Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

कपिलबस्तुको जगदीशपुर ताल : पर्यटकीय स्थल बन्ने सम्भावना


२०७५ पौष २७ गते , शुक्रवार प्रकाशित

 शहबाज खान

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवादेखि ९ कि.मि.उत्तरमा रहेको जगदिशपुर जलाशय कपिलवस्तु जिल्लाको शान ,पहिचान र धन हो । वि.स.२०४५ तिर सिँचाई प्रयोजनका लागि यसको निर्माण गरिएको हो । करिव १५७ हेक्टर क्षेत्रफलमा यो जलाशय फैलिएको छ । सिँचाई प्रयोजनका लागि यसको निर्माण गरिएको भए तापनि यसले अहिले पृथक भूमिका खेलेको छ । एसियाको दोस्रो ठूलो यो ताल पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । कपिलवस्तुको सानको रुपमा रहेको यो जलाशय उचित सरंक्षण र सवंर्धनको अभावमा प्रख्यात हुन सकेको छैन ।

यो ताल जैविक विविधताले युक्त ताल हो । यस तालमा विविध जीव तथा वनस्पतीहरु पाइन्छन् । विश्व सिमसार क्षेत्रमा समेत सूचिकृत यो जलाशयमा विविध प्रकारका सिमसार जीवहरु पाइन्छन् । सन् २००३ मा सिँचाइका साथै जैविक विविधताले गर्दा विश्व सिमसार क्षेत्रमा सूचिकृत भएको यो ताल अन्तराष्टिय महत्व बोकेको ताल हो । यस तालमा १५० भन्दा बढी जातका चराचुरुङ्गी पाइन्छन् । जसमध्ये विश्वमै दुर्लभ मानिएका डंगर , खैरो गिद्ध , सेतो गिद्ध , भूँडिफोर , गरुण , सारस लगाएतका प्रजातिका चराहरुको बासस्थान संकटमा परेको छ । त्यसैगरी यस तालमा विभिन्न प्रजातिका माछाहरु ,कछुवा , भ्यागुता आदि जलप्राणी पाइन्छन् । सिमसार वनस्पतिहरुमा बेहाय , पटेर ,कमल , जंगली धान , सिंगडालगायतका वनस्पतिहरु यस तालमा पाइन्छन् । यी विविध जीव तथा वनस्पतिले गर्दा यो ताल जैविक विविधतायुक्त तालको रुपमा चिनिएको छ ।
निर्माणको क्रममा सिँचाइ प्रयोजनले निर्माण गरिएको भए तापनि अहिले यसको उपयोगिता व्यापक बनेको छ । यस तालले झण्डै दुई दर्जन गाविसका ६ हजार २ सय हेक्टर जमीनमा सिँचाइ पु¥याउदै आएको छ । यस तालका सिँचाइका अलवा अन्य उपयोगिताहरु पनि रहेका छन् । यसको विकास गरेर पर्यटकीय स्थानको रुपमा विकास गर्न सक्ने हो भने हाम्रो गौरव बन्न सक्छ । विश्व सिमसार क्षेत्रमा सूचिकृत यस ताललाई संरक्षण गर्न सक्ने हो भने विभिन्न किसिमका जीव तथा वनस्पतिको वासस्थान जोगिन सक्दछ । यसको वरिपरि हराभरा राख्न सकेमा वातावरण पनि स्वच्छ तथा सुन्दर हुन्छ । जैविक विविधताले युक्त यो ताल बहुउपयोगिताको दृष्टिले निकै महत्वपूर्ण छ ।

जैविक विविधता तथा बहुउपयोगिताले युक्त हुँदाहुँदै पनि यो तालले अझैसम्म पनि काँचुली फेर्न सकेको छैन । सम्बन्धित निकायले कुनै चासो नदेखाउनाले यसको न त संरक्षण हुन सकेको छ न त विकास । तालको वरिपरि रहेका सिसौका रुखहरु स्थानीय तस्करहरुले गर्दा दिनानुदिन मासिदै नाङ्गिदै गएका छन् । हराभरा हराउनका साथै यसबाट वातावरणीय असन्तुलन समेत पैदा हँुदै गइरहेको छ । ताल वरपर खुल्ला दिसापिसाब तथा फोहोर फ्याक्दा ताल दुर्गन्धित बनेको छ । स्थानीय माछा तस्करहरुको मिलिमतोमा बेलाबेलामा सिँचाइ डिभिजनले तालको पानी सुकाइदिदा माछा तस्करहरुलाई फाइदा भएको छ तर त्यसबाट तालको जैविक विविधताको विनाश भइरहेको छ । हिउदमा बाहिरी देशबाट आउने तथा स्थानीय चराचुरुङ्गीहरुलाई शिकार गर्दा लोपोन्मुख चराहरु पूर्णत ः लोप हुने खतरा स्थिति पैदा भएको छ । चरा तस्करहरुको बिगबिगीले विश्व सिमसार क्षेत्रमा सूचिकृत ताल त्यस सूचिबाट हट्ने खतरा छ । यदि समय मै यसको बारेमा नसोच्ने हो भने पछि पछुताउनु शिवाय अरु कुनै बिकल्प बाँकि रहने छैन ।

तालको संरक्षणका नाममा कैयौँ संस्थाहरु नजन्मिएका पनि हैनन् तर ती मात्र नामका संस्थाको रुपमा परिणत भए । तालको नाममा आउने बजेट कसरी हात पार्ने अनि कसरी कुम्ल्याउने त्यही मात्रै सुर्ताले गर्दा तालको विकास हुन नसकेको कुरा सबैमाझ छर्लङ्ग बनेको छ । तालको बजेट आउदा मात्रै चलखेल गर्ने नत्र कुनै चासो नदेखाउने प्रवृतिले गर्दा ताल सदैव पछि परिरहेको छ । यस्ता नामसोर र कामचोरहरुले गर्दा तालले कुनै काँचुली फेर्न सकेको छैन जुन हाम्रा लागि दुखद् कुरो हो ।

करिव तीन वर्षको अवधिमा स्थानीय युवाहरुले तालको संरक्षण तथा संवर्धनमा चासो देखाएका छन् । युवाहरुले डाइनामिक जगदिशपुर ताल संरक्षण तथा संवर्धन संस्थाको नाममा केही उल्लेखनीय कार्यहरु गरेका छन् । तालको सरसफाइ ,तालमा चरा तस्करी नियन्त्रण ,युवा सरोकार बढाउने उदेश्यले फुटबल प्रतियोगिता ,पर्यटकहरुका लागि डुङ्गा संचालन तथा पार्कको निर्माण आदिजस्ता प्रयासहरुले गर्दा केही विकासको आशा राख्न सकिन्छ । मन हुनेसँग समय नहुने र समय हुनेसँग मन नहँुदा ताललाई निरन्तर विकासका लागि युवा अगुवाको कमी महसुस गरेका छन् यँहाका मन हुने युवाहरुले ।

जसले काम गरे पनि तालको उचित संरक्षण ,विकास र संवर्धन हुनु हामी सबैका लागि खुसी तथा गौरवको कुरा हो । आशा गरौँ आगामी दिनमा जैविक विविधता तथा उपयोगिता बोकेको यस तालले आफ्नो अस्तित्वलाई सुरक्षित गर्दै विकास तथा परिवर्तनको काँचुली फेरोस् । हामी सबैको गौरव बोकेको यो ताललाई हामीले नै त्यो मार्गमा लैजान हाम्रै हातेमालोको आवश्यकता छ । स्रोत र साधनको तुलना गर्दा लुम्बिनीभन्दा कम छैनन् यँहाका ऐतिहासिक स्थानहरु तर यसको विकास गरेर पर्यटकहरुलाई आकर्षण गर्न नसक्दा दुर्भाग्यको शिकार बन्नु परेको छ । उदाहरणका लागि लम्बुसागर ताललाई लिन सकिन्छ । लम्बुसागर तालको सुन्दरता, बनावट, र मनोहारितालाई हेर्दा कसको मन लोभिन्न होला र ? यसलाई चिनाउन नसक्दा आज यो ताल मात्र कुवाको भ्यागुतोसरी बन्न पुगेको छ । अझ यसको ऐतिहासिक पृष्ठभूमि त झनै रोचक छ । त्यँहा शाक्य वंशी राजाहरुको दरबार भएको मानिन्छ । शाक्य वंशी खान्दानमा गौतम खान्दानका छोराले विवाहको प्रस्ताव राखेपछि छलकपटले शाक्य खान्दानले नोकर्नीसँग बिहे गरिदिएका थिए । सो कुरा थाहा पाएपछि गौतम खान्दानले युद्ध छेडेका थिए । जसमा गौतमहरुले ७० हजार शाक्यहरुलाई बद् गरेर एउटै कुण्डमा फ्याकिदिएका थिए । त्यो कुण्ड जीर्ण अवस्थामा अहिले पनि त्यँहा देख्न सकिन्छ । यस्तो ऐतिहासिक पृष्ठभूमि बोकेको यो ताल पर्यटकीय दृष्टिकोणले निकै उपयूक्त रहेको छ ।

त्यसकै नजिक उत्तर दिशामा रहेको जगदीशपुर ताल रहेको छ । यस ताललाई स्थानीय समुदायमा जखिरा नामले चिनिइन्छ । एसियाकै ठूलो कृतिम तालका रुपमा यो प्रसिद्ध छ । त्यस्तै सिमसार क्षेत्रका रुपमा पनि यो विश्व सम्पदा सूचीमा सूचिकृत रहेको छ । यस तालको पनि उचित संरक्षण, सम्वद्र्धन तथा विकासको कमीले यसले उल्लेखनीय प्रगति गर्न सकेको छैन । भारतसम्म सिचाइ गर्न सफल यो ताल जलभण्डारको रुपमा मात्र सीमित छ । यस तालको संरक्षण तथा विकासका लागि अहिले त्यँहाका स्थानीय युवाहरुले डाइनामिक जगदीशपुर ताल संरक्षण संस्था गठन गरेर तालमा सरसफाइ, चरा तस्करी नियन्त्रण , डुङ्गा सञ्चालन जस्ता कार्यहरु गरिरहेका छन् जुन प्रशंसनीय रहेको छ । स्मरण रहोस विभिन्न समयमा विश्वका विभिन्न देशहरुबाट वर्षेनी थरीथरीका चराचुरुङ्गीहरु यँहा आउने गर्दछन् । त्यसैगरी प्रसिद्ध बोलबम धामका रुपमा रहेको लक्ष्मणघाट धाम धार्मिक महत्व बोकेको स्थान हो । यसप्रकारका विशेषता रहेको स्थानलाई पर्यटकीय स्थानका रुपमा विकास गर्न सक्ने हो भने एकातिर आर्थिक आम्दानी गर्न सकिन्छ अर्कोतिर यस स्थानको सुन्दरता र महत्वको देश तथा बिदेशमा प्रचार प्रसार हुन सक्छ । नेपाल आफैमा थुप्रै प्राकृतिक सुन्दरता बोकेको देश हो र यस देशभित्रका कुना काप्चामा रहेका सबै सुन्दर पर्यटकीय सम्भावना बोकेका स्थानहरुको खोजी प्रचार तथा विकास हुन नसक्दा त्यस्ता स्थानहरु ओझेलमा परेका छन् । त्यस्तै ओझेलमा परेको यस जगदीशपुर ताललाई विकास ,प्रचार तथा अवसरको खाँचो छ । जैविक विविधता , मनोरञ्जन,सुन्दरता बोकेको यस ताललाई अवलोकन गरी आन्तरिक पर्यटनको विकास तथा प्रवद्र्धन गर्नु हामी सबैको पनि दायित्व हो ।

यसरी धार्मिक,प्राकृतिक, जैविक तथा ऐतिहासिक रुपले महत्वपूर्ण जिल्ला कपिलबस्तु आफैमा कम छैन तर दुर्भाग्यको शिकार बारम्बार भइरहेको छ । यँहाका नेतृत्वकर्ताले चाँसो नदेखाउँदा कपिलबस्तु आज रोइरहेको छ । आन्तरिक क्षमतालाई देखाउँदै छाती ठोकेर भनिरहेछ, “ म पनि कम छैन ” तर यो रोदन कसले सुन्ने ? बाह्य रुपमा काँचुली फेर्न नसक्दा जस्ताको तस्तै सधँैभरी । सम्बन्धित निकायले यसको बारेमा समयमै चासा नदेखाए त्योभन्दा ठूलो अभिशाप केही हुने छैन जिल्ला साथै देशलाई पनि..।
     

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif