Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

सहकारी क्षेत्रलाई थप व्यवस्थित बनाएर लैजानु पर्छ


२०७६ जेष्ठ २८ गते , मंगलवार प्रकाशित

निश्चल सापकोटा
व्यवस्थापक, युवा साकोस, बनेपा

व्यापारिक नगरी बनेपामा रहेको युवा बचत तथा ऋण सहकारी संस्था लि.ले वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक, साँस्कृतिक, वातावरणिय संरक्षण जस्ता कार्यक्रममा पनि गर्दै आएको छ । एसियाली ऋण महासंघले सञ्चालन गर्ने एक्सेस ब्राण्डमा पनि सहभागि भएको यस संस्थाको व्यवस्थापकीय नेतृत्व युवा सहकारीकर्मी निश्चल सापकोटाले गरिरहेका छन्  । सहकारी गतिविधि, यस क्षेत्रका चुनौती, समाजमा सहकारीले खेलेको भूमिका लगायत विषयमा नेपालपत्रन्यूजका लागि व्यवस्थापक सापकोटासँग दीपक तिमल्सिनाले गरेको कुराकानी ः  

युवा साकोसका गतिविधिका बारेमा बताइदिनुस न ?  

२०५५ भाद्र १५ गते डिभिजन सहकारी कार्यालय काभ्रेमा विधिवत् दर्ता भई सञ्चालनमा आएको युवा बचत तथा ऋण सहकारी संस्थाले हालसम्म आफ्ना सदस्यहरूको हितलाई केन्द्रमा राखी विभिन्न किसिमका वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक, साँस्कृतिक, वातावरणीय संरक्षण लगायतका क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यसका साथै सदस्यहरूको क्षमता वृद्धि तथा उद्यमशीलता विकासका निम्ति विभिन्न किसिमका तालिमहरू पनि सञ्चालन गर्दै आएको छ ।     

सहकारीहरूको भीडमा युवा साकोसलाई कसरी चिनाउनुहुन्छ ?   सहकारीका सिद्धान्तलाई नै आत्मसात् गर्दै अघि बढिरहेको युवा बचत तथा ऋण सहकारी संस्था लि. छिटो, छरितो सदस्यलाई सेवा प्रदान गर्ने, सबैको विश्वासिलो, वित्तीय तथा आन्तरिक सुशासनलाई अबलम्बन गर्ने र सदस्यहरूबाट बचत संकलन गरी ऋण लगानी गर्ने मात्र नभई सामाजिक उत्तरदायित्वलाई पूरा गर्न पनि उत्तिकै अग्रसर हुने सहकारी हो र यही नै युवा साकोसको चिनारी पनि हो ।   

युवा उमेरमा व्यवस्थापकीय नेतृत्वमा हुनुहुन्छ, कस्तो अनुभव गरिरहनुभएको छ ?   यसलाई मैले एउटा सुनौलो अवसरका साथसाथै चुनौतिका रूपमा लिएको छु । हजारौँ सदस्यहरूसँग जोडिएको एउटा संस्थाको व्यवस्थापक जस्तो जिम्मेवार पदमा रही कार्य गर्न पाउनु मेरा लागि पक्कै पनि खुसीको कुरा हो । आफ्नो छुट्टै पहिचान बनाइसकेको स्थापित संस्था भएकाले व्यवस्थापकको रूपमा कार्य गर्न सहज महसुस गरिरहेको छु । यसका साथै संस्थालाई भोलिका दिनमा कुन दिशाबाट अघि बढाउने भन्ने जिम्मेवारी पनि आफैँमा आउने भएकाले संस्थाको आर्थिक वृद्धि, सदस्य सन्तुष्टि, आन्तरिक तथा वित्तीय सुशासन, कर्मचारी सन्टुष्टि जस्ता विषयलाई एकैसाथ लिएर जानुलाई मैले चुनौतिका रूपमा लिएको छु । एकल प्रयासमा यी सबै विषयमा उपलब्धी हासिल गर्न असहज हुने भएकाले कर्मचारी, सञ्चालक, सदस्य सबैको सामूहिक प्रयासबाट सफलता प्राप्त हुनेमा म विश्वस्त छु । कर्मचारी तथा सञ्चालक समितिको सकारात्मक सहयोग पनि प्राप्त भइरहेकाले लक्ष्य अनुसार अघि बढ्न सहज हुने विश्वास लिएको छु ।  

सहकारी नियमावली, २०७५ कार्यान्वयनमा आएको छ, यसलाई कसरी पालना गर्नुहुन्छ ?  

सहकारी नियमावली २०७५ ले देशभरका ३४ हजार सहकारीहरूमा वित्तीय अनुशासान कायम गराउनका लागि महत्वपूर्ण भूमिका खेल्नुका साथै ऐनले खाडा गरेका द्विविधाहरूको पनि निराकरण गर्नेछ भन्ने विश्वास मैले लिएको छु । जहाँसम्म युवा साकोसको कुरा छ मैले पहिले नै उल्लेख गरिसकेँ यो संस्था विगतदेखि नै वित्तीय तथा आन्तरिक सुशासनलाई कायम गरी, राज्यका कानुनहरूको परिपालना गरी अघि बढिरहेको संस्था भएकाले नियमावलीको पालनका लागि खासै समस्या म देख्दिन । एकीकृत सूचना प्रणाली, कार्यक्षेत्र, दोहोरो सदस्यता, एकीकरण लगायतका विषयमा राज्यले निर्देशन गरेअनुसार नै अघि बढिनेछ । नियमावलीले सहकारी क्षेत्रलाई व्यवस्थित बनाउने अपेक्षा गर्न सकिन्छ ।    

एक्सेस ब्राण्डिङ कार्यक्रममा सहभागि हुनुभएको छ, कत्तिको सहज अनुभव गरिरहनुभएको छ ?    

एक्सेस एसियाली ऋण महासंघले साकोसको गुणस्तर जाँच गरी साकोसहरूलाई दिइने स्तर अनुसारको प्रमाण चिन्ह हो । यसको मुख्य उद्देश्य भनेकै साकोसको स्तरोन्नति गर्न प्रेरित गर्नुका साथै साकोसमा आउन सक्ने जोखिमहरूबारे जानकारी दिने, जोखिमको विश्लेषण गर्न र ती जोखिमबाट साकोसलाई जोगाउन के–कस्ता उपाय अबलम्बन गर्न सकिन्छ भनी सिकाउने भएका कारण एक्सेस ब्रण्डिङ कार्यक्रमले साकोसको कार्य सम्पादनमा निकै सहज महसुस गरेका छौँ । एक्सेसका सूचकहरूलाई मापदण्ड अनुसार राख्नका लागि केही मिहिनेत भने अवश्य गर्नुपर्छ तर जुनसुकै कार्य गर्दा पनि एउटा नियममा बसेर ग¥यो भने त्यसले कामलाई व्यवस्थित बनाउँछ । यसले सदस्यहरूको संस्थाप्रतिको विश्वास वृद्धि गर्न पनि टेवा पु¥याउँछ । बजारमा हामीले सामान किन्दा ब्राण्डेड सामानलाई महत्व दिएजस्तै एक्सेसले पनि संस्थाको छुट्टै पहिचान स्थापित गराउन सहयोग गर्ने भएकाले यस कार्यक्रममा सहभागी हुनु कुनै पनि साकोसको लागि गर्वको कुरा हुन जान्छ ।   

संस्थाका आगामी योजनाहरू के–के छन् ?  

युवा साकोसको कार्यक्षेत्र जिल्लाभरि नै रहेको र कार्यक्षेत्र भित्रका धेरैभन्दा धेरै सदस्यहरूलाई सेवा दिने उद्देश्य अनुरूप जिल्लाका सबै स्थानीय तहमा सेवाकेन्द्र स्थापना गर्ने लक्ष्य संस्थाको रहेको छ । यसका साथै वित्तीय क्षेत्रमा नयाँ प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखी सदस्यलाई छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यमा युवा साकोस सधैँ अगाडि रहनेछ । विगतमा झैँ सामाजिक उत्तरदायित्वका कार्यहरूलाई पनि प्राथमिकता दिनुका साथै दीगो विकास लक्ष्य प्राप्ति तथा उद्यमशीलता विकासमा पनि संस्थाले कार्य गर्ने योजना बनाएको छ ।   

सहकारीमा गुणस्तरीयता कायम गर्न संख्यात्मक वृद्धिलाई रोकी एकिकरणतर्फ लाग्नुपर्छ भनिएको छ, यसलाई कसरी लिनुभएको छ ?  

यो विषयलाई मैले सकारात्मक रूपमा लिएको छु । सहकारी भनेको बैँक होइन र सहकारीको मुख्य उद्देश्य भनेको आफ्ना सदस्यहरूको आर्थिक समृद्धि नै हो । त्यसैले सहकारीका बिचमा कुनै प्रतिस्पर्धा हुनुपर्छ जस्तो मलाई लाग्दैन । अभियानलाई अघि बढाउन धेरैभन्दा धेरै सहकारी स्थापना गर्नुपर्ने पनि होइन । त्यसैले आवश्यकता हेरेर  भइरहेका सहकारीहरूसँग एकीकरण गरेर अघि बढ्न सकिन्छ र ठूला सहकारी र साना सहकारीका बिचमा मात्रै एकीकरण हुनुपर्छ भन्ने पनि होइन । कुल सम्पत्तिका हिसाबले दुई ठूला र स्थापित सहकारीका बिचमा पनि एकीकरण गर्न सकिन्छ, त्यो वातावरण हामीले नै बनाउनुपर्छ ।   

सहकारी भन्ने बित्तिकै समिति र पदमा रहने व्यक्तिले नै बढी सेवा, सुविधा उपभोग गर्छन भनिन्छ, यसमा तपाईको विश्लेषण ?  

यो कुरा विगतको समयमा सान्दर्भिक थियो होला तर हाल आएर यो समस्या धेरै हदसम्म समाधान भइसकेको छ । एकाध सहकारीले गलत बाटो नरोजेका पनि होइनन् जुन हामी समय–समयमा सुन्ने गरेका छौँ तर यसो भन्दैमा समग्र सहकारी अभियान नै खराब छ भनेर सोच्नु गलत हुन जान्छ । नेफ्स्कून, जिल्ला बचत संघजस्ता छाता संगठनको ‘स्कूलिङ’ का कारण पनि यस्ता समस्याहरू समाधान हुँदै गएको हामी पाउछौँ । जहाँसम्म युवा साकोसको कुरा छ संस्थाले प्रदान गर्ने सेवा सुविधाको विकेद्रिकरणका लागि नीतिगत रूपमा नै व्यवस्था गरी कार्य गर्दै आएका छौँ ।  

सहकारीमार्फत समाजमा रोजगारी सिर्जना गर्ने र आमस्तरमा रहेको गरिबीलाई न्युनिकरण गर्ने कस्तो योजना छ ?  

अबको बाटो भनेको समृद्धिको बाटो हो । जबसम्म आम नागरिकको आर्थिक समृद्धि हुँदैन तबसम्म समृद्धि नारामा मात्र सीमित हुन्छ । आर्थिक समृद्धि तब मात्र सम्भव छ जब सम्पूर्ण नागरिकले रोजगारी प्राप्त गर्छन् । अब रोजगारीका लागि सरकारको मात्र मुख ताकेर बस्ने अवस्था छैन । त्यसैले सहकारी मार्फत उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्ने बाटोमा हामी लागेका छौँ । यसका लागि उत्पादनशील क्षेत्रमा लगानी बढाउने नीति लिएका छौँ । सदस्यले प्रस्तुत गर्ने व्यवसायिक योजनाका आधारमा लगानी गरिरहेका छौँ । वित्तीय साक्षरताका कार्यक्रमलाई पनि साथसाथै अघि बढाएका छौँ ।  

राज्यले लागु गरेको सहकारी कर सम्बन्धी नीतिलाई कसरी लिनुहुन्छ ?  

सहकारी नाफामुलक संस्था होइन । संस्थाले प्राप्त गरेको आम्दानीलाई पनि सदस्यमै फिर्ता गर्ने संस्था सहकारी हो । सहकारी एउटा सामूहिक प्रयास हो । सहकारीले समग्र देशको आर्थिक समृद्धिका लागि गरेको योगदानलाई नकार्न सकिन्न । सहकारीले करिब १ लाखलाई प्रत्यक्ष रोजगारी र १० लाखको हाराहारीमा स्वरोजगारी सिर्जना गरेको छ । कुल गार्हस्थ उत्पादनमा ५ तथा वित्तीय क्षेत्रमा २० प्रतिशतभन्दा माथि योगदान गर्ने सहकारी क्षेत्रलाई मुनाफाको २० प्रतिशतसम्म कर लगाउनु कुनै अर्थमा न्यायसंगत थिएन । ढिलै भए पनि साकोसहरूका लागि ५ प्रतिशत कर निर्धारण गरेर राज्यले सराहनीय कार्य गरेको छ । यो कदम स्वागतयोग्य छ ।  

वित्तीय क्षेत्रमा प्रत्येक वर्ष देखिने तरलता अभावलाई कसरी व्यवस्थित गर्नुहुन्छ ?  

तरलता व्यवस्थापन वित्तीय कारोबार गर्ने सहकारीहरूको मुख्य चुनौति हो । संस्थामा यदि तरलता व्यवस्थापन हुन सकेन भने विस्वासको संकट पैदा हुन्छ । संस्थाको वित्तीय व्यवस्थापन गर्ने नीतिमा ध्यान पुगेन भने तरलतामा कमी आउन सक्छ । संस्थामा वित्तीय बजार अनुसार ब्याजदर कायम हुन सकेन अर्थात् बजारभन्दा कम दर कायम भयो भने संस्थामा भित्रिने बचत बाहिर जान्छ । त्यसैले यो समस्याबाट छुटकारा पाउनका लागि हामीले समय समयमा बाजार विश्लेषण गरी बचत तथा ऋणको ब्याजदर परिमार्जन गर्ने गरेका छौँ । यसका साथै हामीले पल्र्स अनुगमन प्रणालीलाई कडाइका साथ लागु गर्दै आएका छौँ । पल्र्स अनुगमन प्रणालीले कुनै पनि संस्थामा वित्तीय अनुशासन कायम गर्नका लागि कुल निक्षेपको १५ प्रतिशत तरल सम्पत्ती रहनुपर्दछ भनी तोकिदिएको छ । त्यसैले हामी १५ प्रतिशतभन्दा कम तरलता देखिने बित्तिकै लगानीमा नियन्त्रण राख्दै तरलता वृद्धिका विभिन्न उपाय अबलम्बन गरी अघि बढ्ने गरेका छौँ । कहिले काहीँ धेरै समस्यामा बाह्य ऋणको पनि साहरा लिने गरेका छौँ । यसका लागि जिल्ला बचत संघ, नेफ्स्कून लगायतका छाता संगठनको सहयोग लिने गरेका छौँ ।        

काभ्रेमा स्थानीय तह र सहकारी बीचको सहकार्य कस्तो छ ? कसरी सहकार्य गर्नुपर्छ ?  

स्थानीय तह विगतमा लामो समय जनप्रतिनिधि विहिन बन्यो । त्यतिबेला सहकारी र स्थानीय तहबिचमा सहकार्य भएको देखिँदैन । स्थानीय तहले जनप्रतिनिधि पाइसकेपछि पनि ठूलो परिवर्तन  देखिँदैन तर सुधारका संकेतहरू देखापरेका छन् । काभ्रेको हकमा पनि सोही अवस्था देखिन्छ । तर नेपालको संविधान २०७२ को धारा ५० को निर्देशक सिद्धान्तहरूको उपधारा ३ मा ‘सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकास मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ ।’ भन्ने कुरा उल्लेख छ । त्यसैले भोलिका दिनमा राज्यको एउटा अंग स्थानीय तह र समुदायको ऋणधन, उद्यम–व्यवसाय र समृद्धिसँग जोडिएका सहकारीले सहकार्य गर्दै अघि बढ्ने कुरामा आशावादी हुन सकिन्छ ।  

पछिल्लो समय राज्यद्वारा सहकारीको अनुगमन, निरीक्षण फितलो भयो भनिन्छ नि, के हो ?  

राज्य भनेको राज्यमा बसोबास गर्ने सम्पूर्ण नागरिकको अभिभावक हो । अभिभावकले आफ्नो संरक्षणमा रहेका सबैको हेरचाह गर्ने, निगरानी राख्ने कार्य गर्नुपर्छ । यसो गर्दा कसैले जानेर नजानेर कुनै गल्ती गरेको रहेछ भने पनि सच्चिने मौका पाउँछ । त्यसैले राज्यले समय–समयमा अनुगमन तथा निरिक्षण गरी सचेत बनाउने कार्य गर्नुपर्छ र यो कार्य पछिल्लो समयमा केही फितलो भएकै हो । अब नयाँ सहकारी ऐन तथा नियमावली आइसकेको र विभागले पनि सहकारी क्षेत्रका समस्यालाई न्यूनीकरण गर्दै जाने नीतिलाई प्राथमिकतामा राखेकाले सुधारको अपेक्षा राख्न सकिन्छ ।  

अन्त्यमा   

सहकारी मार्फत् समुदाय तथा राष्ट्रको आर्थिक समृद्धिका लागि खटिनुहुने सम्पूर्ण सहकारीकर्मीहरूलाई अभियानका आउँदा दिनहरूका लागि शुभकामना दिन चाहान्छु । सहकारी–सहकारीबिचमा सहकार्यको अभाव खट्किरहेको अवस्थामा सहकार्यमा विस्वास राख्ने हामीले ध्यान दिन जरुरी देख्दछु । यस कुरामा ध्यन दिनका लागि सम्पूर्ण सहकारीकर्मीहरूलाई अनुरोध गर्न चाहान्छु । दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने अन्तराष्ट्रिय सहकारी महासंघको नारालाई आत्मसात गरेको नेपालको सहकारी क्षेत्रले सो विषयलाई निरन्तरता दिन सकोस् भन्ने कामना पनि व्यक्त गर्दछु । मेरा विचारहरू समुदायमा पु¥याउने माध्यम बनिदिएकोमा ‘नेपालपत्र’ लाई विशेष धन्यवाद दिन चाहान्छु ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif