Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

बहुउद्देश्यीय सहकारीलाई कारोबारमा थ्रेसहोल्ड मान्य छैन


२०७६ जेष्ठ २० गते , सोमवार प्रकाशित

मनोज थापा मगर
अध्यक्ष, काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.


काठमाण्डौ जिल्ला बहुउद्देश्यीय सहकारी संघको हालै सम्पन्न साधारणसभाबाट मनोज थापा मगर अध्यक्ष पदमा निर्वाचित भएका छन् । जिल्ला भएका सबै बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई संघमा आवद्ध गराई देशकै एउटा नमूना योग्य संघको रुपमा काठमाण्डौलाई स्थापित गर्ने उनको योजना छ । बहुउद्देश्यीय सहकारीहरुलाई ऐनले थ्रेसहोल्ड लगाएकोप्रति आपत्ति जनाउँदै उनले कुनै पनि क्षेत्रमा थ्रेसहोल्ड लगाउन नहुने जिकिर गरे । बचतऋणको कारोबार बाट नै पूँजी निर्माण हुने र पूँजी निर्माण भएपछि बहुउद्देश्यीय संस्थाहरु स्वतः उत्पादनतर्फ लाग्ने उनी बताउँछन् । सहकारी अभियानका विविध विषयमा अध्यक्ष थापासँग गरिएको कुराकानीः 

समग्र बहुउद्देश्यीय सहकारी संस्थाको विकास र प्रवर्द्धनमा संघ कसरी लाग्छ ? 

  सहकारीको इतिहास लामो हुँदा हुँदै पनि सहकारी अभियानले मुलुकको समग्र आर्थिक सामाजिक रुपान्तरण सोचे अनुरुपको योगदान गर्न सकिराखेको छैन । संख्यात्मक हिसाबले सहकारीको संख्या धेरै भएपनि गुणात्मक हिसाबले सहकारी अभियान अझैपनि कमजोर छ । अधिकांश सहकारीहरु वित्तीय कारोबारमा नै केन्द्रित छन् । यसले गर्दा सहकारीले उत्पादन, रोजगार वृद्धि  र बजारीकरण जस्ता क्षत्रेमा पर्याप्त काम गर्न सकिराखेको छैन । यस्तो अवस्थामा बहुउद्देश्यीय संघले आगामी दिनमा संस्थाहरुलाई कसरी उत्पादनमा केन्द्रित गर्ने, रोजगारी सृजना गर्ने र व्यवसायिक बनाउने भन्नेमा नै हामी केन्द्रित रहन्छौ । 

प्रारम्भिक संस्थाहरुलाई सबल बनाउन शिक्षा, सूचना र तालिमको क्षेत्रमा संघ कसरी अगाडि बढ्छ ? 

अहिले हामीले ३ वटा कुरालाई प्राथमिकतामा राखेका छौं । पहिलो कुरा सदस्य संस्थालाई प्रोटेक्सन गर्ने रहेको छ । त्यसको मतलब संस्थाहरुलाई सुशासित, स्वशासित र सबल कसरी बनाउने भन्ने रहेको छ । यी कुरा भए सदस्य संस्थाहरु  आफैंले आफ्नो प्रोटेक्सन गर्छन् । दोश्रो कुरा प्रवद्र्धन गर्ने रहेको छ । बचतऋणको कारोबार हाम्रो नैसर्गिक अधिकार हो । यो बिना पूँजी निर्माण सम्भव हुँदैन । त्यो बाहेक ऐनले बहुउद्देश्यीय सहकारीलाई उत्पादनमा जान निर्देशन दिएको छ । यसका लागि देशभर रहेका बहुउद्देश्यीय सहकारीलाई सन्देश दिन सक्ने गरी बिजनेस परियोजना तयार गर्ने, सदस्य संस्थासँग अन्तरक्रिया गर्ने, राष्ट्रिय स्तरको सम्मेलन गर्ने, प्रदेश स्तरको सम्मेलनको लागि सहजीकरण गर्ने जस्ता योजना छन् । हामी देशको केन्द्रिय राजधानीमा छौं । यहाँ बसेर काम गर्दा राम्रो कुरा र नराम्रो कुराको  छिटो सन्देश प्रवाह हुन्छ । तसर्थ हामीले गरेको गतिविधिले देशभरिका बहुउद्देश्यीय सहकारीलाई प्रोत्साहन मिल्छ । यसतर्फ नै हाम्रो ध्यान केन्द्रित हुन्छ । 

काठमाण्डौमा भएका सबै बहुउद्देश्यीय सहकारी संस्थालाई संघमा आवद्ध गराउन तपाईंको पहल के हुन्छ ?

बहुउद्देश्यीयहरुको केन्द्रिय संघ छ । तर उसले पनि फेडरेशनको पूर्ण नमूना दिन सकिराखेको छैन । यसले हामीलाई पीडा पनि छ । काठमाण्डौ बहुउद्देश्यीय सहकारी संघ राजधानीमा भएको हुनाले राज्यको सबै प्रकारका श्रोतसाधन यहि छ । अब केहि गर्नुपर्छ भन्ने भावना हामी सञ्चालकहरुमा परेको छ । काठमाण्डौमा ५३१ बहुउद्देश्यीय सहकारी संस्था छन् । ती सबै संस्थालाई छिटोभन्दा छिटो संघमा आवद्ध गाराउने हो । अहिले संघिय संरचना अनुसार सहकारीहरु स्थानीय तह, प्रदेश र संघमा हस्तान्तरण भएका छन् । काठमाण्डौ महानगरपालिका र नगरपालिका भित्र रहेका सबै संस्थालाई सूचीकृत गरेर नगरपालिका स्तरिय समन्वय समिति बनाएर अघि बढ्ने तयारी हाम्रो छ । बहुउद्देश्यीय सहकारी संघले केहि गरेको छ भन्ने हिसाबले हामी काम गर्छौं । काठमाण्डौ बहुउद्देश्यीय संघले प्रदेश संघ गठन, केन्द्रिय संघलाई सबल बनाउने र राष्ट्रिय सहकारी महासंघमा नेतृत्व चयन गर्न समेत भूमिका खेल्छ । 

सहकारी ऐन २०७४ ले बहुउद्देश्यीय सहकारीलाई ७० र ३० प्रतिशतको थ्रेसहोलड तोकेको छ नि ? 

थ्रेसहोल्ड भनेको कहिँ राख्नु हुँदैन । यो सिण्डिकेटको एउटा उदाहरण हो । यसमा ग्राण्ड डिजाइन छ । कोही यसमा हात धोएर लागि परेको छ । यसको लागि हामीले आवाज पनि उठाइरहेको छौं । ऐन संशोधन गरेर मुख्य कारोबार भन्ने जुन क्लज राखेको छ त्यसलाई नै अविलम्ब हटाउनु पर्छ भन्ने हाम्रो माग छ । यसको लागि हामी आन्दोलन पनि गर्न तयार छौं । बहुउद्देश्यीयलाई बचतऋणको मात्र कारोबार गर्यो भन्ने आरोप छ । हामीलाई थ्रेसहोल्ड राख्नुभन्दा बहुउद्देश्यीयले यस्ता–यस्ता परियोजना सञ्चालन गर भन्नुपथ्र्यो । राज्यले मुलुकमा व्यवसायिक बातावरण बनाउन सकेको छैन । व्यवसाय गरिराखेकाहरुलाई कसरी बाँच्ने भन्ने समस्या छ । जनताको बचतलाई ल्याएर जबर्जस्ती व्यवसाय गर्ने निहुँमा डुबाइदिन त मिलेन नि । भोली भयावह अवस्था आयो राज्यले यसको जिम्मा लिँदैन । नेपालमा अहिले पनि ठूला व्यवसायी १/२ दर्जनको संख्यामा होलान् । तिनले नै देशभरको अर्थतन्त्रलाई होल्ड गरिराखेको छन् । साना व्यवसायीहरु डुबिराखेका छन् । हामीले जनताको पैसा जम्मा गरेर ऐनलाई पालना गर्ने निहुँमा जबर्जस्ती व्यवसाय गर्दा पौडी खेल्न नजानेको मानिस समुन्द्रमा पस्नु सरह हुन्छ । यसको मतलब हाम्रो व्यवसाय डुब्यो भने त्यसको प्रत्याभूति कसले गर्ने ? त्यसको ग्यारेन्टी छैन । दुर्घटना हामी मोल्न चाहँदैनौं । यो बुँदा अविलम्ब संशोधन गर्नुपर्छ भन्ने हाम्रो माग छ । सहकारी भन्ने वित्तिकै बचत अनिवार्य जोडिएर आउँछ ।  बचत भनेको पूँजी निर्माणको आधार हो ।

सहकारीले गरिखाने वर्गलाई लक्षित गर्छ । गरिखाने वर्गले बचेको ससानो रकम बचत गर्ने हो । सहकारीले त्यहि ससानो रकम बचतको रुपमा लिन्छ । सहकारीका सदस्यमा एकैचोटी ८/१० करोड लगानी गर्न सक्ने क्षमता  हुँदैन । त्यो रकम लगानी गर्न सक्ने व्यक्ति बैंकको प्रमोटर भएर बसेका छन् । सहकारीले सानासानो पूँजीलाई संकलन गर्ने हुँदा दैनिक रुपमा बचत संकलन गर्नुपर्ने हुन्छ । त्यहि बचतलाई हामीले पूँजीमा रुपान्तरण गर्ने हो र व्यापार व्यवसायमा लगानी गर्ने हो । बहुउद्देश्यीयलाई बचत संकलन नगर भन्नु भनेको हामीलाई घाँटी निमोठ्नु सरह हो । सहकारी ऐन २०४८ मा व्यवसाय गर्ने व्यवस्था नै थिएन । त्यतिखेर हामीलाई व्यवसाय गर भन्नु भनेको हात बाँधेर पौडी खेल भनेको सरह हो । त्यति खेरै अहिलेको जस्तो व्यवस्था भएको भए धेरै बहुउद्देश्यीय सहकारी संस्थाले व्यवसाय र उत्पादनमा नेतृत्व गरिसकेका हुन्थे । मुलुकमा व्यवसाको घेरा साँघुरो छ कहाँ लगानी गर्ने । हामी ठूलो उद्योगमा लगानी गर्न सक्दैनौं । हामीसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमता छैन । यसले गर्दा थ्रेसहोल्डमा हाम्रो विरोध छ । 

बहुउद्देश्यीय सहकारीको चुनौती र सम्भावना दुवै छन् । अबको बाटो के हुन सक्छ ? 

सहकारीको फिलोसोफी भनेको आर्थिक क्रान्तिको मेरुदण्ड हो । हाम्रो जस्तो भूपरिवेष्ठित देशमा सबै कुरा आफैले गर्न सम्भव छैन । हरेक वर्षको बजेट बनाउँदा विदेशी सहायतालाई समेत आधार बनाएर बनाइएको हुन्छ । यस्तो देशमा  जिवनस्तर माथि उकास्ने एउटै मात्र आधार भनेको सहकारी हो । सहकारीले खुलेर काम गर्ने मौका हिजोको ऐनले पनि दिएको थिएन र आज पनि दिएको छैन । बहुउद्देश्यीय सहकारीहरुको हकमा हामी उत्पादनमूलक क्षेत्रमा जान चाहन्छौं । बजारीकरण गर्न चाहिरहेका छौं । उपभोक्ता चेनलाई व्यवस्थित गर्न चाहन्छौं । त्यसको लागि हामीलाई पूँजी चाहिन्छ । बचतऋणको कारोबारमा हामीलाई बन्देज लगाउन पाईंदैन । मापदण्डहरु बनाएर हामीलाई उत्पादनमा जान प्रोत्साहन गर्नुप¥यो । स्वतन्त्र रुपमा बचत संकलन र पूँजी निर्माण गर्न हामीले पाउनुपर्छ । त्यसपछि हामी उत्पादनमा जान तयार छौं । बचतऋणको मात्रै कारोबार गर्नुपनि धेरै खतरा छ । कोर बैंकिङको काम सहकारीको होइन । बचतऋण सहकारीले पनि बचतऋणको मात्रै कारोबार गर्ने होइन । उहाँहरु पनि उत्पादनमा लाग्नुप¥यो । कृषि गर्नुप¥यो । बाफिया अन्तरगत चलिरहेका बैंकहरुलाई पनि प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न सीमा तोकिदिएको छ । कृषि, पर्यटन, उर्जा जस्ता क्षेत्रमा कुल लगानीको २५ प्रतिशत लगानी गर्ने व्यवस्था गरेको छ । बचतऋण सहकारी पनि त्यसतर्फ जानैपर्छ । बहुउद्देश्यीयलाई मात्रै बाध्यकारी बनाउनु हुँदैन । 

विशिष्टिकृत संघ खोलेर काम गर्न सक्ने व्यवस्था नियमावलीले गरेको छ नि ?

यो सकारात्मक पक्ष हो । यसका लागि मापदण्डहरु बनाउन बाँकी छ । अझ यसलाई स्पष्ट रुपमा परिभाषित गरिसकेको अवस्था छैन । विशिष्टिकृत संघ खोल्ने विषयमा गृहकार्य भइराखेको छ । नियमावलीले स्पष्ट गर्न नसकेकाले मापदण्डहरु स्पष्ट भएर आओस् भन्ने माग हाम्रो छ । 

अन्त्यमा 

सहकारी विशिष्ट खालको आइडिओलोजीले चलेको अभियान हो । यो अभियानले राम्रोसँग काम ग¥यो भने समाज रुपान्तरण सम्भव छ । राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कुन, केन्द्रिय बहुउद्देश्यीय सहकारी संघ लगायतका २० वटा केन्द्रिय संघ छन् । सहकारीबीचको सहकार्य भन्ने सहकारीको सातमध्ये एक सिद्धान्त हो । त्यो सिद्धान्तको राम्रो प्रयोग भइराखेको छैन । सबैभन्दा पहिलो कुरा, सहकारी बीच सहकार्य हुन आवश्यक छ र सबै केन्द्रिय संघको साझा बुझाई हुनुपर्छ । विषयले हामी आ–आफ्नो विधामा होऔंला । तर एकले अर्कालाई होच्याउने, अस्तित्वलाई नस्वीकार्ने परिपाटी छ । यसको अन्त्य गर्नुपर्छ र एकले अर्कालाई सहयोग गर्नुपर्छ । यस्तो बातावरण बनोस् भन्ने हाम्रो चाहना छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif