Wednesday, 16 January, 2019    |    २०७५ माघ २ गते , बुधवार

सदस्य र समुदायको आवश्यकता पूरा गर्नु नै सहकारिता


२०७५ पौष २३ गते , सोमवार प्रकाशित

पूर्णप्रसाद डंगोल कार्यकारी प्रमुख,
शुभेक्ता बचत तथा ऋण सहकारी संस्था लि.


२०६५ सालमा सानो पूँजीबाट शुरु भएको शुभेक्ता बचत तथा ऋण सहकारी संस्था लिमिटेड २०७५ सालमा आइपुग्दा आफ्नै भवनबाट कारोबार गर्न सक्ने भएको छ । ललितपुरको सैंबुमा स्थापना भएको उक्त संस्थाले समुदायलाई आवश्यक पर्ने क्याटरिङ, एम्बुलेन्स, रेमिट्यान्स तथा बचतऋणको कारोबारबाट आफ्ना सदस्यहरुलाई सेवा पुर्याउँदै आएको छ । सहकारीको माध्यमबाट समाजलाई केहि योगदान गरेर देखाउने उद्देश्यकासाथ २०५४ सालबाट यस क्षेत्रमा लागेको बताउने पूर्णप्रसाद डंगोल संस्थाका कार्यकारी प्रमुख हुन् । मेहनत, इमानदारिता र लगनशीलता नै सफलताको आधार भएको बताउने डंगोल तिनै कारणले गर्दा संस्थाले एक दशकमा समुदायमा छुट्टै पहिचान बनाउन सकेको बताउँछन् । समुदायको आवश्यकतालाई ध्यानमा राखेर अन्य संस्थाको तुलनामा फरक ढंगले अगाडि बढेकाले एक दशकको अवधिमा शुभेक्तालाई सैंबुक्षेत्रका स्थानीयले चिन्न सकेको उनको भनाई छ । सहकारी भनेको समाजसँग सहकार्य गर्ने र समाजकै उत्थानका लागि काम गर्ने संस्था भएकाले नाफालाई भन्दा सेवालाई पहिलो प्राथमिकता दिनुपर्ने उनको जोड छ । संस्थामार्फत कसैलाई दश हजार रुपैया आवश्यक पर्ने दिनसक्ने, विमारी परेका बेला सहायता गर्न सक्ने र गरिखान चाहनेहरुलाई पूँजी जुटाइदिने काम गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने गरेको डंगोल बताउँछन् । अरुको खुसी नै आफ्नो खुसी ठान्ने डंगोल सहकारीमार्फत समुदाय र सदस्यको सेवा गर्न पाउँदा दङ्ग छन् । 


शुभेक्ता बचत तथा ऋण सहकारी संस्था स्थापनाको १० वर्षे यात्रालाई कसरी सम्झनुहुन्छ ? 

हामीले सपना देखेर निरन्तर लागि पर्यौं भने एकदिन सपना पूरा हुन्छ भन्ने कुरा प्रमाणित भएको छ । निरन्तरता, मेहनत, लगनशीलता र इमानदारिता सहकारी अपरिहार्य छ । यहि कुराने गर्दा आज शुभेक्ता यो स्थानमा पुगेको हो । शुरुमा २५ जनाबाट १० हजारको दरले २ लाख ५० हजार जम्मा गरेर यो संस्था सुरु गरेका थियौं । आजसम्म आइपुग्दा ६/७ करोडको कारोबार पुगेको छ । संस्थाले आफ्नै भवन बनाउन सफल भएको छ । १० औं साधारणसभाका अवसरमा संस्थाको भन उद्घाटन गर्ने र त्यहिँबाट सदस्यहरुलाई वित्तीय कारोबार प्रदान गर्ने योजना हाम्रो छ । 

शुरुका दिनमा हामीलाई संस्था अगाडि बढाउन निकै गार्हो भएको थिए । यस क्षेत्रमा भएका ठूला सहकारीहरुले बचतमा बढि ब्याज दिँदा हामीलाई बचत संकलनमा पनि गार्हो थियो । अहिले हामीलाई यस क्षेत्रका सबैले विश्वास गरेर कारोबार गरिराख्नुभएको छ । जसको परिणाम संस्थाको शेयरपूँजी, बचत र सदस्य संख्या वृद्धि हुँदै गएको छ । १० वर्ष अगाडि आफूले देखेको एउटा सपना पूरा भएको मलाई महशुस भएको छ । 
जुन समयमा संस्था शुरु गर्नुभएको थियो, त्यो बेला संस्थाको आफ्नै भवनबाट कारोबार गरेको देख्ने लक्ष्य राख्नुभएको थियो ? 

विगतको स्मरण गर्दा हामीलाई धेरै गार्हो थियो । संस्था स्थापना गर्दा नै मैले १० वर्षमा संस्थालाई यो ठाउँमा पु¥याउँछु भनेर सोचिसकेको थिएँ । यहि उद्देश्य राखेर सुरुको वर्षमा नै संस्थाको जग्गा खरिद गर्यौं । संस्थालाई माथि उठाउन मैले, आफ्नो व्यवसाय छाडेर पूर्ण रुपमा सहकारीमा लागेँ । सञ्चालक समितिको अथक मेहनत र लगावका साथै सदस्यहरुले गरेको विश्वास कै कारण हामी यो अवस्थामा आइपुग्न सकेका हौं । 

तपाईंहरुले जतिबेला यो क्षेत्रमा संस्था सुरु गर्नुभयो, संस्थाको गतिविधिलाई कसरी अगाडि बढाउनुभयो त ? 
हामीले स्थापना कालदेखि नै सीमित सोच विचार नराखि यस क्षेत्रमा बेग्लै पहिचानकासाथ संस्थाको काम अगाडि बढायौं । थोरै पूँजी भएको बेलामा समेत हामीले नयाँनयाँ कामहरु शुरु गर्यौं । हामी सञ्चालकहरु टोलटोलमा गएर सहकारीको बारेमा बतायौं । सहकारीमा सदस्य बनेर कारोबार गर्न सबैलाई भन्यौं । यस क्षेत्रमा क्याटरिङ सेवा थिएन । हामीले क्याटरिङ सेवा शुरु गर्यौं । स्थानीयहरुलाई अस्पताल जान सजिलो होस भनेर एम्बुलेन्स सुरु गर्यौं । यसले गर्दा स्थानीयबासीको संस्थाप्रतिको विश्वास बढ्दै गयो । त्यसका साथै यस क्षेत्रमा पहिलो पटक रेमिट्यान्स सेवा हामीले भित्रायौं । यसले सदस्यहरुको आकर्षण संस्थाप्रति झन् बढ्यो । हरेक वर्ष नौलो कार्यक्रम गर्दै जाँदा सदस्यहरुको विश्वास संस्थाप्रति बढ्दै गयो । हामी बचतऋणमा मात्रै सीमित भएनौं । सदस्यहरुको मृत्यु भएमा आश्रित परिवारलाई राहतस्वरुप रकम प्रदान गर्यौं । वर्षेनि स्थापना दिवसको अवसर पारेर अनाथ बालबालिका तथा विद्यालयका जेहेनदार छात्रछात्रालाई स्टेशनरी तथा छात्रवृत्ति प्रदान जस्ता अतिरिक्त कार्यक्रमहरु गर्दै आएका छौं । यसैले ‘स्थानीयको चिनारी, शुभेक्ता हाम्रो सहकारी’ भन्ने नारा हामीले अघि सारेका हौं । यस क्षेत्रमा भएका सहकारी मध्ये सबैभन्दा बढि अतिरिक्त क्रियाकलाप गर्ने संस्थाको रुपमा हामी चिनिन्छौं । सहकारीले हेर्ने भनेको समाजलाई नै हो । समाजलाई सहयोग ग¥यो भने समाजप्रतिको दायित्व पनि पूरा हुन्छ । सदस्यहरुको विश्वास पनि बढ्दै जान्छ । हामी दश वर्षमा यस क्षेत्रमा स्थापित भएका छौं र यहाँको प्रत्येक टोलबासीलाई शुभेक्ताको बारेमा थाहा छ ।

समाज रुपान्तरण नै शुभेक्ताको ध्येय हो ?

समाजप्रति केहि न केहि गर्नुपर्छ भनेर हामी सोचिराखेका हुन्छौं । सहकारी खोलेर पैसा मात्र कमाउने होइन । समाजप्रति उत्तरदायी हुनु र संस्थाको श्रोतसाधनले भ्याउन सक्ने काम गर्नु नै सहकारीको मर्म हो । 

संस्थाले सदस्यहरुलाई सम्पन्न बनाउन पनि त काम गर्दै आएको होला नि ? 

सदस्यहरुलाई आर्थिक रुपमा सबल बनाउन  व्यापारव्यवसाय, कृषि र ससाना उद्योगमा लगानी गर्दै आएका छौं । त्यसैगरी यूवा स्वरोजगार कोषबाट ५० लाख ऋण लिएर उद्यम गर्न चाहने सदस्यहरुलाई २ लाख प्रतिव्यक्ति सुलभ दरमा लगानी गर्दै आएका छौं । यहाँको परम्परागत हस्तकला, कृषि, पशुपालनका क्षेत्रमा लगानी गरी सदस्यहरुलाई उद्यमी बनाउन हामीले सहयोग पु¥याएका छौं । त्यसैगरी व्यवसाय गर्न जोशजाँगर भएका तथा पूँजीको अभावले त्यसै बसेकाहलाई उनीहरुको क्षमता अनुसार सहज रुपमा ऋण लगानी गर्दै आएका छौं । सहकारीको ध्येय भनेको पूँजी दिएर सदस्यालाई उद्यमी बनाउने हो । स्वरोजगारको पैसा ३० जना सदस्यलाई दिएका छौं । यसले उनीहरुलाई उद्यमी बन्न सजिलो भएको छ । 



संस्थाको समग्र अवस्था के छ ? 

संस्थामा २ हजारको हाराहारीमा शेयर सदस्य र बचतकर्ता पुगेका छन् । प्रत्येक सदस्यलाई न्यूनतम १० कित्ता शेयर खरिद गर्न भनेका छौं । यसरी नै संस्थाको शेयरपूँजीलाई बृद्धि गर्दै लगेका छौं । शेयरपूँजीलाई बृद्धि गर्न यस वर्ष नयाँ योजना ल्याउने तयारी गर्दै छौं । संस्थाको शेयर खरिद गर्ने सदस्यहरुको बीमा गर्न बीमा गर्न कम्पनीसँग छलफल गरिराखेका छौं । उनीहरुको स्वास्थ्य, दुर्घटना तथा जीवन बीमा गर्ने हाम्रो योजना छ । त्यसैगरी ऋणमा पनि बीमा सुविधा दिने तयारी छ । यसले सदस्यहरुको जोखिम बहन गर्नुको साथै सुरक्षित कारोबार गर्न सहयोग मिल्छ । संस्थाको बचत ऋण कारोबार बढ्दै गएको छ । हालसम्म ६ करोड बचत पुगेको छ । हामीले सबै बचतकर्तालाई सहकारीको बारेमा बुझाएर शेयर खरिद गर्न भनेका छौं । संस्थामा आवद्ध सबैलाई शेयर सदस्य बनाउने काममा हामी लागेका छौं । 

समुदायमा भएका एवं खालका मानिसहरुलाई संस्थाले कसरी समेटेको छ ? 

हामीले समुदायका सबै वर्गका मानिसलाई समेट्ने गरी विभिन्न बचत खाता सञ्चालन गरेका छौं । त्यसका साथै आपतकालिन अवस्थामा २५ हजार रुपैयासम्म ऋण उपलब्ध गराउँछौं । महिला, बालबालिका, वृद्धवृद्धा र समूहमार्फत सदस्य बनाउने र लघुवित्त जस्तै कार्यक्रम सञ्चालन गरी सबैलाई संस्थामा समेट्ने प्रयास गरेका छौं ।

समाज रुपान्तरणमा सहकारीले खेलेको भूमिकालाई कसरी लिन सकिन्छ ? 

समाजसँग सहकारी जोड्नै पर्छ र समाजसँग सहकारी जोड्न सकिएन भने त्यो सहकारी नै होइन । समाजलाई रुपान्तरण गर्न सहकारीको भूमिका हुन्छ । ससानो बचत संकलन गरी त्यस्तै क्षेत्रमा लगानी गर्ने, सुलभ ब्याजदरमा ऋण लगानी गरी सदस्यहरुको व्यवसाय प्रवद्र्धन गर्ने काम सहकारीले गर्नुपर्छ । हामीले पनि ४ सय शेयर सदस्यलाई ऋण प्रवाह गरिसकेका छौं । धेरै सदस्यको आर्थिक स्तर सुधार भएको छ । अब सहकारी बिनाको समाज कल्पना गर्न सकिँदैन । सहकारीहरु नाफामुखी  मात्र हुनुहुँदैन । बचतमा पनि बढि ब्याज दिने र ऋण दिँदा पनि बढि लिएर लगानी गर्ने गरेको पाइन्छ । सहकारीले स्प्रेड दर कायम गर्नुपर्छ । यसले सदस्यहरुलाई पनि मर्का पर्दैन । चर्को ब्याजमा ऋण लगानी गर्दा नाफा त बढ्छ तर यसले सदस्यहरुलाई मर्का पार्छ । 

नयाँ व्यवस्था अनुसार सहकारीहरु स्थानीय तहमा हस्तान्तरण भएका छन् ? महानगरपालिकाले सहकारीको प्रवद्र्धनमा कसरी काम गर्दै आएको छ ? 

हिजो डिभिजन सहकारी कार्यालय थियो । त्यहाँ आठदश जना कर्मचारी थिए । अहिले महानगरपालिकामा १ जना मात्रै कर्मचारी छन् । यहा ३०० को हाराहारीमा सहकारी छन् । १ जनाले यति धेरै संस्थालाई कसरी सेवा दिने ? स्थानीय तहमा सहकारी हस्तान्तरण गर्नु राम्रो काम भएपनि सहकारीहरुको कसरी व्यवस्थापना गर्ने भन्नेतर्फ राज्यले सोच्नुपर्छ । स्थानीय तहमा सहकारी आएको लामो समय नभएपनि राज्यले यस क्षेत्रको व्यवस्थापनमा ध्यान दिन जरुरी छ । 

सैंबु भैसेपाटीका सहकारीले सदस्यको हितको लागि कसरी काम गरिराखेका छन् ? 

सायद यहाँका सबै संस्था सेवामुखी नै छन् । विशेषतः स्थानीय व्यक्तिहरुले नै संस्था चलाइराखेका छन् । कुनै संस्थाले रक्तदान त अर्को संस्थाले स्वास्थ्य शिविर जस्ता कार्यक्रम चलाइराखेका हुन्छन् । नेवारी समुदायमा हुने फजुल खर्चलाई घटाइ मितव्ययिता अपनाउन पनि सिकाइरहेका छन् । खोकनामा रहेको सिकाली बहुउद्देश्यीयले तेल उत्पादन गरिराखेको छ । त्यसैगरी यहाँका सहकारी मिलेर नयाँ क्षेत्रमा लगानी गर्ने योजना हामीले बनाएका छौं । यस क्षेत्रका केहि सहकारी मिलेर एउटा सञ्जाल बनएका छौं । सबै संस्थाको ससानो रकमलाई एकिकृत गरी अस्पताल, विद्यालय, होटल, केहि न केहि नयाँ काम सुरु गर्ने हाम्रो योजना छ । 

सहकारीले अर्थतन्त्रको ३ मध्ये एक खम्बाको काम गर्न सक्छ ? 

सहकारीलाई अर्थतन्त्रको ३ मध्ये एउटा खम्बाको रुपमा लिइएको छ । एकदुई वटा सहकारीले गलत काम गरेका होलान् । तर सबै सहकारीलाई एउटै टोकरीमा राख्न मिल्दैन । देशमा उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना र उद्यमशीलताको विकासमा सहकारीले ठूलो भूमिका खेलेको छ । अझ सहकारीको भूमिकालाई बढाउँदै लैजानुपर्छ । 

सहकारीमा टिम मिल्नुपर्छ । मनमुटाव हुनुहुँदैन र समुदायलाई कसरी सेवा पु¥याउन सकिन्छ भनेर सोच्नुपर्छ । सायद सहकारीमा नजोडिएका मानिसहरु बिरलै नै होलान् । जो सहकारीमा जोडिएन, ऊ पछि पर्छ । सबैलाई सहकारीमा जोड्नैपर्ने हुन्छ । सहकारीको काम भनेको समाजसँग सहकार्य गर्ने हो । सहकारी र समाज मिलेर जाँदा मात्रै सफलता प्राप्त हुन्छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif