Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

हस्तकला मेलामा ९ करोडको कारोबार


२०७५ मंसीर २ गते , आईतवार प्रकाशित

नेपाल हस्तकला महासंघद्वारा आयोजित १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता सम्पन्न भएको छ । 

मेलाको अवधिमा स्टलमा भएको प्रत्यक्ष विक्री र अर्डर समेत गरी करिव रु ८ करोड ७५ लाख हारहारीमा आर्थिक कारोबार भएको अनुमान आयोजकको छ । त्यसैगरी मेलामा १ लाख ३५ हजार भन्दा बढि आगन्तुकहरुले मेला अवलोकन गरेका छन् । 

मेलामा ७ वटा पेभिलियन सहित १७२ वटा स्टल रहेका थिए । स्वतन्त्र निर्णायक मण्डलबाट स्टलको लेआउट, प्रदर्शकको व्यवहार, सृजनशीलता (सीप र कलाकारिता) कच्चा पद्धार्थको उपलब्धता, व्यापार संभाव्यता आदिको आधार लिई सबैभन्दा बढि अंक प्राप्त गर्ने एक पेभिलियन एक स्टललाई पुरस्कृत गरिएको छ ।  

मेलामा देश भरिकै स्थानीय हस्तकला वस्तुको प्रतिनिधित्व गराउने महासंघको लक्ष्य भएता पनि यस मेलामा प्रत्यक्ष रुपमा २० भन्दा बढि जिल्लाका स्थानीय हस्तकला वस्तुहरुको प्रतिनिधित्व गरेका थिए । यसको अतिरिक्त नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल व्यापार एकिकृत रणनीतिभित्र परेका वस्तुहरुलाई पनि मेलामा उच्च प्राथमिकतामा पश्मिना, जुत्ता, टेक्सटाईल र छालाका सामानहरु प्रदर्शन गरिएका थिए । 

विभिन्न जातजाती तथा समुदायमा विकसित हस्तकला तथा संस्कृति बीच रहको सम्वन्धलाई प्रस्फुटित गर्ने उद्देश्यले यस मेलाको अवधिमा प्रमुख आकर्षणको रुपमा  योगिनी नृत्य, कुमारी नृत्य, चर्या नृत्य, तामाङ सेलो, झ्याउरे नृत्य, आर्यतारा नाच र पञ्चबूद्ध नृत्य आदि प्रदर्शन गरिएको थियो । 

मेलामा हातेकागज, सेरामिक्स, पश्मिना, अल्लो तथा उनीजन्य वस्तुका साथै गरगहना तथा वस्तुहरु, प्राकृतिक रेशा, नट क्राफ्ट र कटनका सामान र टाईडाई गरेकोे सामानहरुको डिजाईन प्रक्षेपण एवं प्रदर्शनी गरिएको थियो । 



मेलाको प्रमुख आकर्षणको रुपमा रहेको १४ औं हस्तकला जीवन्त प्रतियोगिता यस बर्ष परम्परागत विधातर्फ “मैनको मूर्ति” र आधुनिक विधातर्फ “ढाका बुनाई” मा संचालन गरिएको थियो । दुवै विधामा गरी जम्मा २७ जनाको सहभागिता रहेको थियो । 

महासंघले सबैभन्दा बढि निकासी गर्ने सदस्यहरु मध्येबाट ३ जना र गैर सदस्यबाट १ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । ५ करोड भन्दा माथि र एक करोड भन्दा बढि निर्यात गर्ने व्यक्तिहरु र उत्कृष्ट उद्यमी तथा उत्कृष्ट कलाकारलाई पनि मेला समुद्घाटन समारोहमा सम्मान गरिएको थियो । 

मेलाको समापन प्रमुख अतिथि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा र विशिष्ट अतिथि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको आतिथ्यतामा गरिएको थियो । सो कार्यक्रममा महासंघका निबर्तमान अध्यक्ष तथा मेलाका प्रमुख संयोजक हेमरत्न शाक्यले मेलाको मूल्याकन उत्कृष्ट प्याभिलियन, उत्कृष्ट स्टल, उत्कृष्ट वस्तु छनौट प्रकृया बारेमा संक्षिप्त विवरण पेश गरेका थिए । 

त्यसैगरी हस्तकला प्रतियोगिताका संयोजक प्रचण्ड शाक्यबाट कला प्रतियोगिताको मूल्यांकन तथा उत्कृष्ट कलकार छनोट प्रकृयाबारे जानकारी प्रस्तुत गरेका थिए ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif