Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

अन्य महानगरपालिकाको तुलनामा उल्लेख्य काम गरेका छौं — महर्जन


२०७५ मंसीर ३ गते , सोमवार प्रकाशित

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् । एक साक्षात्कार कार्यक्रममा बोल्दै मेयर महर्जनले जनताको अपेक्षाअनुसार आफूले काम गरिरहेको स्पष्ट पारे । 

उनले भने, ‘आजको मितिले हाम्रो कार्यकाल डेढ वर्ष पुगेको छ, यो समयमा हामीले अपेक्षाअनुसारको प्रतिफल हाँसिल गर्न नसकेपनि अरुकोभन्दा धेरै राम्रा काम गरिरहेका छौं।’ 

मेयर महर्जनले स्थानीय तहको कानून, कर्मचारी समायोजन लगायतका विषयहरुले चुनावी घोषणा अनुसारको काम गर्न नसकेको स्विकार गरेका छन् । उनले भने,‘चुनावी घोषणापत्रका अनुसार काम गर्न सकिएको छैन्, १८÷२० वर्षदेखि काम गर्दै आएका कर्मचारीको बानी बदल्नु भनेको महाभारतको लडाईजस्तै भैरहेको छ, जनप्रतिनिधिलाई सहयोग गर्ने र जनताको सेवा गर्नुपर्छ भावना कर्मचारीमा कम छ, करारमा भएपनि कर्मचारी राखेर जनताको सेवा गर्ने र महानगरपालिकाको विकास गर्नेमा हामी प्रतिवद्ध छौं ।’ 

उनले ललितपुर महानगरपालिका ‘हस्तकला नगरी’ भएको बताउँदै साना, मझौला र ठूला उद्योगको कोणबाट उत्पादनमासमेत अघि रहेको जिकिर गरे । उनले भने,‘हाम्रो महानगर ‘हस्तकला नगरी’ हो । यहाँ प्रत्येक घरमा उद्योगको उपस्थिति छ, मेरै पहलमा ललितपुरलाई विश्वको ३५ औं ‘हस्तकला नगरी’ घोषणा गराउन हामी सफल भएका छौं । अन्य विश्वसम्पदा सूचिमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु छन्, भूकम्पको कारण प्रायः सम्पदाहरुको पूननिर्माण गर्नुपर्ने हाम्रो मुख्य चुनौती हो, केही मन्दीरहरु मित्र राष्ट्रको आर्थिक सहयोगमा बन्दैछन्, केही सम्पदाहरु नेपाल सरकार र स्थानीय सरकारको सहयोगमा बन्दैछन् ।’ उनले ललितपुरभित्र पूनर्निर्माणका कामहरु तिव्र गतिमा अघि बढाईएको पनि विश्वास दिलाए । 

नेपाल विद्युत प्राधिकरणसँग मिलेर महानगरपालिकाभित्रका मुख्य सडकहरुमा ‘स्मार्ट स्ट्रिट लाईट’ जोड्न लागेको पनि उनले जनाए । महर्जनले भने,‘हामीसँग प्राविधिक जनशक्तिको अभाव छ । त्यही भएर विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङजीसँगको सल्लाहबमोजिम हामी यो कामलाई अघि बढाउँछौं । अब हामी चाँडै नयाँ टेण्डरको आह्वान गरेर काम थाल्छौं । र, यसको साथसाथै सिसिटीभी जडानको कामलाई पनि हामी तिव्रताका साथ सम्पन्न गर्छौं ।’ 

उक्त ‘स्मार्ट लाईट’ बाट बाटोको साईज, यात्रुको अवस्था र सवारीसाधनको अवस्थालगायत सबै कुरा ‘अटोमेटिक’ जान्न सकिने उनको भनाई छ । त्यस्तै ललितपुर महानगरभित्र रानीपोखरीभन्दा पुरानो पिम्बाहल पोखरी निर्माण भएरपनि पर्यटकहरु घुम्ने अवस्था भैसकेको उनले जनाए । 

महर्जनले बर्षौदेखि मान्न छोडिएका नाँचहरुसमेतलाई अहिले पुनः सूचारु गरिएको बताए । उनले भने,‘विगत कयौं वर्षदेखि हाम्रोमा नवदुर्गा नाँचको व्यवस्था टुटेको थियो । चल्न सकेको थिएन । हामीले गत वर्षमा त्यो नाँचलाई अथक प्रयासबाट सुचारु गर्यौं । २४ वर्षदेखि रोकिएको खड्गे जात्रालाई अहिले हामीले पूनः सूचारु गरेका छौं ।’ 

संघीय, प्रादेशिक र स्थानीय सरकारले बिलाषिता अपनायो नि भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले भने,‘अरुले के गरे ? त्यो मलाई थाहा छैन्, मैले चढ्ने गाढी २४ वर्ष पुरानो छ, स्वयम् मैले नै तीनपटक धकेलेर गाडी चलाएका छौं, मलाई र मेरो नेतृत्वमा रहेको महानगरको स्थानीय सरकारलाई यस्तो आरोपले छुँदैन, हामी विलाषिताभन्दा टाढा छौं ।’ 

महानगरकै विकास र केही व्यक्तिगत रुपमा आफूले विभिन्न ७ देशको भम्रण गरेको स्वीकार गर्दै मेयर महर्जनले भने,‘श्रीलङ्का ‘सिटी–नेट’ परिषदमा १३८ सदस्य हुन्छन्, जसमध्ये म १३ औं सदस्यमा निर्वाचित भएर आएको छु, त्यसले हाम्रो महानगरको विकासका लागि धेरै ठूलो सहयोग मिलेको छ ।’ आफ्नो प्रत्येक विदेश भ्रमणले आफ्नो संस्था र नगरको लागि फाईदा नै पुगेको उनको दाबी छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif