Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

वैदेशिक रोजगार कार्यालयले टोकन प्रणाली अपनाउने


२०७५ मंसीर १२ गते , बुधवार प्रकाशित

वैदेशिक रोजगार कार्यालय ताहचलले श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन टोकन प्रणाली शुरु गर्ने भएको छ । 

यही मङ्सिर १६ गतेदेखि टोकन प्रणालीअनुसार नयाँ श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र कागजात प्रमाणीकरण गरिने कार्यालयका प्रमुख युवराज खतिवडाले जानकारी दिए । रोजगार कार्यालयमा व्यवस्थित प्रणाली नहुँदा विदेश जाने युवाले निकै सास्ती खेप्दै आएका छन् । श्रम स्वीकृति लिनकै लागि अघिल्लो दिनदेखि लाइनमा बस्नुपर्ने बाध्यता छ । 

वैदेशिक रोजगार विभागको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ‘एफइआइएमएस’बाट प्राप्त निवेदनमा उल्लेख भएको टोकन नम्बरका आधरमा तोकिएको मिति र समयमा मात्र सेवा प्राप्त गर्न सकिने उनले बताए। दैनिक ९०० लाई टोकन वितरण गर्ने गरी सफ्टवेयरको विकास गरिएको छ । 

प्रमुख खतिवडाले टोकन प्राप्त गर्ने युवालाई सोही दिन सेवा प्रदान गरिने बताए । सफ्टवेयरले दिएको मिति र समयभित्रै सेवा लिन कार्यालयमा आउनसमेत उनले आग्रह गरे । प्रमुख खतिवडाले भने, “सेवाग्राहीले टोकन लिएको दिनमै सेवा लिन आउनुभयो भने सोही दिन हामी ९०० लाई नै सेवा प्रदान गर्न सक्छौँ । यसबाट सेवाग्राही भोक, निन्द्रा नभनी लाइनमा बस्न आउनु पर्दैन । श्रम स्वीकृति प्रक्रियालाई व्यवस्थित बनाउन सक्छौँ ।” 

कार्यालयबाट सरकारले रोजगारीका लागि खुला गरेका ११० मुलुकका लागि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति प्रदान हुँदै आएको छ । अहिले दैनिक एक हजारभन्दा बढीले नयाँ श्रम स्वीकृति, पुनःश्रम स्वीकृति लिने गरेका कार्यालयले जनाएको छ । 

कार्यालयले बिहान ८ देखि साँझ ७ बजेसम्म सेवा प्रदान गर्दै आएको छ । शनिबारका दिनसमेत श्रम स्वीकृति प्रदान गरिँदै आइएको प्रमुख खतिवडाले बताए । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif