Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

धितोपत्र सम्बन्धी पाठ्यक्रम विद्यालयमा राख्न सुझाव


२०७५ मंसीर २० गते , विहीवार प्रकाशित

पूँजी बजारको विस्तार तथा विकासका लागि विद्यालय तथा विश्वविद्यालयतहमा धितोपत्र बजारसम्बन्धी विषय पाठ्यक्रममा राखेर अध्ययन अध्यापन गराउन नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ । 

बोर्डका प्रवक्ता नीरज गिरीले माध्यमिक र विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहमा धितोपत्र बजारसम्बन्धी विषयवस्तु समावेश गर्न आग्रह गरिएको जानकारी दिए। बोर्डले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका मानविकी तथा समाजशास्त्र, व्यवस्थापन, कानून सङ्काय, डीनको कार्यालय र पूर्वाञ्चल, पोखरा, मध्य पश्चिमाञ्चल र काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टलाई आग्रह गरेको छ । 

लोकसेवा आयोगलाई समेत धितोपत्र बजारसम्बन्धी विषयलाई आफ्ना पाठ्यक्रमममा समावेश गर्न आग्रह गरेको बोर्डको भनाइ छ । सरकारले वित्तीय क्षेत्र विकास रणनीतिमा पूँजी बजारमा आम जनताको सहभागितालाई प्रोत्साहन गर्ने रणनीति लिएको छ । बोर्डको चालू आर्थिक वर्षको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममासमेत उक्त विषय समावेश गरिएको छ । 

देशका ७७ जिल्ला र ७५३ स्थानीय तहमध्ये करीब ७०० तहमा धितोपत्रको प्राथमिक बजारको पहुँच पुगेको छ । धितोपत्रको दोस्रो बजार नयाँ स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा आइसकेको छ । नेपालको धितोपत्र बजार विस्तार हुने क्रममा रहेको र नेपालको बजार देशको समग्र वित्तीय प्रणालीको अभिन्न अङ्ग भएकाले पनि अध्ययन अध्यापन गराउनु जरुरी रहेको बोर्डको भनाइ छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif