Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

यो देशको उन्नति


२०७५ मंसीर ९ गते , आईतवार प्रकाशित



देख्दैनन् किन भित्रका नयनले यो देश चल्ने गति।
लेख्दैनन् किन हातका कलमले यो देशको उन्नति ।
के ले छेक्छ उघारिँदैन कहिल्यै मान्छेहरुको मति।
खै श्रद्धा शुभभावना हृदयको नेपाल आमा प्रति।१।


बग्छन् अम्रित शैलबाट कहिल्यै सुक्दै नसुक्ने यहाँ ।
छन् अग्ला हिमशैल उच्च चुचुरा झुक्दै नझुक्ने यहाँ ।
झुक्छन् केवल स्वार्थ प्रेरित बडा मान्छेहरू दिन्दिन।
यो सङ्कीर्ण बिचार अन्त्य नभए नेपाल बन्थ्यो किन।२।


आफैं खुम्चिरहन्छ नित्य अगुवा छेकेर बाटो यहाँ ।
चल्दैनन् जब पाखुरा अवनिको टेकेर माटो यहाँ।
के वर्षन्छ र टिप्न मिल्छ सजिलै मौका गुमाएपछि।
खुल्दैनन् गतिरोध अन्ध पनले खुट्टा घुमाएपछि ।३।

धेरै संरचना बिध्वंश गरिए संघर्षको नाउँमा। 
मर्नेको अभिलेख गायब भयो चढ्ने पुगे ठाउँमा।
उस्तै छन्अझ दुक्खका दिन कठै!बल्झिरहेछन् कति।
यो दुर्दान्त बिहालबाट कहिले होला नयाँ उन्नति ।४।


फोहोरी इतिहासमा रगतका टाटा लुकाइकन।
बेची नैतिकता इमान सजिलै माथा झुकाइकन।
बन्छन् साधन श्रोत बन्धक यहाँ पत्तै नपाई कति।
यो खुङ्खार प्रवृत्तिबाट कहिले होला र के उन्नति।५।


मोती फल्छ यहाँ फलाउँन सके भूस्वर्ग यै हो तर।
भै आक्रान्त रुँदैछ दिन्दिन सधैं नेपाल यो धर्धर।
चल्छन् बर्बरपूर्ण पाशविकता खप्नै नसक्ने अति ।
कस्तो तन्त्र पछडि हुन्छ अब खै नेपालको उन्नति।६।



शिक्षा स्वास्थ्य र रोजगार छ यहाँ पाखण्डको हातमा।
मान्छे खण्डित छन् भिडन्त छ सधैं आपस्तमा जातमा।
पर्दाभित्र छ शक्तिकेन्द्र अझ छन् धन्दा कति हो कति।
लाखौं कर्तुत भित्रबाट कसले गर्ला र के उन्नति।७।


मच्चिन्छन् परदेशका सडकमा हाम्रा युवा पाखुरा।
झुक्दैछन् अपमानले दिनदिनै सद्भावका आँकुरा।
भत्केको छ जरा जरा मुलुकको झन् जीर्ण बन्दैअति।
आफ्नो पेट मिचेर गर्छ कसले नेपालको उन्नति ।८।


हामी वीर थियौं बहदुर थियौं बन्दै गयौं कायर।
वैरीको शिर झुक्दथ्यो समरमा मानेर हाम्रो डर।
टेक्दैछन् अहिले चढेर शिरमा श्रद्धा तिनैका प्रति।
नेहोरासित अर्पिएपछि यहाँ होला र के उन्नति।९।
 

छन् अध्याय अनेक काण्ड घटना खुल्दै नखुल्ने कति।
अन्धो कानुन दण्ड गर्दछ अझै निर्दाेष मान्छे प्रति।
बोकी हिड्नु हुँदैन वीर जनले धोका र यो ज्याद्दती 
राखी आँट बदल्न कम्मर कसौँ यो देशको पद्धति।१०।


  चुरेघाँटी, इलाम 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif