Thursday, 27 June, 2019    |    २०७६ असार १२ गते , विहीवार

हसना भास्तिपुर साकोसको दशौं साधारणसभा सम्पन्न


२०७५ पौष २६ गते , विहीवार प्रकाशित

चन्द्रागिरी नगरपालिकाको बलम्बुमा रहेको हसना भास्तिपुर बचत तथा ऋण सहकारी संस्थाको १०औं साधारण सभा सम्पन्न भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

सभाको उद्घाटन गर्दै मन्त्री विष्टले विगतमा गाउँगाउँसम्म सहकारी नहुँदा आर्थिक कारोबार गर्न समस्या रहेको भएपनि अहिले ग्रामीण भेगसम्म सहकारी पुगेकाले ससानो रकम बचत गर्ने देखि वित्तीय कारोबार गर्न समेत सहयोग पुगेको बताए । संविधानले  अर्थतन्त्रको ३ मध्ये एउटा खम्बाको रुपमा सहकारीलाई लिएकाले सोही अनुरुप सहकारीले काम गर्नुपर्नेमा उनको जोड थियो । सभामा विशिष्ट अतिथिको रुपमा चन्द्रागिरी नगरपालिकाकी उपमेयर लिशा नकर्मी, जनता टेलिभिजनका अध्यक्ष डा. विजय पौडेल र नेफ्स्कुनका सञ्चालक दिपक पनेरुले शुभकामना दिएका थिए । 



संस्थाका अध्यक्ष एवं सभाका सभापति नारायणकृष्ण महर्जनले दशौं वर्षसम्म आइपुग्दा संस्थाले विभिन्न कार्यक्रम गर्दै प्रगतिको बाटोमा हिँडिरहेको बताए । संस्थागत विकासका लागि सदस्यकेन्द्रित सेवा प्रदान गुर्नका साथै सञ्चालक समिति, उपसमिति र कर्मचारीहरुलाई शिक्षा एवं तालिममार्फत कार्यक्षमता वृद्धिमा आफुहरु लागेको उनले बताए । संस्थाले वित्तीय अवस्थामा गरेको वृद्धिसँगै समुदायमा आधारित भएर सामाजिक तथा संस्थागत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । 

संस्थाका कोषाध्यक्ष राजमान महर्जनले आ.व.२०७४/७५ को आर्थिक प्रतिवेदन पेश गर्दै असार मसान्तसम्म शेयरपूँजी ३ करोड ८३ लाख ७३ हजार, बचत ६६ करोड ३८ लाख र ऋण लगानी ६६ करोड ८३ लाख गरी सो अवधिमा ४२ लाख ८१ हजार नाफा आर्जन गरेको बताए । 



संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक राजकुमार महर्जनले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले स्थापनाकालदेखि नै कम्प्युटर  प्रणालीमार्फत कारोबारको अभिलेख राख्ने गरेको, सदस्यहरुको सुविधाका लागि सदस्य सेवाकेन्द्रमार्फत सेवा प्रदान गर्ने गरेको र सदस्यहरुलाई ३६० दिन बिहानी र सन्ध्याकालिन सेवा दिँदै आएको बताए । उनले सदस्य हितकोषमार्फत काजक्रिया खर्च, सुत्केरी र विरामी खर्च सदस्यलाई दिनुका साथै विभिन्न रेमिटान्स सेवा दिँदै आएको जानकारी दिए । 

सभामा उत्कृष्ट कारोबारी सदस्यको रुपमा ५ जनालाई सम्मान गरिएको थियो भने चन्द्रागिरी नपाभित्र रहेका सामुदायिक विद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई नगद पुरस्कार प्रदान गरिएको थियो । 

संस्थाले दशौं साधारणसभाको अवसर पारेर एक स्मारिका समेत प्रकाशित गरेको संस्थाका सचिव सम्पुर्ण महर्जनले जानकारी दिए । सभाले १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश समेत पारित गरेको उनले जानकारी दिए । संस्थाका सदस्यहरुलाई शुभाय उपभोक्ता सहकारीमार्फत सञ्चालित मार्टमा दशैंतिहार र बलम्बु जात्राको उपलक्ष्यमा ३ प्रतिशत र साधारणसभाको अवसरमा २ प्रतिशत खरिद कुपन दिने गरेको उनले बताए । 


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif