Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

चीन बिरोधी अमेरिकी धूरीमा नेपाल जान सक्तैन


२०७६ जेष्ठ २६ गते , आईतवार प्रकाशित


—शिब भटराई

चीन वास्तवमा चिन्नै नसकिने देश हो । यो आजको चीनको मात्र होइन – प्राचीन र मध्यकालीन चीनको पनि यै इतिहास हो र ह्वेन साङ्ग, फाइयान र इत्सिङ जस्ता बिख्यात चिनीयाँ यात्रीहरुको ‘ज्ञान पिपासु’ यात्रा बर्णनको चूरो कुरोले दर्शाएर हाम्रा अल्पज्ञानले देखेको मात्र कुरा होइन,– चीनको इतिहास,दर्शन, साहित्य, कलाले प्रष्ट्याकै कुरा हो । यो नेपाल र नेपालीको त भूगोलले मात्र होइन, कला सँस्कृति र आजको सन्दर्भमा पनि पञ्चशीलको राजनीतिक आदर्श र दर्शनले पनि निक्कै नजिक्याएको देश हो । यद्यपि हाम्रो अर्को छिमेकी भारत पनि जस्तो इतिहास, दर्शन, कला, सँस्कृति, धर्म र आदर्शलाई साथै गाँसेर अँगालेर – भूगोल, भाषा, र सुक्ष्म ब्यबस्थापनकै छायाँ – राजनीतिको प्रभामण्डल भित्र नेपाललाई भित्र्याउने प्रबृत्ति चीनको देखिदैन । तर पनि – बारम्बार – ‘एउटा चीनको नीति’मा नेपालको ‘चीन–नेपाल’सितको – भूराजनीतिले छर्लङ्ग पार्ने कुरा के पनि हो जस्तो लाग्दछ भने – नेपाल र चीनको आजको सन्दर्भमा भृकुटी र अरनिको अनि बुद्ध धर्मको ‘सारमा’होइन र मूलतः चीनलाई चिन्न चीनको बिकास र उसको सम्बृद्धिको बिस्तारलाई – हामीले हाम्रो हिमाल पारिको चीनको चासो र बुझाइलाई अलि गहिरिएर चिनाउनु पर्छ ।


निश्चय पनि अहिले पनि चिनीयाहरु हामीकहाँ – भारतेलीहरु जत्तिको देखिदैनन् तर चिनीयाँ उत्पादनहरुले भारतेली उत्पादनहरुले भन्दा धेरै लोकप्रियता पाएका छन् र सस्ता पनि छन् । तर परम्परागत आपसी सम्बन्धको गाँठो र आजको ब्यापार  सम्बन्धको गाँठोसित कहाँ तुलना गर्न सकिन्छ र ! शुभ–लाभको आधुनिक सिद्धान्तले राजनीतिक प्रभाविसित समेत नाता भंग गर्न तम्सेको – आजको बिश्व–अर्थ ब्यबस्थामा छाएको उदारिकरणले खुकुलिदो क्षीतिज भित्र कति अटाइन सकिन्छ त्यसो ब्यापक र सुक्ष्म बिश्लेषण नितान्त जरुरी छ । हो, हामीले चीनलाई चाहेजति पनि न चिनौला तर  चीनले हामीलाई नचिन्ला भन्न सकिन्न र चीनको चासोभित्र हामी कत्ति छौं त्यो हामीले बुझे जति मात्र भए पनि – त्यसबाट देश र जनतालाई बुझाउन सक्नु पर्दछ । 
   
आजको चीन – हिजोको चीन होइन, सामरिक शक्तिभन्दा शक्तिशाली – प्राबिधिक शक्ति र औद्योगिक उत्पानशील शक्तिले – बिश्व महाशक्तिमा दर्ता भइसकेको चीन हो । चीनको तिब्बतीय भू–भागसित जोडिएको हाम्रो उत्तरी भू–सीमाले हामीलाई जोडेका कारणबाट चीनले भारतसितको आफ्नो ‘सुरक्षा चासो’लाई – हाम्रो भूपरिबेष्ठिते अबस्थामा  भारतीय भयको मनोबिज्ञान हिनताबोधबाट केही टाढा राख्न भने खोजेको हुनै पर्छ । चीनलाई राम्ररी थाहा छ हामीबाट लिनु केही छैन । गएकै आर्थिक बर्षमा पनि हामीले चीनसित एक खर्ब साठी अर्बको सामान लिएर उसलाई दुइ अर्ब पच्चास करोडको सामान दिएको हो । चीनको भूमण्डलीय दृष्टिभित्र हाम्रो तीन करोडको जनसंख्या र भाषा सँस्कृतिसित जोडिएको भनिएको हाम्रो हिमाली भेगका पन्ध्र जिल्ला मात्र होे । यस परिप्रेक्षमा हामीले आफैलाई कति हेरेका छौं र कति बुझेका छौं – त्यो पनि चीनको चासो भित्र अबश्य परेको हुुनु पर्दछ । त्यसैले चीनलाई भाषणको भाषाबाट मात्र चिन्न सकिदैन । हो चीनले ल्याटिन अमेरिका, अफ्रिका र एशियाका अझ छिमेकी देशहरुको आर्थिक बिकासको क्षेत्रमा – सहयोग बिस्तार गरिरहेको छ । यदाकदा यस्ता बिस्तार प्रकृयामा ढिलो चाँडो हुनु स्वभाविक पनि हो र हाम्रो सन्दर्भमा हामीलाई कहिले अलि उत्साहित र कहिले खिन्न बनाउनु पनि त्यस्तै स्वभाविक हो । 

समयसित पछि परेको उहिलेको चीन र समयलाई उछिन्दै अगाडि बढिरहेको अहिलेको चीनलाई हामीले चिन्न जति ढिलो गर्छौ त्यत्ति नै हामी पछि पर्ने पनि निश्चित छ । भारतीय नाकाबन्दीले आँखा खोलेको कुरा गरे पनि अझै आँखा देख्न बाँकी भएको कुरा पनि हामीले स्वीकार्नु पर्छ र यो वीकारोक्ति चीन र भारत दुबैतिर दुबैपक्षीय हुनु पर्दछ । भारतको नाकाबन्दी आर्थिक कारणले नभएर राजनीतिक कारणले भएको कुरा प्रष्टै छ र हामीले चीनसित चिनिएर पनि लाभ लिन नसकेर पछुताउनु परेको कारण स्पष्टै छ । शायद हाम्रो सरकारले त्यस समयको पीडाबोधबाट पनि चीनलाई सम्बृद्ध देशको भावी चिना बनाउनेतिर भन्दा दुइ छिमेकी देश बीचबाट लाभ लिने जस्तो गरियो र यसबाट नेपाल लाभान्बित भएको केही थाहा पाइएन  । मोदी सरकारको भारतले गरेको नाकाबन्दीले हामीलाई चीनसित पारबहन सन्धि गराउने दिशामा अघि बढायो र नेपालले त्यस सन्धि मार्फत भारतसित जस्तै पारबहन सुबिधा पायो । यसरी ‘भारत बेष्टित’ देशबाट मुक्ति पायो तर लाभ हानीको ‘गणित’ भने हाम्रो आफ्नै क्षमता र कुशलतामा निर्भर हुने भएकाले अझै केही समय पर्खनै पर्ने छ । 
 
निश्चय नै उत्तरी छिमेकी चीनसितको ब्यापार र पारबहन सम्झौता भारतसितको जस्तो बाध्यताको परिणाम होइन र सहजता र स्वभाविकताको उपज मात्र हो । यै पृष्ठभूमिमा चीनको महत्वाकांक्षीय योजना – बी.आर. आई. – मा हाम्रो संलग्नताले हामी के कति लाभान्बित हुन सक्छौ त्यसको पनि सुक्ष्म अध्ययन र बिश्लेषण हुनु पर्छ । हुन त भर्खरै पारबहन एबं परिबहन प्रोटोकलमा हस्ताक्षर पनि भइसकेको छ । यो हस्ताक्षर पछि औपचारिकरुपमा नेपालले चीनसित र चीनको समुद्री, सडक र आकाश मार्गको बाटो खुलेको छ र यति मात्र होइन, अब नेपालले चीनको बाटो उपयोग गरी अरु देशहरुसँग ब्यापार गर्न पनि पाउने भएको छ । यो सम्झौता भने चीनसित चिनिएपछिको हामीले प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण चिनारी सहीतको कोशेली हो । अब भारतसितकाको पारबहन सम्झौताबाट भोगेका र भोग्नु परेका अनुभवसहीत तुलना गरेर चीनसितको यो सन्धिलाई हामीले हाम्रो र चीन बीचको राष्ट्रिय स्वार्थ एवं अरु राष्ट्रहरुसितको मित्रता समेतलाई अहित नहुने गरी कार्यान्वयन र यसबाट दुबै देश लभान्बित हुनु पर्दछ । यो सम्झौताले हामी दुबै देश अर्थात् नेपाल र चीन बीच सहकार्य गर्न मञ्जुर भएको भन्ने कुरालाई दर्शाएको छ । तर हामीसित हाम्रो सबैभन्दा ठूलो कमजोरी हाम्रो आफ्नै पूर्बाधारको अबिकतिस अबस्था हो । यो सम्झौताबाट चाहेजति लाभान्बित हुन नसक्ने अबस्थाप्रति पनि हामीले ध्यान दिनु अत्यावश्यक छ  । अहिले चीनसितको ब्यापार नाकाकारुपमा प्रचलित ‘खाशा’ र ‘केरुङ्ग’सम्मको सडक पूर्बाधार पनि आवश्यकता अनुरुप बिकसित छैन । चर्चामा आएको चीनको सिगात्से र नेपालको केरुङ्गसम्मको सडक क्षमता पनि पर्याप्त हुन सकेको छैन । रेलसित सिगात्से र केरुङ्ग जोडिने कहिले हो चीनलाई मात्र थाहा होला । केरुङ्ग–काठमाण्डौ रेल मार्ग भनेको अहिलेको कुरा नभएर लगभग १० बर्षजति पछिको कुरा भयो भने पनि हामीले अहोभाग्य मान्नु पर्छ ।  यसको लागि चीनको बी.आर.आई. भित्र परेर नेपालले तत्परतासाथ अगाडि बढ्नु पर्छ । अनि मात्र नेपालमा चिनीयाँ रेलले सिट्टी बजाउन सक्छ ।

       
चीनसित चीनले नै अरु देशसित जस्तै प्रस्ताब गरेको बी.आर.आई. योजना बारे हामीले बुझ्नुपर्ने कुरा के पनि हो भने – हामी छिमेकी भए पनि चीनद्वारा प्रक्षेपित यो योजनामा हामी कहाँनिर छौं त्यसको पनि हामीले ख्याल गर्नै पर्ने हुन्छ । कारण चीनको परराष्ट्र नीतिको क्षीतिज धेरै ठूलो छ र उसको राष्ट्रिय स्वार्थ पनि धेरै ठूलो हुने नै भयो । त्यही अनुसार उसको बी.आर. आई.को प्रक्षेपण पुरानो रेशम मार्ग — शिल्क रोड — को जगमा मात्र उभ्भिने हुने छैन । भूगोलले हाम्रो ठाउ दक्षिण एशियाको हिमाली छायामा तोकेको छ र भारतको टाउकोमा ।  यो कुरा चीनले बुझेर नै नेपाल, भारतसितको आफ्नो सम्वन्धको कुराकानी गर्दा नेपाल ‘प्लस’को प्रसंग पनि उठाउने गरेको हो । कुरा सबैले बुझेकै हो चीनले नेपाललाई बी.आर.आई. सम्झौतामा सहमत गराए पनि चीनले भारतको सकारात्मक आशयको प्रतिक्षा गरिरहेको बुझिन्छ र हालै भएको चीन–नेपाल ब्यापार र पारबहन सम्झौताको बारेमा समेत गृह कार्य गर्न नेपालले तत्परता नदेखाउनुको रहस्य यहीं कतै हुन सक्तछ । तर पनि – चीन बिरोधी अमेरिकी धूरीका एशियाली सम्बाहक – जापान र भारतको काखमा भने नेपाल जान सक्दैन र यो सत्यको परिप्रेक्षमा चीनले पनि – नेपाललाई राम्ररी चिन्नु पर्दछ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif