Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

पिपलबोट बहुउद्देश्यीय सहकारीको नयाँ सञ्चालक समिति


२०७५ पौष २५ गते , बुधवार प्रकाशित

पिपलबोट बहुउद्देश्यीय सहकारी संस्थाको ११औं साधारणसभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैंकका कर्जा असुली विभागका प्रमुख युवराज पाण्डेको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष दिनेश थापाको सभापतित्वमा सभा सम्पन्न भएको हो ।

सभाको विशिष्ट अतिथिमा मोबिलाइन ग्रुपका अध्यक्ष दिनेश दर्शन द्वारे र बहुउद्देश्यीय सहकारी संघ ललितपुरका लेखा संयोजक तीर्थराम डंगोल रहेका थिए । संस्थाका अध्यक्ष थापाले सहकारीको भावना अनुसार सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरणका लागि संस्था निरन्तर लागिपरेको बताए । संस्थाले सदस्यहरुको हितलाई मध्यनजर गरी विभिन्न सेवा सुविधा अघि बढाएको र अघिल्लो साधारणसभाबाट पारित भए बमोजिम सदस्यको मृत्यु भएमा १० हजार र आफन्तको मृत्यु भएमा ५ हजार रुपैया आर्थिक सहयोग उपलब्ध गराउन थालेको उनले जानकारी दिए ।

संस्थाका सञ्चालक शंकर थापामगरले आ.व. २०७४/७५ को आर्थिक प्रतिवेदन पेश गर्दै संस्थाको शेयर पूँजी ४५ लाख ६८ हजार, बचत ३ करोड ३४ लाख र ऋण लगानी ३ करोड ९१ लाख पुगेको जानकारी दिए । सभामा उत्कृष्ट बचतकर्तातर्फ राजकुमारी खड्गी, उत्कृष्ट ऋणीतर्फ फुलमाया तामाङ र उत्कृष्ट कर्मचारीमा सगुन श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यसैगरी संस्थाका विशेष सहयोगी रविन शर्मा सिंखडा, कानुनी सल्लाहकार एवं अधिवक्ता गणेशप्रसाद खनाल र संस्थापक सदस्य मनोहरि नगरकोटीलाई पनि सम्मान गरिएको थियो ।

सभाले दिनेश थापाको अध्यक्षतामा ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा विद्यादेवी थापा, सचिवमा सुदर्शन थापा, कोषाध्यक्षमा यशोदा थापामगर लामा र सदस्यहरुमा शंकर थापामगर, सिर्जना श्रेष्ठ र हरि मिजार रहेका छन् । त्यसैगरी लेखासमिति संयोजकमा पुनम खड्गी एवं सदस्यमा सुनिता लामा थापा र प्रज्ज्वला थापा रहेका छन् । 

संस्थाले सदस्यहरुलाई विभिन्न रेमिट्यान्स सेवा समेत दिँदै आएको छ ।


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif