Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

पानस साकोसको आयोजना सीपमूलक तालिम


२०७६ जेष्ठ २६ गते , आईतवार प्रकाशित

पानस बचत तथा ऋण सहकारी संस्थाले एक दिने चुरापोते बनाउने तालिम सञ्चालन गरेको छ । संस्थाको महिला उपसमितिको आयोजनामा भएको कार्यक्रममा प्रशिक्षक शर्मिला श्रेष्ठले सहभागी महिला सदस्यहरुलाई तालिम प्रदान गरेकी थिइन् । 

महिला उपसमिति संयोजक राजेश्वरी कायस्थको सभापतित्वमा सम्पन्न तालिममा ३३ जनाको सहभागिता रहेको थियो । महिला सदस्यहरुको सीप विकास कार्यक्रम अन्तर्गत तालिम आयोजना गरिएको संस्थाका प्रबन्धक रोशन मानन्धरले जानकारी दिए । 

त्यसैगरी संस्थाले निकट भविष्यमा दुबोको माला र सुपारी सजाउने तालिम आयोजना गर्ने तयारी गरेको उनले जनाए । नेवारी समुदायले विभिन्न चाडवाड मनाउने गरेको र ती चाडपर्वलाई लक्षित गरी सदस्यहरुलाई विभिन्न प्रकारका मिठाइ बनाउने तालिम सञ्चालन गर्ने योजना रहेको पनि उनले बताए । 

बनेपा नगरपालिका वडा नं ८ मा रहेको उक्त संस्थाको शेयरपूँजी ७२ लाख ५६ हजार, बचत संकलन ६ करोड ४५ लाख र ऋण लगानी ६ करोड २४ लाख रहेको छ । संस्थामा हाल १९८८ शेयर सदस्य र १३२ बाल बचतकर्ता रहेका छन् । संस्थाले व्यापार व्यवसाय, कृषि, हायरपर्चेज, आवास निर्माण लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । बचत ऋणका अलावा संस्थाले आइएमई, हिमाल र प्रभु रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । 



संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गर्दै आएको र निकट भविष्यमा स्वास्थ्य शिविर एवं स्वास्थ्य जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने उनले बताए । 

संस्थाले पानस अनिवार्य बचत कार्यक्रममा सहभागि हुने सदस्यहरुलाई विशेष सुविधा दिँदै आएको छ । जस अन्तर्गत महिला सदस्यहरुलाई २ पटकसम्म सुत्केरी खर्च वापत २ हजार, सदस्यको मृत्यु हुँदा राहतकोषमार्फत परिवारलाई ५ हजार तथा बाल बचतकर्तालाई जन्मदिनको अवसरमा बर्थ डे केक प्रदान गर्ने गरेको छ । यस योजनामा न्यूनतम ५० रुपैया देखि अधिकतम एक हजार रुपैयासम्म बचत गर्न सकिन्छ । 

आगामी आर्थिक वर्षदेखि संस्थाले बाल बचतकर्ताको उमेर समुह र ग्रेड अनुसार चित्रकला प्रतियोगिता गर्ने भएको छ । उनीहरुमा भएको कलालाई प्रष्फुटन गराउने उद्देश्यकासाथ यो कार्यक्रम गर्न लागिएको हो । नाफालाई भन्दा पनि सेवालाई विशेष प्राथमिकतामा राखेर अगाडि बढेको पानस साकोसले बालबालिकालाई संग्रहालय भ्रमण र ज्येष्ठ सदस्यहरुलाई तीर्थाटन गराउने जस्ता योजना पनि बनाएको छ । 

सदस्य र समुदायलाई फरकफरक सेवा दिएर समाजमा छुट्टै पहिचान बनाउने उद्देश्य संस्थाको रहेको मानन्धर बताउँछन् ।
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif