Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

होटल संघको अध्यक्षमा सिर्जना राणा


२०७६ बैशाख २७ गते , शुक्रवार प्रकाशित

होटल संघ नेपाल(हान) को अध्यक्षमा होटल अन्नपूर्ण होटलीकी सिर्जना राणालाई चयन भएकि छिन् । संघको ४६ औं वार्षिक साधारण सभाबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति बनेको हो । हानको इतिहासमा राणा पहिलो महिला अध्यक्ष बन्न पुगेकी छिन् । 

साधारण सभाले प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल साङ्ग्रिलाका प्रबिनबहादुर पाण्डे, महासचिवमा काठमाडौँ प्रिन्स होटलका साजन शाक्य र कोषाध्यक्षमा होटल बैशालीका विशालकुमारलाई निर्वाचित गरेको हो ।

त्यसैगरी सदस्यहरुमा अमरमान शाक्य (अमर होटल), सोल्टी होटलका दिनेशबहादुर विष्ट, ओरियन्टल÷र्याडिशन होटलका बिधाता श्रेष्ठ, होटल हिमालयका दिनेश तुलाधर, होटल शंकरका विनोदशंकर श्रेष्ठ, बाराही रिसोर्टका विप्लब पौडेल, ड्रिमल्याण्ड गोल्ड रिसोर्टका गोपाल राना, शम्बाला होटलका टेस्टेन, होटल कमलका रामकुमार पुरी, होटल क्राउन प्लाजाका युवराज श्रेष्ठ, होटल गणेश हिमालका ठाकुरप्रसाद पोखरेल र होटल याम्बुका राजेन्द्र भट्ट चयन भएका छन् ।

कार्यबाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको घोषणा भएको हो । कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सहमतिका आधारमा हानको नयाँ कार्यसमिति सहमति चयन हुनु सुखद भएको भन्दै बधाई दिएका थिए । होटल क्षेत्रको ठोस योजनासहित आउन भन्दै उनले सरकारको तर्फबाट पूर्ण सहयोग गर्ने जनाए । कृषि, पर्यटन, जलश्रोत र पूर्वाधारको विकास बाटै समृद्ध नेपाल बनाउने भन्दै पोखरेलले त्यसका लागि नीतिगत तथा कानुनी अड्चनहरु फुकाइ काम गर्ने बातावरण बनाउन सरकार लागि परेको उनले बताए । 

कार्यक्रमका अर्का अतिथि पर्यटन, सँस्कृति तथ नागरिक उड्डयन मन्त्रालयका कार्यवाहक सचिव सुरेश आचार्यले होटल तथा पर्यटन क्षेत्रले जीडीपीमा ३.२ प्रतिशतको योगदान गरेको भनेपनि वैज्ञानिकरुपमा त्यसको अध्ययन नभएकाले यकिन तथ्य नआएको जनाए । सरकारले दोहोरो अंकको आर्थिक वृद्धिदरको लक्ष्य लिएकाले यतिले मात्र त्यो सम्भव नहुने भन्दै जीडीपीमा यो क्षेत्रको योगदान बढाउन आवश्यक रहेको औंल्याए ।  

व्यवसायमैत्री बातावरण बनाउन सम्बन्धित मन्त्रालय तयार रहेको आश्वासन दिँदै उनले बजेट निर्माणको तयारी भइरहेकाले व्यवसायीहरुलाई आफ्ना एजेण्डाहरु लिएर आउन उनले सुझाए । 

संघका निवर्तमान अध्यक्ष अमरमान शाक्यले आर्थिक मेरुदण्डको रुपमा हेरिएको पर्यटन उद्योगलाई अन्य उद्योगसरह राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको रुपमा सरकारले मान्यता दिइ आएता पनि कार्यान्वयनमा आउन नसक्नु दुर्भागय भएको बताए । 

ठूलो लगानी र सबैभन्दा बढि रोजगारी उपलब्ध गराउने, विदेशी मुद्रा आर्जन र सरकारलाई बढि राजश्व बुझाउने यस क्षेत्रको विकास र प्रवद्र्धनमा अन्य उद्योग सरह सुविधा एवं सहुलियत प्रदानका साथै लगानीको सुरक्षा प्रतिभूति हुनुपर्ने माग उनको थियो । 

नेपाल भ्रमण वर्ष २०२० प्रारम्भ हुन ८ महिना बाँकी रहेतापनि एयरपोर्ट र अन्य पूर्वाधारको विकास सुस्त गतिमा भइरहेकाले लक्ष्य अनुसारको पर्यटक भित्राउन गाह्रो हुने उनले जनाए । 

अन्तर्राष्ट्रिय जगतमा नै नेपाल महँगो हवाइभाडा रहेको मुलुक भएकाले आउन चाहने विदेशी पर्यटकहरु पनि महँगो भाडाका कारण आउन नसकेको तर्फ इङ्गित गर्दै उनले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उपयुक्त भाडादर कायम गरी बढिभन्दा बढि गन्तब्यहरुमा सेवा विस्तार गरे विदेशी पर्यटकहरुको आगमन वृद्धि हुने जनाए । 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राणाले इतिहास मै पहिलो पटक महिलालाई नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा सबै होटल व्यवसायी सदस्यहरुमा धन्यवाद दिइन् । होटल व्यवसायीहरुलाई राज्यले पनि सहयोग गर्नु पर्ने बताउँदै पर्यटनको माध्यमबाट देशको आर्थिक विकासमा होटल व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइन् । नेपाल भ्रमण वर्ष २०२० लाई भव्यताका साथ सफल बनाउन होटल व्यवसायीहरुले आ–आफ्नो स्थानबाट सहयोग गर्ने बताइन् । होटल तथा पर्यटन क्षेत्रको विकासमा आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने उनले सो अवसरमा उनले प्रतिवद्धता जनाइन् । 


लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif