Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

आफ्नै घाँटी निचोरिँदैछ सहँदै त्यो देशमा बस्छु म


२०७६ बैशाख ३१ गते , मंगलवार प्रकाशित

 
इन्द्रनारायण सुबेदी 
(सार्दुलबिक्रिडित)

हत्याको प्रतिकार गर्न नहुने त्यो देशमा बस्छु म।
भ्रष्टाचार पबित्र धर्म रहने त्यो देशमा बस्छु म।
चेली लुट्न खुला छ कानुन जहाँ त्यो देशमा बस्छु म।
झोले शासकको छ इज्जत जहाँ त्यो देशमा बस्छु म।१।

स्वेच्छाचार र लुटपाट छ जहाँ त्यो देशमा बस्छु म।
लत्रेको शिर स्वाभिमान नहुँदा त्यो देशमा बस्छु म।
बेकामे छु सदैब बेइलमको त्यो देशमा बस्छु म।
खाई घूस अतृप्त मात्र रहने त्यो देशमा बस्छु म।२।

सीमा घट्छ सहेर बेखबर भै त्यो देशमा बस्छु म।
लाचारी हुनुमै छ गौरव जहाँ त्यो देशमा बस्छु म।
हुन्नन् न्याय विभेद मात्र छ जहाँ त्यो देशमा बस्छु म। 
मेरो छैन भविस्य लाग्दछ जहाँ त्यो देशमा बस्छु म।३।

खोसिन्छन् अपनत्व दिन्दिन जहाँ त्यो देशमा बस्छु म।
भै बिस्थापित हिँड्नु पर्छ कहिले त्यो देशमा बस्छु म।
शंकै लाग्छ बुझेर नागरिकता त्यो देशमा बस्छु म।
आफ्नै हो घर साहुको डर हुने त्यो देशमा बस्छु म।४।

कोही छैन युवा जमात घरमा त्यो देशमा बस्छु म।
सोझाले अपमान भोग्दछ जहाँ त्यो देशमा बस्छु म।
फोहोरी गणतन्त्र भित्र कुहुने त्यो देशमा बस्छु म।
आँसु रक्त बनेर नित्य चुहुने त्यो देशमा बस्छु म।५।

हेरी नित्य कुचक्र पाशविकता त्यो देशमा बस्छु म।
आफ्नै घाँटी निचोरिँदैछ सहँदै त्यो देशमा बस्छु म।
छैनन् ठाँउ फिराद गर्न अहिले त्यो देशमा बस्छु म।
बोकी यी अभिशाप हेर्न रमिता त्यो देशमा बस्छु म।६।

चुरेघाँटी, इलाम 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif