार प्रकाशित

कृषिप्रधान देश नेपालमा बर्सेनि कृषिजन्य खाद्यान्नदेखि बीउसम्म अर्बौं मूल्यबराबरको आयात भइरहेको छ । बीउ बीजन गुणस्तर नियन्त्रण केन्द्रका अनुसार पाँच वर्षको अवधिमा ११ अर्ब ४५ करोड रुपैयाँको बीउ आयात भएको छ ।

केन्द्रको तथ्यांकमा वर्षमा १ अर्बको बीउ आयात भएको पाइए पनि खुल्ला सीमानाका कारण अनधिकृत रुपमा भित्रिने समेत गर्दा वर्षमा करिब ४ अर्ब मूल्यभन्दा बढीको बीउ आयात केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार मकै, धान र तरकारीको हाइब्रिड बीउ आयात हुन्छ । बीउ भारत, चीन, थाइल्यान्ड, जापान, कोरियालगायत विभिन्न मुलुकबाट आयात हुन्छ । 

केन्द्रका बीउ विकास अधिकृत विकास खरेलका अनुसार विभिन्न मुलुकबाट बीउ आयात गर्ने बीउ बीजन गुणस्तर नियन्त्रण केन्द्र कम्पनी दर्ता गर्नुपर्ने हुन्छ ।

केन्द्रको तथ्यांकनुसार बीउ आयात गर्न ४० कम्पनी केन्द्रमा दर्ता भएका छन् । पछिल्लो समय किसानले स्थानीयभन्दा हाइब्रिड बीउको प्रयोग धेरै गर्ने भएकाले बर्सेनि बीउको आयात बढ्दै गएको हो । 

उन्नत बीउ उत्पादन गर्न धेरै समय लाग्ने हुँदा बाहिरबाट धेरै बीउ आयात गर्ने बाध्यता भएको बताउँछन् कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा युवकध्वज जीसी । स्वदेशीमा उन्नत बीउ उत्पादन गर्न फार्म कम भएकाले कृषकले उत्पादन बढाउन उन्नत बीउ खोज्ने भएकाले पनि बीउको आयात बढेको उनको भनाइ छ ।

सचिव जीसीले स्वदेशमा उन्नत बीउ उत्पादन गर्न प्रविधिक ज्ञान र सिपको कमीले गर्दा पनि बाहिरबाट उन्नत बीउ धेरै आयात हुने गरेको बताए । उनको भनाइनुसार पछिल्लो समय कृषिले हाइब्रिड बीउ प्रयोग गर्न हुँदा पनि आयात बढेको बताए । उनले नेपाललाई बीउ र खाद्यान्नमा आत्मनिर्भर बनाउ कृषिमा लगानी बढाउनुपर्ने आवश्यक बताए । 

‘हालसम्मको कुल बजेटको कृषि क्षेत्रका २ प्रतिशत मात्र छ, यसलाई बढाएर १० प्रतिशतसम्म पुर्याउनुपर्छ,’ सचिव जीसीले भने, ‘कृषिको उत्पादन बढाउन सिँचाइ सडक निर्माण र कृषकलाई विध्द्युतमा छुटको व्यवस्था हुनुपर्छ ।’ 

केन्द्रको तथ्यांकनुसार आर्थिक वर्ष २०७०/०७१ देखि २०७४/०७५ सम्ममा धान, मकै तरकारी र तोरीमा ११ अर्ब ४५ करोड १४ लाख २ हजार ८९ मूल्यबराबरको बीउ आयात भएको छ । पाँच वर्षको अवधिमा सबैभन्दा धेरै धानको आयात भएको छ । यस्तै, केन्द्रको तथ्यांकनुसार बर्सेनि धान, मकै तरकारीको आयात बढ्नेक्र जारी छ । 

यस्तै, पाँच वर्षको अवधिमा ८ अर्ब १२ करोड ६६ लाख ४५ हजार ७७४ रुपैयाँको धानको बीउ आयात भएको छ भने मकैको १ अर्ब ४८ करोड ६३ लाख ३ हजार ९३९ रुपैयाँको बीउ आयात भएको छ । यस्तै, तरकारीमा १ अर्ब ८३ करोड ८१ लाख ६२ हजार १२४ रुपैयाँको बीउ आयात भएको छ भने तोरीको २३ लाख ३० हजार २२५ रुपैयाँको आयात भएको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif