Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

बद्धिजीवीको बैठकमा कामरेड पुष्पलालको बक्तब्य


२०७६ बैशाख १५ गते , आईतवार प्रकाशित


— ऐतिहासिक दस्ताबेज —


सबभन्दा पहिले म यस बुद्धिजीव बैठकमा भाग लिन आउनु भएका पार्टी कामरेड तथा गैर पार्टी साथीहरुलाई हाम्रो पार्टी–नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय समितिको तर्फबाट धन्यबाद ज्ञापन गर्न चाहन्छु । 


हामी यस बैठकमा उपस्थित छौं भने स्वभावतः यो प्रश्न उठ्दछ कि यस बैठकको मूख्य उदेश्य के हो ? यस बैठकको मूख्य उदेश्य नै देशभरी छरिएर बसेका प्रगतिशील बुद्धिजीवीहरुको बीचमा पार्टीको उदेश्य र नीतिको बोध गराउनु र उनीहरुलाई संगठित गर्नु हो । सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्थाको बिरुद्ध संघर्षको निम्ति पार्टीले बिभिन्न मोर्चाहरु गठन गर्ने फैसला गरेको छ र ती मोर्चाहरुमध्ये एक महत्वपूर्ण मोर्चा हो – बुद्धिजीवी मोर्चा । अतः केवल ज्ञानको निम्ति तपाईहरुालई पार्टी उदेश्य र नीति बोध गराउने कुरा हँुदैन । तपाईहरुलाई पार्टीका नीति निर्देशन अनुसार संगठन गर्नुको खाश मतलब हुन्छ – हाम्रो क्रान्तिकारी साहित्य र कलाले देशको क्रान्तिकारी यन्त्रको एक अभिन्न अंगकोरुपमा बिकास गर्न सकोस् । त्यसो भएको खण्डमा देशको क्रान्तिकारी यन्त्र एक शक्तिशाली यन्त्रकोरुपमा बिकसित हुनेछ । देशका समस्त क्रान्तिकारी बर्ग र तप्कालाई संगठित र शिक्षित गर्न, साझा दुश्मनकोरुपमा देखापर्न आएको शाही अधिनायकबादी पञ्चायती ब्यबस्था बिरुद्ध धावा बोली नष्ट गर्न र अन्तमा बैरीका बिरुद्ध दिलोज्यानले लड्का निम्ति आम जनतालाई सघाउ पु¥याउनु हो । 

आज हाम्रो अगाडि आएका समस्याहरुका बिषयमा छलफल गर्नुभन्दा पहिले संक्षिप्तरुपमा पार्टी इतिहासको बोध गर्नु आवश्यक ठान्दछु । आजभन्दा २१ बर्ष पहिले १५ सेप्टेम्बर १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको हो । त्यसबेला साझा दुश्मन राणाशाहीको बिरुद्ध संझौतारहीत संघर्ष गर्नको साटो संझौताको बाटो खोज्न नेपाली (राष्ट्रिय) काग्रेसको सम्झौताबादी नेतृत्वले नेपालमाथिको सामन्ती ब्यबस्था र साम्राज्यबादी शोषणलाई समाप्त गर्न सक्तैन भन्ने कुरा बुझी सो कार्य पूरा गरी समाजबादी समाजको निर्माण गर्ने उदेश्यले नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको हो । पार्टीको गठनले देशको राजनीतिमा मात्र होइन, देशको चिन्तन धारामा नै एक महत्वपूर्ण मोड ल्याएको छ र नेपाली समाज समक्ष समाजवादी समाजको निर्माणको निम्ति सबभन्दा पहिले देशलाई सामन्ती, साम्राज्यवादी र भारतीय प्रतिकृयाबादी हिन्दूबाद (हिन्दूमहासभा तथा राष्ट्रिय स्वयं सेवा संघ मार्का)बाट मुक्त गरी नयाँ जनबादी समाजको निर्माण गर्नु पर्दछ । त्यसपछि देशमा समाजबादी संक्रमणको बाटो खुल्नेछ । आजको युगमा यो ऐतिहासिक कार्य देशको पूँजपति बर्गबाट सम्पन्न हुुन नसक्ने हुनाले — यसको जिम्मेवारी बहन गर्ने ऐतिहासिक अभिभारा मजदूर बर्गको काँधमा आएको छ । देशको मजदूर बर्गले यो कार्य आफ्नो संगठित राजनीतिक शक्ति – नेपाल कम्युनिष्ट पार्टी मार्फत गर्नेछ । 

आफ्नो काँधमा आएको यो ऐतिहासिक जिम्मेवारी पूरा गर्नको निम्ति हाम्रो पार्टीले देशका आम क्रान्तिकारी बर्ग र बर्गीय स्तरलाई उनीहरुका जन–बर्गीय संगठनहरुमा संगठित गरी समाजको बिभिन्न अंगमा देखापरेका असन्तोषलाई संगठित गरी सबैको शक्तिलाई सशक्त र सामुहीक शक्तिकोरुपमा बिकसित गराउने नीति लियो । यस अनुरुप पार्टील किसान संघ, मजदूर संघ, बिद्यार्थी फेडरेशन, महिला संघ, शान्तिमोर्चा, प्रगतिशील लेखक संघ खोल्ने फैसला लियो । नेपालमा हजारौं बर्षदेखि हाबी हँुदै आएको सामन्ती तथा साम्राज्यवादी दर्शन(चिन्तनधारा), राजनीति, अर्थनीति, र सँस्कृतिको बिरुद्ध आम जनतालाई संगठित गर्न थाल्यो । त्यसका निम्ति पार्टीले बिशेष जोड तल जरैदेखि सामन्ती शोषणको बिरुद्ध किसान आन्दोलन निर्माण गर्ने नीति लियो । सामन्ती, अद्र्ध सामन्ती तथा अद्र्ध औपनिवेशिक देशमा क्रान्तिको मूख्य सहायक शक्ति किसान हो अरु सहायक शक्तिहरु हुन् । मूख्य शक्ति संगठित भएको खण्डमा अन्य सहायक शक्तिहरुमा चेतनाको लहर फैलन्छ र उनीहरुलाई संगठित गर्न पार्टीलाई सजिलो पर्दछ ।

यस नीति अनुरुप पार्टी संगठन र संघर्षको मैदानमा उत्रिदैथिो । यसै बीच २००७ सलमा दिल्ली सम्झौता भयो । यस सम्झौताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा क्रान्तिकारी शक्तिको समक्ष नेपाली काग्रेसको सम्झौतापरस्त रुप स्पष्ट हुन थाल्यो । त्यसले गर्दा सम्पूर्ण क्रान्तिकारीहरु — यहाँसम्म कि नेपाली काग्रेस भित्रका बामपन्थी तत्वहरु पनि त्यस सम्झौताको बिरुद्ध देखापर्न आए । यस्तो स्थितिमा हाम्रो पार्टीले ‘‘दिल्ली सम्झौता धोका हो’’भन्ने नारा उठाउँदै त्यसको बिरुद्ध देशका मजदूर किसान शक्तिलाई संगठित गर्दै स्थानीय सामन्ती शोषण, अन्याय र अत्याचारका बिरुद्ध पहलकदमी लियो । 

पार्टीको नेतृत्वमा उठेको दिल्ली सम्झौता बिरोधी आन्दोलनले नेपाली सामन्त र पूजीपति बर्गले देशको राष्ट्रिय स्वार्थको प्रतिनिधित्व र सार्बभौमिकताको रक्षा गर्न सक्तैन भन्ने कुराको बोध हुन गयो भने गाउँ गाउँमा उठ्दो सामन्ती शोषण बिरोधी किसान आन्दोलनले देशमा नयाँ आशाको सञ्चार ग¥यो । त्यसपछि देशमा अन्य क्रान्तिकारी तप्का बिद्यार्थी, बुद्धिजीवी, महिला, कर्मचारी, आदि पार्टीप्रति आकर्षित हुन थाले र त्यसले गर्दा पार्टी सानै अबधिमा देशको राजनैतिक जीवनमा एक महत्वपूर्ण स्थान प्राप्त ग¥यो । 

यसै सन्दर्भमा २००८/९ सालतिर पार्टीको पहलकदमीमा प्रगतिशील लेखक संघको गठन भयो । देशका माक्र्सबादी तथा प्रगतिशील तत्वहरु त्यस संघमा सरीक हुन थाले । देशका सर्बहारा बर्गको साहित्यको अभिबृद्धि हुन थाल्यो । सामन्ती र पूँजीवादी दर्शन, सँस्कृति तथा चिन्तनधारामा एक पछि अर्को मार पर्न थाल्यो । लिखित साहित्यको अतिरिक्त साँस्कृतिक कार्यक्रमको आयोजना हुनथाल्यो । पार्टीको निर्देशनमा उठेको साँस्कृतिक आन्दोलनले देशको प्रगतिशील आन्दोलन–बिशेष गरी किसान र बिद्यार्थी आन्दोलनलाई अगाडि बढाउन निक्कै नै मद्दत ग¥यो र हाम्रो पार्टी देशको बैकल्पिक राजनीतिक शक्ति र भबिष्यको आशा केन्द्रकोरुपमा देखापर्न आयो । यसले गर्दा बामपन्थी, प्रजातन्त्रबादी तथा असंगठित प्रजातन्त्रबादी बुद्धिजीवीहरु पनि पार्टीसँग नजिकको नाता जोड्न आउन थाले । 

पार्टीको यो रफ्तार केही समयसम्म चल्यो । बिरोधीहरुको झूट प्रचार, सरकारी दमन, जेल नेल तथा हत्या आदिले पनि हराउँन र दबाउँन नसक्दा अन्तमा नेपालको प्रतिकृयावादी सरकारले पार्टीलाई नै गैर कानुनी घोषणा ग¥यो । तर पार्टीको पहलकदमीमा कुनै बाधा पु¥याउन सकेन । आन्दोलन बढ्दै गयो र त्यसले बर्ग–संघर्षलाई , बिशेष गरी किसान र सामन्ती बर्गका बीचको संघर्षलाई निक्कै नै चर्काउन थाल्यो । त्यसपछि समाजमा भएको त्यस बर्ग–संघर्षको प्रतिबिम्ब पार्टीभित्र पनि पर्न थाल्यो । पार्टीको प्रथम महाधिवशेन जो कि जनवरी ३०, १९५४(बि.सं २०१०) मा भएको थियो, त्यसले पार्टीको पहिलो घोषणापत्रको साटो अर्को कार्यक्रम पारित ग¥यो । त्यस नयाँ पारित कार्यक्रमले कम्युनिष्ट आन्दोलनको आधारभूत कुरा – मजदूर बर्गको नेतृत्वको मूख्य कुरा नै गोल गरिदियो । राजतन्त्रको साटो गणतन्त्रको घोषणा गरेन । स्वतन्त्र राष्ट्रिय अर्थब्यबस्थाको निर्माणको साटो बिदेशी पूँजीलाई पनि देशमा हुल्ने नीति प्रतिपादन ग¥यो । यसले गर्दा नयाँ जनवादी ब्यबस्था कायम गरी कम्युनिष्ट पार्टीको नेतृत्वमा समाजबादमा संक्रमण गर्ने उदेश्य र नीतिमा धमिलो पन आउँदै गई पार्टी ‘दिशाबिहीन गति र लक्षबिहीन प्रहार’(आन्दोलन)को स्थितिमा पुग्यो । बढ्दो जन आन्दोलनमा गतिरोध उत्पन्न भयो । दोश्रो महाधिवेशन सन् १९५७ (बि.सं. २०१३ पछि त गाद्धार माझी गुटको नेतृत्वले ‘‘किसान आन्दोलनले गर्दा देशमा असाधारण स्थिति तयार भयो’’ भन्ने प्रतिकृयावादी नारा दिएर किसान आन्दोलनलाई नै तिलाञ्जली दिई सामन्ती बर्गका नाइके राजालाई ‘‘राष्ट्रियताको प्रतीक’’ र ‘‘प्रजातन्त्रका प्रहरी’’को रुपमा पेश गर्ने गद्दारीपूर्ण नीति लियो ।

देशमा किसान आन्दोलन सेलायो । सामन्तबाद र साम्राज्यवाद बिरोधी नयाँ जनबादी क्रान्तिको स्पष्ट नीतिलाई छाडेर देशको मूख्य दुश्मन को ? राजा कि काग्रेस ? अर्थात् सामन्ती ब्यवस्था कि पूँजीवादी ब्यबस्था ? भन्ने पाटीलाई बिबादमा अल्झाउने प्रश्नहरु उठ्न थाले। हिजो ब्यवहारमा गएको पार्टी बहसमा मात्र सीमित हुन थाल्यो । यो बहस उत्तरोत्तर बुद्धिजीवीको बीच शहर बजारमा मात्र सीमित हुन थाल्यो । यसै बीच २०१६ सालमा प्रगतिशील लेखक संघलाई पुनः जीवित पार्ने कोशिश भयो । तर उक्त बैठकमा माक्र्सबादी बुद्धिजीवीहरुले पार्टीको नीति निर्देशन र अनुशासनलाई बन्देजकोरुपमा देख्न थाले, एकमत हुन सकेन । समाजबादी देशका लेखकहरुको उदाहरणको उपेक्षा गरी कतिपय लेखकहरुले सामुहिक साहित्यिक आन्दोनलको उपेक्षा गरे । फलतः त्यो प्रयास असफल भयो ।

०१७ साल पौष १ गतेको शाही काण्ड पछि गद्दार माझी गुट प्रत्यक्षरुपले नै राजाको दलालको रुपामा देखापर्न आयो । त्यसले आम पार्टी साथीहरुमा असन्तोषको लहर फैलियो । यसै बीच तेश्रो महाधिवेशन २०१९ साल बैशाखमा सम्पन्न भयो । त्यसबेला अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा सैद्धान्तिक संघर्षले उत्तरोत्तर खुल्लारुप लिन थालेको थियो ।तेश्रो महाधिवेशनले छानेको नेतृत्व क्रमशः अन्तर्राष्ट्रिय संशोधनबादको पक्षमा देखापर्न थाल्यो । त्यस भड्कावबाट मुक्त गरी पार्टीलाई तत्काल पञ्चायती ब्यवस्थाको बिरुद्ध ओराल्न हामीले ठूलो प्रयास ग¥यौं, तर त्यसो हुन सकेन । पार्टीको महामन्त्रीको पदमा छानिएका ब्यक्ति तुलसीलाल नै पार्टीको जनबादी केन्द्रियता तोड्ने काममा संलगन हुनथाले । उनी पार्टी भित्र उत्पन्न बिबादलाई पार्टीको नेतृत्वदायी समितिको बैठक अथवा अधिकारपूर्ण ठूला बैठकहरु गरी समाधान गर्ने माक्र्सबादी पद्धतिको बिरुद्ध जान थाले । अन्तमा पार्टीलाई सही दिशामा लैजाने एक मात्र उपायको रुपमा तेश्रो ऐतिहासिक सम्मेलन गर्न हामी बाध्य भयौं । 

आज तेश्रो ऐतिहासिक सम्मेलन भएको चार बर्ष हुदैछ । यस बीच पार्टीको चतुर्थ सम्मेलन पनि अत्यन्त सफलताकासाथ सम्पन्न भयो । आज पुनः पार्टीको क्रान्तिकारी प्रतिमा उठ्दै गएको छ र पार्टीको पहलकदमीमा देशका बिभिन्न स्थानहरुमा पुनः स्थानीय सामन्ती शोषण र आम पञ्चायती ब्यबस्थाकै बिरुद्ध आन्दोलनहरु उठ्न थालेका छन् । हिजो बिभिन्न गुट उपगुटमा बिभक्त भएको कम्युनिष्ट आन्दोलन आज सशक्तरुपले अघि बढ्दैछ र देशमा कम्युनिष्ट आन्दोलनको प्रतिनिधित्व गर्ने एक मात्र पार्टीको रुपमा हाम्रो पार्टीले बिकास गर्न सकेको छ । 

आज पञ्चायती ब्यवस्थाको बिरुद्ध प्रत्येक क्षेत्रमा बैकल्पिक कार्यक्रम पेश गर्न सक्ने क्षमता हाम्रो पार्टीमा बाहेक अरु कसैमा छैन । नेपाली काग्रेसको सम्झौतापरस्त नीतिबाट देशका जनता उत्तरोत्तर असन्तुष्ट हुँदै गएका छन् ।

देशका कबिला तथा ‘अछुत’ जातिहरु, जसलाई बर्तमान ब्यवस्थाले ‘ल्याइते तिरका सन्तान’को रुपमा हेर्दछ–हरु पनि हाम्रो पार्टीप्रति आस्थाबान हुँदै गएका छन् । देशको राष्ट्रिय स्वार्थलाई प्रतिनिधित्व गर्नसक्ने र सार्बभौमिकताको रक्षा गर्न सक्ने एक मात्र पार्टीकोरुपमा हम्रो पार्टीकोरुपमा हाम्रो पार्टीको बिकासको सम्भावना बढेर गएको छ । यसरी हाम्रो पार्टी पुनः राष्ट्रको भबिष्यको एक मात्र आशा–केन्द्रकोरुपमा देखापर्न थालेको छ ।


यस्तो अबस्था र अबधिमा आज हाम्रा पार्टी भित्रका बुद्धिजीवी तथा गैर पार्टी प्रगतिशील बद्धिजीवीहरुको जुन बैठक बस्दैछ त्यसको महत्व स्वतः स्पष्ट छ । पार्टीको तेश्रो ऐतिहासिक सम्मेलन हुनासाथ प्रगतिशील सँस्कृतिको बिकास गर्ने हेतुले बुद्धिजीवीको संगठन गर्नुपर्ने कुरातिर पार्टीको केन्द्रिय नेतृत्वले सोच्दै आएको हो र यसै सन्दर्भमा गत दुइ ढाई बर्षदेखि माक्र्सबाद लेनिनबादप्रति आस्था राख्ने पुराना र नयाँ केही साथीहरुसँग सम्पर्क स्थापना गरियो । त्यसैको फलस्वरुप ‘‘नयाँ जनवादी सँस्कृति ः नेपाली सँस्कृतिको ऐतिहासिक सिंहावलोकन र जनबादी क्रान्तिकारी साँस्कृतिक मोर्चाको कार्यक्रम’’को मस्यौदा तयार भयो । छलफलको लागि प्रकाशित गरिएको यस दस्ताबेजले बिभिन्न गुट उपगुटमा टुक्रिएर अनेक सँगलो–परिबारमा बिभक्त भएका बुद्धिजीवीहरु साथीहरुलाई एउटै झण्डामुनि जुटेर सही लक्ष र दिशामा अग्रसर हुन आह्वान गर्नुका साथसाथै ‘राल्फा’, ‘अमलेख’ आदि जस्ता ब्यवस्थाबाट असन्तुष्ट तर निश्चित लक्ष नभएका समूहहरुलाई पनि सही लक्ष ठम्याई अगाडि बढ्न प्रेरणा दिएको छ । त्यसैको परिणामस्वरुप आज हाम्रा पार्टी कामरेड तथा गैर पार्टी प्रगतिशील साथीहरु यस बैठकमा उपस्थित हुनु भएको छ ।हामीले यस बैठकमा प्रगतिशील साँस्कृतिक आन्दोलनलाई कसरी सञ्चालन गर्ने र सही दिशामा लैजाने भन्ने बिषयमा ठोस निष्कर्श निकाल्नु परेको छ ।
  नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका निम्ति नेपाल कम्युनिष्ट पार्टीले समाजको चार क्षेत्रमा निरन्तर संघर्ष जारी राख्नु पर्दछ । (१) दार्शनिक (२) राजनीतिक (३) आर्थिक र (४) सामाजिक–साँस्कृतिक । बास्तवमा भन्ने हो भने सही दर्शनद्वारा अनुप्राणित साँस्कृतिक आन्दोलनको अभावमा पार्टीको नेतृत्वमा हुने राजनैतिक र आर्थिक आन्दोलनमा उभार आउन सक्तैन । त्यसैले पार्टीका साँस्कृतिक फाँटको कति महत्व छ भन्ने कुरा स्पष्ट छ । ‘नयाँ जनबादी सँस्कृति’को प्रकाशनले माक्र्सबादी– लेनिनबादी बुद्धिजीवी बुद्धिजीवी–लेखकहरुलाई एक सुत्रमा बाद्धै लैजाने कार्य सुगम हुनसक्यो भने ‘‘पच्चास रुपियाँको तमसूक’’ आदि जस्ता नाटकहरुको प्रदर्शनले आम किसान जनतालाई साँस्कृतिक दृष्टिले चेतनशील पार्न र संघर्षमा बढ्न प्रेरित गरेको कुरा प्रायः तपाई हामी सबैलाई थाहै छ । हामीले यसलाई ब्यवहारमा नै देखेको हुनाले यसमा बिबादको आवश्यकता छैन । तर आज देशमा बिभिन्न सँगालोको रुपमा देखापरेका साँस्कृतिक आन्दोलन सम्बन्धि बिभिन्न खाले धारणाहरुलाई ध्यानमा राखी हामी यस कुरामा स्पष्ट हनु आबश्यक छ कि नयाँ जनबादी सँस्कृतिले इतिहासका कुन अबस्थाको प्रतिनिधित्व गर्दछ र त्यसको आन्दोलनको पद्धति के हो ? यस कुरालाई ठम्याउन नसकेमा साँस्कृतिक आन्दोलनमा एकरुपता आउन सक्तैन ।

यो कुरा त स्पष्ट छ, आज पुनः नेपाली जनता प्रजातान्त्रिक संघर्षको बाटोमा लम्किरहेका छन् । तर अब निर्माण हुने प्रजातन्त्रको स्वरुप २००७ पछि प्रादर्भाब भएको पुरानो खाले (संसदीय) नभई नयाँ खालको प्रजातन्त्र अर्थात् नया जनबाद हनेछ भन्ने कुरा आज देशको भौतिक स्थितिले स्पष्ट पारेको छ । पुरानो प्रजातन्त्रको संघर्षको मूख्य शक्ति देशको पूँजीवादी बर्ग थियो भने आजको नयाँ जनबादी क्रान्तिको मूख्य शक्ति देशको मजदूर बर्गको राजनीतिक शक्ति – नेपाल कम्युनिष्ट पार्टी छ । हाम्रो यो क्रान्ति देशको अद्र्ध सामन्ती र अर्ध औपनिवेशिक स्थितिको बिरुद्ध सर्बहारा बर्गको नेतृत्वमा हुने पूँजीवादी जनवादी(नयाँ जनवादी) भएकोले हाम्रो बर्तमान साँस्कृतिको स्वरुप पनि यसै बस्तुस्थितिको अनुरुप हुनु पर्दछ । त्यसैले हामी आज यस कुरामा स्पष्ट हुनु आवश्यक छ कि ‘नयाँ जनबादी सँस्कृति’ केवल एक्लो मजदूर(सर्बहारा) बर्गाको समाजबादी सँस्कृति नभई मजदूर बर्गको बिश्व दृष्टिकोण अनुसार देशको बर्तमान अबस्थाको बिरुद्ध संघर्ष गर्ने बिभिन्न राजनीतिक तथा सामाजिक शक्तिहरुको स्वार्थ रक्षा गर्ने समाजबादोन्मुख सँस्कृति अर्थात बिचारधारा हो । यसै कुरालाई स्पष्ट पार्दै पार्टीको नयाँ जनबादी क्रार्यक्रममा भनिएको छ  :—

‘‘हामी समाजबादी सँस्कृतिको पक्षमा हँुदाहुँदै पनि तत्काल त्यसलाई हाम्रो सँस्कृतिको प्रधान अंगकोरुपमा बिकास गर्ने कुरा गर्दैनौ । अहिले हाम्रो क्रान्तिको चरण सर्बहारा या समाजबादी नभई सामन्तबाद तथा साम्राज्यबाद बिरोधी नयाँ जनबादी भएको हुँदा आजको हाम्रो सँस्कृति नयाँ जनबादी क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी उत्साह र प्रेरणा दिने र जनबादी आर्थिक र राजनीतिक ब्यबस्थाको पक्षमा मत जाहेर गर्ने हुनुपर्दछ । क्रान्तिका मित्र शक्तिहरुमा क्रान्तिकारी उत्साह भर्ने तथा बिरोधीहरुप्रति घृणा उत्पन्न गर्ने हुनु पर्दछ । एक शब्दमा भन्ने हो भने हाम्रो सँस्कृतिको रुप राष्ट्रिय स्वरुप तथा जनवादी गुदी भएको हुुनु पर्दछ ।’’
अतः आज हाम्रो साँस्कृतिक फाँटका बद्धिजीवीहरुको मूख्य कार्य नै जन जीवनको बास्तबिक रुपमा चित्रण गर्नु, जनतालाई संगठित संघर्षमा उत्साहित गर्नु, उनीहरुमा माक्र्सबाद लेनिनबाद तथा माओ त्सेतुङ बिचारधाराको दृष्टि निर्माण गरिदिनु र त्यसैको आधारमा हुने क्रान्तिको बिजयमा बिश्वास पैदा गरिदिनु, उनीहरुको संघर्षमा पथ–प्रदर्शन गर्नु र उनीहरुको संघर्षलाई अन्तर्राष्ट्रिय प्रगतिशील आन्दोलनसँग एकताबद्ध गराउनु हो । 

यस औसरमा नेपालको साँस्कृतिक आन्दोलनमा एक दृष्टि दिनु आवश्यक छ । नेपालमा कम्युनिष्ट पार्टीको जन्म भन्दा पहिले जुन संघर्ष थियो त्यो परम्परागत सामन्ती(हिन्दू–धर्म–प्रधान) बिचारधारा र उदाउँदो पूँजीवादी बिचारधाराका बीचको संघर्ष थियो । तर उदाउँदो पूँजीवादी आन्दोलनको चरित्र आमूल क्रान्तिकारी नभई सम्झौताबादी भएको हँुदा त्यसले बिल्कुल नयाँ सँस्कृति पनि सिर्जना गर्न सकेन । बरु त्यसबेला सामन्तबाद र पूँजीवादको संयोगबाट सामन्ती–पूँजीवादको बर्णशंकर सँस्कृति जन्म्यो । त्यो बर्णशंकर सँस्कृति अन्तार्राष्ट्रिय मरणासन्न पूँजीवादी सँस्कृतिको एक अभिन्न अंगकोरुपमा थियो । 

ने.क.पा.को जन्म पछि नेपालको साँस्कृतिक अर्थात बैचारिक क्षेत्रमा नयाँ सँस्कृति अर्थात् नयाँ जनबादी चिन्तनधाराले प्रवेश ग¥यो । माक्र्सबादी बिश्व दृष्टिकोण र बिकासको बैज्ञानिक सिद्धान्तमा आधारित त्यो नयाँ सँस्कृति नेपालका आम शोषित पीडित जाति तथा बर्गहरुको सँसकृति र अन्तर्राष्ट्रिय समाजबादी सँस्कृतिको एक अभिन्न अंगकोरुपमा देखाप¥यो । त्यसैले सारांशमा भन्ने हो भने नयाँ जनबादी सँस्कृति राष्ट्रिय जनबादी, बैज्ञानिक र अन्तर्राष्ट्रिय नेपाली सँस्कृति हो । 

(क) यो राष्ट्रिय हो, किनभने नयाँ जनबादी सँस्कृतिले नेपाली राष्ट्रिय स्वार्थको प्रतिनिधित्व गर्दछ र हाम्रो देशको आन्तरिक मामिलामा हुने हर प्रकारको बिदेशी हस्तक्षेपको बिरोध गर्दछ । 

(ख) यो नयाँ जनबादी सँस्कृति बैज्ञानिक सँस्कृति हो । किनभने यसको बिश्व दर्शन द्वन्द्वात्मक भौतिकबाद हो र यसले, आध्यात्मिक अन्धबिश्वासमा आधारित सामन्ती परम्परा र यान्त्रिक भौतिकबादी दर्शनको पनि घोर बिरोध गर्दछ । समाज–बिकासलाई ऐतिहासिक भौतिकबादको कसीमा हेर्ने हुँदा यसले आफ्नो ऐतिहासिक परम्पराको पनि भौतिकबादी बिश्लेषण गर्दछ । यसले प्रत्येक परम्परालाई त्यसको बिशिष्ठ ऐतिहासिक युगको सन्दर्भमा हेर्दछ र गलत परम्पराको त्याग गरी सही परम्पराको अभिबृद्धि गर्ने पक्ष लिन्छ ।

(ग) यो सस्कृति जनबादी(प्रजातान्त्रिक) सँस्कृति हो । अर्थात् जनताको सँस्कृति हो । किनभने यसले देशका आम जनता र बिशेषगरी किसान जनतालाई आफ्नो हक र अधिकारका निम्ति लड्ने मार्ग देखाउँदछ । उनीहरुको असन्तोषलार्य बैज्ञानिक अभिब्यक्ति दिने साधन तयार गर्दछ । यसले देशका लाखौंलाख श्रमजीवी जनतालाई आफ्नो भाग्यको आफैले पैmसल गर्नका निम्ति भाग्यबाद, राजा, गुरु–पूरोहित तथा नेताहरुको साँघुरो बन्धनबाट मुक्त हुने प्रेरणा दिन्छ र जनताको दिमागलाई रचनात्मक दिमाग बनाइदिन्छ । यसको मूल मन्त्र नै ‘नेता प्रधान नभई नीति प्रधान’ हो र यसले नीति निर्माणमा जनताको पहलकदमी बढाइदिन्छ । 

(ङ) नयाँ जनबादी सँस्कृति अन्तर्राष्ट्रिय भावनाले युक्त भएको सँस्कृति पनि हो । हाम्रो देशमा भइरहेको बिदेशी घूसपैठ र साँठगाँठको बिरोध गर्ने सँस्कृतिले वास्तबमा कुनै पनि बिदेशी जनताको हक र हितको बिरोध गर्दैन, समर्थन गर्दछ । हामीले भारतीय हस्तक्षेपको बिरोध गर्नु बास्तवमा भारतीय जनताको बिरोध गर्नु होइन परन्तु भारतीय जनताको साथ दिनु हो । कारण, जुन भारतीय साम्प्रदायिक हिन्दू सँस्कृतिको हामी बिरोध गर्दछौं त्यसै सँस्कृतिले हजारौं बर्षदेखि भारतीय जनताको शोषण गरिरहेको छ । नेपालम हामी जुन अमेरिकी प्रवेशको बिरोध गर्दछौं, त्यो अमेरिकी जनताको बिरोध होइन, परन्तु समर्थन हो । कारण, जुन अमेरिकी साम्राज्यबादले हाम्रो देशमा घूषपैठ र शोषण गरिरहेको छ त्यसले अमेरिकी जनताको पनि शोषण गरिनै रहेको छ । नयाँ जनबादी सँस्कृतिले बिश्वका कुनै पनि देशको राष्ट्रिय मुक्ति आन्दोलन र सर्बहारा समाजबादी आन्दोलनको समर्थन गर्ने हुनाले यो अन्तर्राष्ट्रिय मजदूर बर्गका सँस्कृतिको बिरुद्ध नभई सहयोगी छ । त्यसैले यसको स्वरुप अन्तर्राष्ट्रिय छ । 
अब हाम्रो अगाडि प्रश्न आउँछ कि नेपाली नयाँ जनवादी सँस्कृतिको अभिबृद्धि कसरी गर्ने ? यो अत्यन्त महत्वपूर्ण प्रश्न हुनाले आज हाम्रो ध्यान बिशेषरुपले यस प्रश्नतिर केन्द्रित हुनु आवश्यक छ । मोटामोटी रुपबाट बिचार गर्दा यसको दुइ पक्ष छ — एक सैद्धान्तिक र अर्को संगठनात्मक ।

पहिले हामी सैद्धान्तिक पक्षमा जाउँ । हाम्रो सिद्धान्त माक्र्सबाद–लेनिनबाद हो । हाम्रो बिश्व दृष्टिकोण द्वन्द्वात्मक भौतिकबाद हो । माक्र्सबादी बद्धिजीवीहरुलाई यो कुरा कण्ठै छ कि माक्र्सबादी दर्शनले बिश्वको ब्याख्या मात्रै गर्दैन, परन्तु परिवर्तनको पनि मार्ग निर्देशन गर्दछ । तर हामीले कुनै पनि सिद्धान्तलाई सुत्रकोरुपमा कण्ठ गर्नु महत्वपूर्ण कुरा होइन, त्यसको मर्म बुझी त्यस अनुसारको आचरण गर्नु नै महत्वपूर्ण कुरा हो । यस कुरालाई हामीले राम्ररी बुझ्नु पर्दछ । 

नयाँ जनबादी सँस्कृति नेपालको आजको बिशिष्ट ऐतिहासिक युगका क्रान्तिकारी शक्तिहरुको संघर्षको एक बलियो हतियार हो । तर यस हतियारलाई कुन परिस्थितिमा, कसमाथि, कसरी प्रहार गर्नमा उपयोग गर्ने हो भन्ने कुरा जान्न नेपाली समाजको माक्र्सबादी दृष्टिकोणले ब्याख्या गरिनु पर्दछ । किनभने नयाँ जनबादी सँस्कृतिको बिश्व–दृष्टिकोण माक्र्सबाद हो र माक्र्सबाद समाज बिकासको अध्ययन गर्ने बैज्ञानिक नियम हो । बर्तमान नेपाली समाजको माक्र्सबादी ब्याख्या नभएसम्म क्रान्तिका मित्र शक्ति र शत्रु शक्ति छुट््याउन सकिदैन र शत्रु पक्षको बिशिष्ट अध्ययन नगरी मूख्य साझा दुश्मन पत्ता लाग्दैन र मूख्य दुश्मन पत्ता नलागेसम्म त्यसका बिरुद्ध योजनाबद्ध, सुसंगठित क्रान्ति हुन सक्तैन । अतः आजका हाम्रा प्रगतिशील बुद्धिजीवीहरुको सर्बप्रथम कार्य हुन आउँदछ — आजको नेपालको बिशिष्ट ऐतिहासिक युगको बैज्ञानिक ब्याख्या गर्नु ।

प्रत्येक बर्गका आ–आफ्न दार्शनिक, राजनीतिज्ञ, अर्थशास्त्री, इतिहासकार,साहित्यकार,कलाकार, सैनिक आदि हुन्छन् । एबं प्रकारले हामीले पनि आफ्नो देशका मजदूर बर्गको बिशिष्ट दार्शनिक, राजनीतिज्ञ, अर्थशास्त्री, इतिहासकार, साहित्यकार, कलाकार, सैनिक आदि प्रत्येक क्षेत्रका कार्यकर्ता तयार गर्नु अत्याबश्यक छ । यसमा प्रगतिशील बुद्धिजीवीहरुले महत्वपूर्ण भूमिका पूरा गर्नु पर्दछ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif