Monday, 18 March, 2019    |    २०७५ चैत्र ४ गते , सोमवार

बचत संघलाई व्यासायिक रुपमा लैजानसक्ने नेतृत्व चयन गर्नुहुन अपील गर्दछु


२०७५ पौष २६ गते , विहीवार प्रकाशित

कमलराज अधिकारी,
उपाध्यक्षका प्रत्याशी
 

काठमाडौं जिल्ला बचत तथा ऋण संघ ९कास्कुन०को नयाँ सञ्चालक समिति सहमतिका आधारमा चयन हुने विश्वास गरिएपनि त्यो सम्भव देखिएन । बामपन्थी र प्रजातान्त्रिक धारका व्यक्तिहरुलाई समेटेर नयाँ सञ्चालक चयन गर्ने भनिए पनि अन्ततः दुवै पक्ष प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा जाने भएका छन् । प्रजातान्त्रिक धारबाट गोविन्द काफ्ले समूहको उम्मेदवारी परेको छ भने वाम समुहबाट दिपक पनेरुले अध्यक्ष पदका लागि उमेदवारी दिएका छन् ।  

चार वर्षे नयाँ नेतृत्वका लागि काफ्लेको समूहबाट उपाध्यक्षमा कमलराज अधिकारी, सचिवमा रमिला श्रेष्ठ शाक्य, कोषाध्यक्षमा निरञ्जन सेढाईको उम्मेदवार रहेका छन् । त्यसैगरी सञ्चालकमा राजकुमार खड्का, ईश्वर सुनार, नारायण सापकोटा, पुष्कर सापकोटा, राजु खनाल, सुमन जिसी, रबिन्द्र श्रेष्ठ, कृष्ण खनालको उम्मेदवारी परेको हो । त्यस्तै सञ्चालकमा अनिता अधिकारी, गीता रेग्मी, सीमा पुरीको उम्मेदवारी परेको छ भने सुवासचन्द्र घिमिरेको लेखा संयोजकमा उम्मेदवारी परेको छ । लेखा सदस्यमा विक्रम श्रेष्ठ र अर्जुन भट्टराईको उम्मेदवारी परेको हो । 

कास्कुनका वर्तमान लेखासमिति संयोजक एवं उपाध्यक्षका प्रत्याशी कमलराज अधिकारीसँगै गरिएको कुराकानी : 

काठमाण्डौ बचत तथा ऋण सहकारी संघको साधारण सभामार्फत संघको उपाध्यक्षमा उमेदवारी किन ?   

काठमाण्डौ जिल्ला बचत तथा ऋण सहकारी संघमा जिल्लाभरका ६४० वटा प्रारम्भिक संस्था आवद्ध छन् । ती सबै संस्थाहरुको भावनाको कदर गर्दै विगत तीन वर्षदेखि संघको लेखा समिति संयोजक भएर मैले काम गर्दै आएको छु । सदस्य संस्थाहरुको चाहना र सहकर्मी साथीहरुको भावनालाई कदर गर्न अब कास्कुनको उपाध्यक्ष भएर नेतृत्व गर्नुपर्छ भन्ने मलाई लागेको छ ।   

काठमाण्डौको बचतऋण अभियानलाई ठोस रुपमा अगाडि बढाउने योजना बनाउनुभएको होला नि ?   

हामीले संघलाई ७७ जिल्ला मध्येकै नमूना संघको रुपमा अगाडि बढाउन अझ धेरै काम गर्न बाँकी छ । विगतका केहि वर्षहरुबाट कास्कुनलाई धेरै अगाडि ल्याईसकेका छौं । संघमा आवद्ध सदस्य संस्थाहरुलाई शिक्षा, तालिम र सूचनाको माध्यमबाट सहयोग गर्छौं । त्यसैगरी तरलता व्यवस्थापन देखि सहकारी अभियानमा लागेका सबै संघसंस्थालाई प्रभावकारी ढंगले अगाडि बढाउने योजना बनाएका छौं । कास्कुन अभियानको रुपमा मात्रै नभइ व्यवसायिक संघ पनि भएको हुँदा संघलाई व्यवसायिक हिसाबले अगाडि बढाउने योजना छ । हामीले संघलाई व्यवसायिक बनाउने कुरा गर्दै गर्दा हाम्रा सदस्य संस्थाहरुलाई पनि व्यवसायिक बनायौं भने मात्रै संघ व्यवसायिक हुन्छ भन्ने ठम्याई छ । सोही अनुरुप संघलाई अगाडि बढाउँछौं । अभियानका साथै व्यवसायिकता पनि संघमा ल्याउँछौं । सबै क्षेत्रमा, सबै सोच भएका र सबै रंगका सहकारीकर्मीलाई एकैठाउँमा राख्ने प्रयास गरिराखेका छौं । सोही अनुरुप संघलाई अगाडि लैजान सक्यौं भने संघ व्यवसायिक बन्छ ।  

सहकारी संघसंस्थामा राजनीति हावी भयो भनिन्छ नि ? राजनीति पहुँचको भरमा संघको नेतृत्व गर्दा कसरी व्यवसायिकता आउला ?   

राजनीति रोक्नका लागि हाम्रो प्रयास रहेको छ । सहकारीमा राजनीति हुनु हुँदैन भन्ने अभिप्रायबाट हामी अगाडि बढेका छौं । बहुदलिय व्यवस्था भएकाले लोकतन्त्रमा विश्वास गर्नु स्वाभाविक हो । तर राजनीतिक कोटलाई फुकालेर सहकारी क्षेत्रमा आउनुपर्छ भन्ने मान्यताका साथ हामी अगाडि बढेका छौं । काठमाडौं बचत संघ त्यसको उदाहरण हो भन्ने मलाई लाग्छ । म कास्कुनको लेखा समिित संयोजक बन्नु अघि काठमाण्डौ जिल्ला संघमा राजनीतिक धारबाट नेतृत्वको लागि उठेको थिएँ । फरकफरक विचारधाराका व्यक्तिहरु जिल्ला संघको नेतृत्वमा पुगकाले संघले अपेक्षाकृत फड्को मार्न नसकेको हामीलाई लागेको छ । जिल्ला संघको नेतृत्व चयनपछि त्यसको समीक्षा गर्दै काठमाण्डौ बचत संघमा सहमतिको आधारमा सबै क्षेत्र, वर्ग र विचारधाराका सहकारीकर्मीहरुको प्रतिनिधित्व हुने गरी नेतृत्व चयन गरिएको थियो । आगामी २७ गनेको साधारण सभामा पनि यहि सन्देश लिएर जानुपर्छ भन्ने मेरो मान्यता छ । यहि पौष २१ र २२ गते राष्ट्रिय सहकारी बैंकको नयाँ नेतृत्व पनि सहमतिकै आधारमा भएको छ । बैंकका शेयर सदस्यहरुले पनि सहमतिमा तय गरेको नेतृत्वलाई नै विजयी बनाउनुभएको छ । काठमाण्डौ बचत संघको नयाँ नेतृत्व चयनमा पनि सोही अनुरुपको भूमिका खेल्न म आग्रह गर्छु । काठमाण्डौ बचत संघमा रहेका शेयरसदस्यहरुलाई हामी कलरभन्दा बाहिर भएको अपील गर्न चाहन्छौं । हामीले सहकारी क्षेत्रमा राजनीति गर्न खोज्यौं भने सहकारी अभियान अगाडि बढ्न सक्दैन । जुन रुपमा सहकारी अभियानले उचाई लिनुपर्ने हो, त्यो उचाई लिन सक्दैन भन्ने मलाई लाग्छ ।   
सहकारीका विषयगत, केन्द्रिय र जिल्ला संघ भएपनि अभियानले चाहेको ऐन नियम आउन सकेका छैन नि ?   

यो सान्दर्भिक विषय हो । सहकारी ऐन २०४८ सहकारी अभियानको रुपमा आएको थिएन । नयाँ ऐन २०७४ मा आयो । अभियानको तर्फबाट हामीले नयाँ ऐनमा कुरा राखेको थियौं । तर सहकारी ऐन २०७४ पूर्णरुपमा सहकारी मैत्री छ भन्ने मलाई लाग्दैन । तर पनि हिजोकोभन्दा केहि परिस्कृत भएर नयाँ ऐन आएको छ । सहकारी नियमावली ल्याउन हामी अभियानको तर्फबाट कटिबद्ध भएर लागेका छौं । केहि समयभित्र नै नियमावली आउँछ । भोली आउने नियमावली सहकारीमैत्री नै आउँछ । यसले सहकारी सञ्चालन गर्न सजिलो हुनेछ । यदि सहकारीमैत्री नियमावली आएन भने त्यसको विरुद्धमा हामी सबै एकजुट भएर लाग्नुपर्छ । विषयगत संघको हिसाबले हामीले त्यसका लागि बारम्बार लबिङ गर्दै आएका छौं । जिल्लाभरका सबै बचतऋण सहकारीलाई संघमा आवद्ध हुन हाम्रो अनुरोध छ । सबै संस्थाहरु संघमा आवद्ध भयौं भने हामीले राखेका कुराहरु राज्यले सुन्न बाध्य हुन्छ ।   

कास्कुनको लेखा समिति संयोजक भएर काम गरिरहँदा यहाँका संस्थाहरुको अवस्था के पाउनुभयो ?   

हामीले सदस्य संस्थाहरुलाई सहकारी मुल्यमान्यता र सिद्धान्त अनुसार अगाडि बढाउन प्रयास गरिराखेका छौं । संघले सञ्चालक समिति, लेखासमिति, व्यवस्थापक, कर्मचारी र शेयरसदस्य सबैका लागि तालिमको व्यवस्था गरेको छ । सहकारी ऐन, नीतिनियम र निर्देशिकाको बारेमा पनि वर्कशपको आयोजना गरेका थियौं । नियमावली आएपछि त्यसको बारेमा जानकारी दिन पनि वर्कशप गर्नेर्छौं । सहकारी संस्थाले तालिम सूचना लिँदै गए सहकारीमा आउने समस्या कम हुँदै जानेछ । राज्य नपुगेको ठाउँमा सहकारी पुगेको छ । राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ । समुदायमा आधारित भएर छरिएर रहेको ससानो पूँजीलाई एकिकृत गर्ने काम सहकारीले गरेको छ । महिलाहरुलाई आय आर्जनमा लैजाने प्रेरणा प्रदान गरेको छ । नेतृत्व विकास गरेको छ ।   

सबै संघसंस्थालाई तपाईंको अपील के छ ?   

कास्कुनमा आवद्ध सम्पूर्ण शेयर सदस्यलाई साधारणसभामा सक्रिय रुपमा सहभागिताको लागि अनुरोध गर्दछु । नेतृत्व चयन गर्दा रङलाई भन्दा पनि संघलाई व्यवासायिक रुपमा अघि लिएर जानसक्ने नेतृत्व चयन गर्न मेरो आग्रह छ ।  बचत संघलाई सबल र व्यवसायिक बनाउन आफ्ना साथीभाईलाई भन्दा पनि क्षमतावान व्यक्तिलाई चयन गर्न अपिल गर्छु । आर्थिक अनुशासनभित्र रहेको र व्यवसायिक क्षमता भएनभएको जानकारी लिएर नेतृत्व चयन गर्न पनि मेरो अनुरोध छ । त्यस्तो खालको नेतृत्व चयन गर्नुभयो भने बचत संघ पनि अगाडि आउँछ । र प्रारम्भिक संस्थाहरु पनि सबल बन्दै जान्छन् । काठमाण्डौको बचत संघ भएकाले ७७ वटै जिल्ला संघको अगुवाई हामीले गर्नुपर्छ । त्यसका लागि नमूना संघ हामीले बनाउनु पर्छ । सबै सदस्य संस्थाहरुलाई सावधानीपूर्वक नेतृत्व चयन गर्नुहुन मेरो आग्रह छ । अभियानलाई अगाडि बढाउने नेतृत्व चयन गर्नु यहाँहरुको पनि दायित्व हो । नियमित साधारणसभा मात्र नभई अधिवेशनमूलक भएकाले सबैले सक्रिय सहभागिता जनाइदिनुहुन अपील गर्दछु ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif