Monday, 18 March, 2019    |    २०७५ चैत्र ४ गते , सोमवार

राप्ती र नारायणीमा घडियाल गोहीको सङ्ख्या बढ्यो


२०७५ पौष १२ गते , विहीवार प्रकाशित

            चितवन । राप्ती र नारायणी नदीमा घडियाल गोहीको सङ्ख्या बढेको छ । राप्तीमा ३४ र नारायणीमा १९ घडियाल बढेका हुन् । 

    राप्तीमा ११८ र नारायणीमा १०१ गोही भेटिएका छन् । सन् २०१६ को गणनाअनुसार राप्तीमा ८४ र नारायणीमा ८२ गोही थिए । राष्ट्रिय निकुञ्ज विभागले गत फेब्रुअरी र मार्च महीनामा गरेको गणनाको नतिजा ढिला गरी सार्वजनिक गरेको हो । नतिजाअनुसार राप्तीमा वयस्क ३६, अर्ध वयस्क १२, ठूला बच्चा ६६ र चार साना बच्चा गरी ११८ गोही भेटिएका छन् । 


    नतिजाअनुसार नारायणीमा वयस्क ३१, अर्ध वयस्क ५४, ठूला बच्चा १३ र साना बच्चा तीन गरी १०१ गोही फेला परेका छन् । राप्तीमा दुई वयस्क भाले र नारायणीमा एउटा वयस्क भाले गोही भेटिएका छन् भने अन्य सबै पोथी गोही हुन् । भाले गोहीको सङ्ख्या न्यून भएपछि सन् २०१७ मा बर्दियाबाट एउटा भाले गोही यहाँ ल्याइएको थियो । 

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार राप्तीमा ४० प्रतिशत र नारायणीमा २३ प्रतिशत गोहीको सङ्ख्यामा वृद्धि भएको छ । राप्ती र नारायणी नदीलाई विभिन्न भागमा विभाजन गरेर प्रत्यक्ष गणना गरिएको थियो । प्राविधिक र कर्मचारी गरी ४० जनाले दुई नदी र शाखामा गणना गरेका थिए । सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । गणनामा सन्तोषजनक नतिजा भने प्राप्त हुन सकेको छैन । 

 

राप्तीमा प्रजनन् केन्द्रमा हुर्काएर हालसम्म ६८५ गोही छाडिसकिएको छ भने नारायणीमा ३९९ गोही छाडिएको छ । हालसम्म कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबइमा ११० गोही छोडिसकिएको छ । सबै नदीमा गरी १ हजार ३६५ गोही छाडिसकिएको छ । नेपालका नदीमा छाडिएका गोही पानीसँगै भारत पुग्ने गरेका छन् । गण्डक ब्यारेजका कारण गोही भारततर्फ जान सक्छन् भने फर्किन सक्दैनन् । नेपालमा हुर्काएर नदीमा छोडेका गोही भारत पुग्ने गरेका हुन् । 

    नदीमा प्रदूषण बढ्दा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको ढकालले बताउनुभयो । हाल सार्वजनिक तथ्याङ्क बढे पनि नदीमा छोडिएको गोहीको तुलनामा सङ्ख्या न्यून हो । प्रजनन् केन्द्रमा हाल ५५० हाराहारी गोही छन् । हरेक वर्ष गोही भएका नदी किनारबाट अण्डा सङ्कलन गरी प्रजनन् केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif