Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

बचतऋण बाहेकका संस्थालाई कर छुटबाट बञ्चित गरिनु षड्यन्त्रमूलक


२०७६ जेष्ठ २ गते , विहीवार प्रकाशित

नेफ्स्कुनसम्वद्ध नेतृत्वको गलत रवैयाका कारण बचत ऋण सहकारी संस्था बाहेकका सहकारीले करमा छुट पाउन नसकेको आरोप एक कार्यक्रमका वक्ताहरुले लगाएका छन् । सहकारी ऐन २०७४ मा सम्पूर्ण प्रकृतिका सहकारीहरुलाई कर छुट दिन उल्लेख भएपनि आयकर ऐन २०५८ लाई संशोधन गर्दा बचत तथा ऋण सहकारीलाई मात्र करमा छुटको उल्लेख गरिनु षड्यन्त्रमूलक भएको आरोप उनीहरुको थियो । 

बहुउद्देश्यीय सहकारी संघ ललितपुरको आयोजनामा आज आयोजित सहकारी ऐन र  नियमावली कर छुट विषयक अन्तक्र्रिया कार्यक्रमका कतिपय वक्ताले बचतऋण सहकारीलाई काखी च्यापेर र बहुउद्देश्यीय लगायत अन्य प्रकृतिका संस्थालाई राज्यले सौतेलो व्यवहार गरेको गुनासो गरे । 

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव प्रसाद बडालले अभियानले पहल गर्दागर्दै पनि कतिपय बुँदाहरु ऐन संसोधनको क्रममा चाहेजस्तो नआएको तर नियतवश त्यस्तो काम गरिएको रुपमा बुझ्न नहुने औंल्याए । “सहकारी महासंघले सकेसम्म प्रयत्न गर्ने हो, मैले पनि कोशिस गरेँ, तर डिक्टेट नै न गराउन सकिँदैन,” उनले भने “सहकारी अभियानले पनि एकैचोटि आफूले चाहेकै कुरा प्राप्त गर्छ भन्ने छैन । अहिले ऐनमा भएका व्यवस्था पालन गर्दै जानुपर्छ, थपको लागि लबिइङ पनि गर्ने हो ।” सहकारी संस्था सामाजिक व्यवसाय भएकाले मुनाफामा मात्र केन्द्रित नभई मुल्य, मान्यता र सिद्धान्तमा चल्नुपर्नेमा उनको जोड थियो । 

आइसिएकी ग्लोबल प्रतिनिधि एवं राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्लले महासंघमा एउटा निर्णय हुने तर एक्लाएक्लै गएर मन्त्रालयमा कान फुक्ने प्रवृत्तिले समस्या निम्त्याएको उल्लेख गरिन् । सिंगो सहकारी अभियान एक ढिक्का भएर अघि बढे अभियानले चाहेको कुरा प्राप्त गर्न सक्ने उनले उल्लेख गरिन् ।  



बहुउद्देश्यीय केन्द्रिय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारी अभियानलाई फुटाएर धराशायी बनाउने तत्व सक्रिय रहेको उल्लेख गरे । महासंघबाट आधिकारिक रुपमा एकखालको एजेण्डा मन्त्रलायमा पठाइएको तर झुण्डझुण्ड गएर एकएक शब्द काट्नेथप्ने क्रियाकलापले सहकारी अभियान ठगिएको उनको ठहर थियो । “ऐन कानुन बनाउँदा समग्रलाई हेरेर बनाउनु पर्ने हो तर निश्चित संस्था र व्यक्तिलाई कसरी सिध्याउने भन्ने टार्गेट गरेर बनाइयो,” उनले भने । 

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले राज्यको बहुउद्देश्यीय संघलाई हेर्ने दृष्टिकोण नै सकारात्मक नभएको बताए । अभियान नेतृत्वले दह«ो गरी खुट्टा टेक्न नसकेको उनको आरोप थियो । प्रारम्भिक संस्थाको हितरक्षाको कार्य गर्नु नेतृत्वको दायित्व भएको उनको भनाई थियो । “नेतृत्व पनि गर्ने अनि मैले सकिँन पनि भन्ने । त्यसो हो भने ठाउँ खाली गर्नुस्,” उनले रोष प्रकट गरे । 

कार्यक्रममा कर सम्बन्धी विभिन्न व्यवस्था र सहकारीहरुले पालना गर्नुपर्ने विषयवस्तुका बारेमा राष्ट्रिय सहकारी बैंकका सीइओ बद्री गुरागाईंले प्रस्तुति दिएका थिए । सहकारी ऐन र नियमावली एवं आयकर ऐनमा भएका व्यवस्था अनुसार तिर्नुपर्ने कर र छुटका विषयमा उनले उपस्थित सबैलाई स्पष्ट पारेका थिए । 

अन्तक्र्रियामा सहभागि विभिन्न बहुउद्देश्यीय जिल्ला संघ र प्रारम्भिक संस्थाका प्रतिनिधिहरुले आफूहरु माथि अन्याय भएको केन्द्रिय संघ र राष्ट्रिय सहकारी महासंघका पदाधिकारीहरुलाई यस विषयमा गम्भीर पहल गर्न सुझाएका थिए । 

बहुउद्देश्यीय सहकारी संघ ललितपुरका अध्यक्ष शरदकुमार महर्जनको सभापतित्वमा आयोजित सभामा उपाध्यक्ष किशोर महर्जनले स्वागत मन्तब्य राखेका थिए ।   


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif