Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

हामी नाफालाई भन्दा समुदायको हितलाई जोड दिन्छौं


२०७५ फाल्गुन २ गते , विहीवार प्रकाशित

राजेश कुमार राजथला
अध्यक्ष, जनता बचत तथा ऋण सहकारी संस्था लि.

भक्तपुरको चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था स्थापनाको एघारौं वर्षमा प्रवेश गरेको छ । २०६५ साल माघ २० गते स्थापना भएको संस्थाले सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक रुपान्तरणमा निरन्तर लागिरहेको अध्यक्ष राजेश कुमार राजथला बताउँछन् । सहकारीले सदस्यहरुमा बचतको भावना विकास गरेको भन्दै उनले सबै उमेर समुहका मानिसहरुलाई लक्षित गरी सेवा प्रदान गर्दै आएको बताए । संस्थाले आफ्नै सुविधासम्पन्न मैत्री भवन निर्माण गर्न लागेको र भवन निर्माणपश्चात एकै छानामुनिबाट सबै प्रकारका सेवा सदस्यहरुलाई प्रदान गर्ने योजना रहेको अध्यक्ष राजथला बताउँछन् । नाम सहकारी भएपनि मिनी बैंकको रुपमा चलेका सहकारीबाट समाजको समृद्धि नहुने उनको ठम्याई छ । जनता साकोसको समग्र अवस्था, संस्थाका आगामी योजना र सहकारी अभियानका विषयमा केन्द्रित रहेर अध्यक्ष राजथलासँग नेपालपत्रन्यूजले गरेको कुराकानी :

जनता बचत तथा ऋण सहकारी संस्थाको समग्र अवस्थाबारे बताइदिनुस् न, 

भक्तपुरको चित्रपुरमा रहेको यो संस्था त्यत्तिकै आजको अवस्थामा आइपुगेको होइन । यो ठाउँमा बिना दर्ता धेरै समुहहरुले आपसमा बचत जम्मा गर्ने र ऋण लगानी गर्ने काम गर्थे । धेरैवटा समुहलाई बैध बनाउने कुरालाई मनन गरेर स्थानीय युवाको सक्रियतामा हामीले २०६५ साल माघ १ गते खुल्ला बैठक बस्यौं । चित्रपुरमा एउटा सहकारी स्थापना गरौं र स्थानीयको आर्थिकस्तरमा वृद्धि गरौं भन्ने छलफल भयो । १५ दिनको समय सबैलाई दिइयो । त्यस अवधिमा ४० जनाबाट १० लाख रकम संकलन भयो । त्यसपछि २०६५ माघ २० गते तत्कालिन डिभिजन सहकारी कार्यालय भक्तपुरमा विधिवत दर्ता गरेर वित्तीय कारोबार अगाडि बढायौं ।  संस्थाले हालसम्म २१३७ सदस्यबाट १ करोड ९० लाख शेयर पुँजी संकलन गरी १० करोड ३९ लाख बचत संकलन र ११ करोड ४७ लाख ऋण लगानी गरेको छ 

स्थापनापश्चात् संस्थाको गतिविधिलाई समुदायमा कसरी लैजानुभयो ? 


बचत ऋण सहकारी भन्ने वित्तिकै मानिसहरुले यसलाई बैंक जस्तै हो भन्ने गर्थे । यसले पनि पैसा किन्छ र बेच्छ भन्ने सोच उनीहरुमा थियो । हामीले त्यो किसिमको सोचलाई परिवर्तन गर्न सक्यौं । सहकारी भनेको पैसाको कारोबार गर्ने मिनी बैंक मात्र होइन, एउटा सामाजिक संस्था पनि हो । यसले समाजको आर्थिक, सामाजिक र साँस्कृतिक विकासको लागि पनि काम गर्छ भन्ने कुरा स्थानीयलाई बुझायौं । हामीले संस्था स्थापनासँगै यस्ता गतिविधिहरु सञ्चालन गर्न थाल्यौं । लोडसेडिङको विद्यामान अवस्थामा हामीले कार्यक्षेत्र भित्रका सदस्यहरुलाई डिजेल बत्ती उपलब्ध गरायौं । त्यसैगरी स्वास्थ्य शिविर, स्थानीय पर्व तथा जात्राहरुको प्रवद्र्धन गर्न आर्थिक तथा परामर्श सहयोग, सरसफाई जस्ता कार्यक्रम संस्थाले गर्दै आयो । सामाजिक रुपमा पनि संस्था त्यत्तिकै लागि रहेको छ भने सदस्यहरुको व्यवसाय प्रवद्र्धनमा पनि टेवा पु¥याउँदै आएको छ । चित्रपुरको मुख्य व्यवसाय भनेको चिउरा हो । त्यसका साथै सदस्यहरुले अन्य विभिन्न व्यवसाय गरिराखेका छन् । उनीहरुको व्यवसाय प्रवद्र्धन गर्न आर्थिक रुपमा संस्थाले टेवा पु¥याउँदै आएको छ । सामाजिक रुपमा यहाँ भएका विभिन्न संघसंस्थाहरुसँग हातेमालो गरेर विभिन्न कार्यक्रममा सहभागि हुँदै आएको छ । 

संस्थाले सदस्यहरुलाई केकस्ता सेवा दिँदै आएको छ ?


हामीले सदस्यहरुलाई जन्मदेखि मृत्युसम्मको सेवाहरु दिँदै आएका छौं । महिला सदस्य सुत्केरी भएको अवस्थामा भेटघाट कार्यक्रम गर्छौं । नारी तथा बालबालिका उपसमितिले सुत्केरीलाई उपहार लिएर भेटघाट गर्न जान्छन् र नवजात शिशुलाई संस्थाको निशुल्क सदस्य बनाईन्छ । यसले गर्दा मेरो कोही नभएपनि यस्तो बेलामा मलाई सम्झने संस्था छ भन्ने आत्मविश्वास उनीहरुलाई दिलाउन सहयोग पु¥याएको छ । उपसमितिका सदस्यहरु गएर भेटघाट गर्नुका साथै समस्या समाधानमा सहयोग गर्नुहुन्छ । संस्थाले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका दिनमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने गर्छ । उहाँहरुलाई उपयोगी सरसामान दिन्छौं । ज्येष्ठ नागरिकको लागि छुट्टै बचत खाता खोलेको र प्रोत्साहन स्वरुप बचतमा बढि ब्याज दिएका छौं । हामीले ५ जनाको दरले ६० वटा लघुवित्त समुह बनाएका छौं । जसमा ३ सय महिला सभागि छन् । हामीले कुनै पनि संघसंस्थाबाट लघुवित्त सञ्चालन गर्न ऋण लिएका छैनौं । संस्थाकै बचतबाट यो कार्यक्रम सञ्चालन गरेका छौं । अन्य व्यवसायमा १५ प्रतिशत व्याज लिन्छौं भने लघुवित्तमा १३ प्रतिशत व्याजमा ऋण उपलब्ध गराउँछौं । त्यसमा पनि नियमित साँवाब्याज बुझाउने सदस्यहरुलाई १२ प्रतिशत मात्रै ब्याज लिन्छौं । एउटा सदस्यलाई समुह जमानीमा १ लाखसम्म ऋण दिँदै आएका छौं । महिलाहरुलाई उद्यमशील बनाई आर्थिक रुपमा सबल बनाउन हामीले यो कार्यक्रम सञ्चालन गरेका हौं । हरेक वर्ष अन्तर्राष्ट्रिय नारी दिवसमा बनभोज सहितको गोष्ठी आयोजना गर्छौं । यी सबै कार्यक्रम नारी उपसमितिमार्फत हुन्छ । र सञ्चालक समितिले एजेण्डाहरुलाई अनुमोदन गर्छ । बालबचतकर्ताहरुको लागि १७ वर्षमा फिर्ता गर्ने गरी शैक्षिक बचत सुरु गरेका छौं । त्यसपछिको शैक्षिक अध्ययनका लागि पैसाको अभाव नहोस् र उच्चशिक्षा हासिल गर्न सहयोग पुगोस् भनेर हामीले त्यो किसिमको कार्यक्रम सञ्चालन गरेका हौं । त्यसका साथै शिक्षालाई प्रवद्र्धन गर्न सहुलियत दरमा कर्जा पनि उपलब्ध गराउँदै आएका छौं । विभिन्न व्यवसायिक ऋण तथा विभिन्न किसिमको बचत संकलन गरेर संस्थालाई आर्थिक रुपमा अगाडि बढाई राखेका छौं । संस्थाको उदेश्य भनेको नाफा कमाउनु नभई सेवामूखी हो । अरु संस्थाले जस्तो हामी नाफामा केन्द्रित नभई सेवालाई अगाडि बढाएका छौं । 


संस्थाको रणनीतिक योजना के छ ? 


हामीले संस्थाबाट दिन सक्ने हरेक सेवा एउटै छानामुनि दिने उदेश्यले साढे सात आना जग्गामा मैत्री भवन बनाउँदै छौं । हरेक संस्थाले निजी भवन त बनाइरहेका छन् । तर ती भवन सबै सदस्यमैत्री रहेको हामीले पाइरहेका छैनौं । जसरी अस्पतालमा विरामीलाई सेवा दिन सबै पूर्वाधार बनाइएको हुन्छ । त्यस्तै किसिमको पूर्वाधारयुक्त भवन बनाउने तयारी हामीले गरेका छौं । भवन निर्माण पछि स्वास्थ्यकेन्द्र सञ्चालन, परामर्श सुविधा, ज्येष्ठ नागरिकलाई मन खुशी बनाउने कार्यक्रम सञ्चालन, सहकारी सुपथ मूल्य पसल, कृषिका विऊविजन र मल वितरण एकै ठाउँबाट गर्छौं । अहिले गरिराखेको कामलाई निरन्तर दिँदै थप प्रभावकारी बनाउने हाम्रो योजना छ । त्यसैगरी सहुलियत दरमा चाइल्ड डे–केयर सञ्चालन गर्ने योजना हाम्रो छ । जसले आमाबावुलाई आर्थिक उपार्जनमा सहयोग पुगोस् । 


संस्थाले राम्रो गतिविधि गरेका कारण २०६८ सालमा डिभिजन सहकारी कार्यालय र जिल्ला सहकारी संघले जिल्ला भरिको उत्कृष्ट अध्यक्षको रुपमा पुरस्कृत गरेको थियो । जिल्ला संघले आयोजना गर्ने हरेक कार्यक्रममा हामी सहभागि भएको हुनाले हरेक पटक जस्तै हामीले पुरस्कार पाइराखेको छौं । अन्तर्राष्ट्रिय सहकारी महासम्मेलन २०१२ मा सहभागिता जनाउँदा पनि हामीले भक्तपुरको उत्कृष्ट सहकारी संस्थाको पुरस्कार प्राप्त गरेका थियौं । हामीले पुरस्कारकै लागि भनेर काम गरिरहेको नभएतापनि सम्बन्धित निकायहरुले विभिन्न कार्यक्रममा हामीले जनाएको सहभागिताको उच्च मुल्यांकन भइराखेको छ । यसले हामीलाई हौसला प्रदान गरेको छ । संस्थाले स्वास्थ्य, शिक्षा र आर्थिक उपार्जनका क्षेत्रमा सदस्यहरुलाई टेवा पु¥याउँदै आएको छ । बजार मुल्यमा एकरुपता कायम होस् भनेर उपभोक्ता पसल सञ्चालन गरेका छौं । सदस्यहरुले यहि पसलमा वस्तु खरिद गर्नुपर्छ भन्ने छैन तर अन्य पसलमा सामान खरिद गर्दा पनि उही मूल्यमा पाउन भन्ने हाम्रो उदेश्य हो । त्यसैगरी हामीले बिहान ८ बजेदेखि ४ बजेसम्म संस्था सञ्चालन गर्छौं । तर सदस्यहरुलाई आपत्कालिन अवस्था आइपर्दा कुनै पनि बेलामा पैसा उपलब्ध गराउँछौं । सदस्यहरु आपतमा पर्दा १५ हजारसम्म निव्र्याजी उपलब्ध गराउँदछौं । १५ दिनभित्र फिर्ता गरे कुनै व्याज तिर्नुपर्दैन । त्यस अवधिभित्र तिर्न नसके सहुलियत व्याजमा उपलब्ध गराउँछौं । सदस्यहरुबाट १ पटक सय रुपैया लिन्छौं र सदस्यहरुको मृत्यु भएमा आश्रित परिवारलाई ३ हजार उपलब्ध गराउँछौं ।  

चित्रपुरमा सहकारी संस्था खुलेपछि यहाँका मानिसको जीवनस्तरमा के कस्ता परिवर्तन आए त ? 


हामीले यहाँका मानिसको विचार र धारणालाई परिवर्तन गर्न सक्यौं । यहाँका मानिसमा खर्च गरेर बाँचेको रकम बचत गर्नुपर्छ भन्ने सोच विगतमा थियो । अहिले पहिला बचत त्यसपछि खर्च गर्ने प्रवृत्ति बनेको छ । यसको माध्यमबाट नै जनता सहकारी बन्न सकेका हौं । हामीले घरमा पैसा राख्दा असुरक्षित हुन्छ, मन लागेका बेला बढि खर्च हुन्छ, त्यसैले आफूले कमाएको पैसा सहकारीमा ल्याएर बचत गर्न र आवश्यक परेका बेलामा लैजान सिकाएका छौं । पैसा जम्मा गर्न बैंक पनि त छ नि भन्ने सोचलाई हामीले बदलेका हौं । बैंक र सहकारीबीच फरक छ । तपाईं बैंकको ग्राहक बन्न सक्नुहुन्छ । सदस्य बन्न सक्नुहुन्न । सहकारीमा शेयर हुनु भनेको संस्थाको मालिक बन्नु हो । हरेक वर्ष साधारणसभामा सहभागी हुने अवसर मिल्छ भने संस्थाले गर्ने हरेक गतिविधिको बारेमा जानकारी गराउँछ । बैंकले घाम लाग्दा छाता दिने र पानी पर्दा छाता फिर्ता लैजान्छ । सहकारीले घामपानी दुवैमा सदस्यलाई छाता प्रयोग गर्न दिन्छ । हामीले बैंक र सहकारीको फरकको बारेमा सदस्यहरुलाई बुझाउन सकेका छौं । कमाउनु ठूलो कुरा होइन, कमाएर बचत गर्न सक्नु ठूलो कुरा हो । सदस्यहरुमा यो सोच हामीले विकास गर्न सक्यौं । 


सहकारीमार्फत सामाजिक रुपान्तरण भएपनि आर्थिक रुपान्तरण हुन नसकेको भन्ने गरिन्छ नि ? 


सहकारी समुदायमा आधारित संस्था हो । सहकारीलाई राज्यले अर्थतन्त्रको तीनमध्ये एक खम्बाको रुपमा लिएको छ । जसरी सहकारीको परिकल्पना गरियो, सोही अनुरुपको काम सबै सहकारीले गर्न सकेको छैन । धेरै संस्थाले राम्रो काम गरेको भएतापनि एकाध संस्थाले नराम्रो काम गर्दा यसले सहकारी क्षेत्रलाई धमिलो बनाएको छ । सहकारीमा व्याजको लागि बचत गर्ने होइन । कुनै सहकारीको सदस्य बन्नुपूर्व संस्थाको सञ्चालकका बारेमा बुझ्नु पर्छ । कतिपय सहकारी बजारी छन् । उनीहरुले सहकारीको भेषमा सदस्यबाट बचत लिने र फिर्ता नगर्ने अवस्था पनि आउन सक्छ । हामी स्थानीयले सुरु गरेको संस्था हो यो । हामीले यहाँबाट बचत लिएर भाग्ने ठाउँ छैन । यसले गर्दा सदस्यले विश्वासकासाथ कारोबार गर्न सक्छन् । पसल थाप्न आएका सहकारी बजारमा धेरै छैन । २५ जना मानिस मिल्ने, सय रुपैयाँको दरले २५ सय रुपैया उठाउने र सहकारी दर्ता गर्ने प्रवृत्तिले गर्दा सहकारीमा विकृति फैलिएको छ । ती सहकारीले सदस्य बनाउन बढि लोभ देखाउने र बचतमा बढि ब्याज दिने हुँदा समस्यामा परेका छन् । ती सहकारीको सामाजिक क्षेत्रमा न्यून भूमिका रहेको छ । र अधिक कारोबारमा मात्रै केन्द्रित भएका छन् । मिनी बैंकको रुपमा उनीहरुले कारोबार गरिराखेको देखिएको छ । यस्ता सहकारीलाई राज्यले नियमन अनुगमन गरि नियन्त्रित गर्न सक्यो भने यस क्षेत्रमा देखिएका विकृतिहरु न्यून भएर जान्छ । अनिमात्र सोचे अनुसारको सहकारी अभियान बन्न सक्छ भन्ने मलाई लाग्छ । सहकारीको ऐननियम मात्र बनाएर हुँदैन, ऐननियम अनुसार संस्था सञ्चालन भएका छन् कि छैन भन्ने कुराको अनुगमन राज्यले गर्नुपर्छ । सहकारी स्थानीय, प्रदेश र केन्द्रमा गएको छ । प्रदेश र स्थानीय सरकारमा गएका सहकारी अन्यौलमा छन् । प्रदेशले ऐन बनाउन सकेको छैन । एकभन्दा बढि स्थानीय तह कार्यक्षेत्र भएका संस्था प्रदेश अन्तरगत पर्छन् । समयमा नीतिनियम आउन सकेको छैन भने काम गर्न सजिलो हुने ऐननियम बनाउनुपर्छ । मिनी बैंकको रुपमा कारोबार गर्ने संस्थालाई राज्यले निगरानी बढाउनुपर्छ । सहकारी ऐन अन्तर्गत दर्ता भएका संस्थालाई सहकारीकै रुपमा सञ्चालन गर्न सकियो भने सहकारीले आर्थिक विकासमा आमूल परिवर्तन गर्न सक्छ । 


अन्त्यमा 


हरेक सहकारीमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । एउटा सहकारी अर्कोको लागि परिपूरक हुनुपर्छ । सहकारीलाई सहकारीकै मुल्य, मान्यता र उदेश्य अनुसार सञ्चालन गर्नुपर्छ । सहकारीले समाजको हरेक क्षेत्रमा भूमिका खेल्नुपर्छ । हरेक क्षेत्रमा यसको कस्तो भूमिका हुनुपर्छ भन्ने बुझेर सोही अनुसार व्यवहारमा उतार्न सक्नुपर्छ । यसले सहकारी क्षेत्रमा लागेका दागहरु हटाउन सघाउँछ । सहकारीलाई आफ्नो आर्थिक स्वार्थको लागि मात्रै प्रयोग नगरी समाज र सदस्यको हितको लागि काम गर्ने संस्थाको रुपमा विकास गर्न सबैमा आग्रह गर्छु । 
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif