Wednesday, 16 January, 2019    |    २०७५ माघ २ गते , बुधवार

डा. केसी १६औं अनशनमा इलाममा


२०७५ पौष २५ गते , बुधवार प्रकाशित

आफुसँग सहमति भए बिपरीत चिकित्सा स्वास्थ्य बिधेयक पारित भए पछि डा. गोविन्द केसीले आज अपरान्ह ५ बजेदेखि १६औं अनशन इलाममा शुरु गरेका छन् । आजै संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको थियो ।

आज इलाममा एक बिज्ञप्ति जारी गर्दैै डा. केसीर्ले  पाँच बजेबाट अनशन शुरु गरेका हुन् । उनले देशमा देखिएको भद्रगोल, अराजकता र दण्डहीनताको जिम्मेवारी कार्यकारी प्रमुखका हैसियतले प्रधानमन्त्रीले लिनुपर्ने बिज्ञप्तिमा उल्लेख गरेका गरेका छन् । प्रधानमन्त्रीको गहन शारीरक समस्या तथा त्यसको उपचार पद्धतिका दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेको आरोप समेत उनले लगाएका छन् । 
         
बारम्बार सरकार र सांसदहरुलाई विगतको सम्झौता स्मरण गराउँदै त्यस  अनुसार चिकित्सा शिक्षा ऐन जारी गर्न अनुरोध गर्दा त्यस विपरित माफियामुखी बुँदाहरु समेटेर संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक संसदमा पठाएकोमा त्यसप्रति कडा आपत्ति जनाउँदै डा. केसी अनशनमा बसेका हुन् । 
 
 डा. केसीका ६ बूँदे मागहरु :  

१) १५औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गरियोस् ।

२) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् ।  त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णय बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् ।

३) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम ,पाँचथर,तेह्रथुम  लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाम, सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमा, सुदुर पश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् ।

४) निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।

५) द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्रा्ष्ट्रिय कानुन अनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याइयोस् ।

६) नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाण्डौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियास् ।

प्रधानमन्त्री केपी ओलीले डा. केसीसग १५औं अनशनका बेला गरेका सहमतिलाई अक्षरसा पालन गर्न गराउन तत्काल अग्रसर भएर समस्याको समाधान गर्नु मात्र सही बिकल्प हुने जनमानसले अपेक्षा गरेको पाइन्छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif