Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

नेपाल कम्युनिष्ट पार्टीको नाम विवाद किन


२०७५ कार्तीक २८ गते , बुधवार प्रकाशित






कृष्णहरि भट्ट





यतिबेला नेपालको राजनीतिक वृत्तमा नेपाल कम्युनिष्ट पार्टीको नाम विवाद चर्को रूपमा सतहमा आएको छ । दलीय व्यवस्थामा दल र दलीय पहिचान नै मुख्य कुरा हो । निर्वाचन आयोगमा २०७० मा भएको दोश्रो संविधानसभा अघि नै निर्वाचन आयोगमा ऋषि कट्टेलको नेतृत्वमा ‘नेपाल कम्युनिष्ट पार्टी’ को नाममा दल दर्ता भई क्रियाशील रहेको हुँदाहुँदै ओली र प्रचण्ड अध्यक्ष रहका दुई पार्टी एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी नाम राखी निर्वाचन आयोगमा दल दर्ता गर्न गएपछि नेपाल कम्युनिष्ट पार्टीको नाम विवाद चर्केको हो । 

नेपालमा कम्युनिष्ट पार्टीको गठन र वैधानिकता

नेपालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ सालमा पुष्पलालले गरेका हुन् । नेपाली समाजमा रहेका युगिन शोषण उत्पीडन र विभेदको समुल नष्ट गर्ने उद्देश्यकासाथ नेपाली जनताको मुक्ति र समृद्धिको मुख्य बाधक घरेलु सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद, भारतीय सत्ताको विस्तारवादी प्रभुत्ववाद र अमेरिकी साम्राज्यवादी शोषण उत्पीडन हो । यसको अन्त्य गर्दै नयाँ जनवादी राज्यव्यवस्थाको स्थापना गर्नु नेपाल कम्युनिष्ट पार्टी (नेपाली क्रान्ति) को न्यूनतम कार्यभार हो । यसका लागि किसान मजदुरको नेतृत्व, राष्ट्रिय स्वाधीनताका पक्षधर शक्तिहरू, महिला, विद्यार्थी, पेशाकर्मी लगायत सामाजिक न्यायका पक्षधरहरूको सहयोग अनिवार्य हुन्छ । र यी तमाम कार्यभार अन्य पार्टीबाट पुरा नहुने भएकाले नेपाल कम्युनिष्ट पार्टीको अनिवार्य आवश्यकता महसुस गरेर गठन गरिएको थियो । सोही अनुरूप काम भए नभएको, गरे नगरेको बारेमा विश्लेषण गर्ने हो भने पनि यसको वैधानिकताको बारेमा प्रष्ट हुन सकिन्छ । नेपाल कम्युनिष्ट पार्टीकोे वैधानिकता र आधिकारिकता कसमा कसरी हुन्छ भन्ने कुरा माक्र्सवादी दृष्टिकोणका आधारमा निरूपण गर्न सकिन्छ साथै कानुनी, सैद्धान्तिक र व्यवहारिक हिसाबले पनि । यस अर्थमा ब्राकेटको नेकपा भन्ने दल कम्युनिष्ट पार्टी होइन भन्ने यसरी प्रष्ट हुन्छ ।

कानुनी वैधानिकता

कानुनी रूपमा पनि नेपाल कम्युतिष्ट पार्टी वैधानिक पार्टी हो । माथि नै उल्लेख भई सक्यो कि यो पार्टी २०७० को संविधानसभाको निर्वाचनमा सहभागि दल हो । २०७२ को संविधान र दल दर्ता ऐन २०७३ अनुसार निर्वाचान आयोगमा नवीकरण भएको दल हो । निर्वाचन आयोगमा ‘नेपाल कम्युनिष्ट पार्टी’को नाममा दर्ता रहेको यो पार्टीको संक्षिप्त नाम (नेकपा) रहेको छ । अहिले नयाँ दर्ता गरिएको दलको नाम पनि नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) रहेको छ । निर्वाचन आयोगमा अन्य कम्युनिष्ट पार्टीहरू पनि ब्राकेटभित्र फरकफरक नाम राखेर दर्ता छन् । तर ब्राकेटमा ( ने क पा ) भने फरक हैन । फरक हो भने बोल्दा, सुन्दा, लेख्दा, परिभाषा गर्दा नै हुनु पर्दछ । दल दर्ता ऐन २०७३ को ६ को ‘ङ’ ले दलको नाम र चुनाव चिन्ह स्पष्ट छुट्टिनु पर्ने व्यवस्था गर्दा गर्दै सरकारी पार्टीलाई ब्राकेटमा स्पेस दिएर ( ने क पा ) नामलाई बैधानिकता प्रदान गर्नु निर्वाचन आयोगको षड्यन्त्रमूलक कार्य हो । संसदवादी व्यवस्थामा ‘योग्यको पनि एक भोट र अयोग्यको पनि एक भोट’ को मान्यता छ । यसका लागि पनि दलको आवश्यकता हुन्छ । तर निर्वाचन आयोगको निर्णयले दलीय पहिचानलाई समेत खण्डित गरेको छ ।

सैद्धान्तिक वैधानिकता

राजनीतिक दलहरू निष्चित दर्शनबाट प्रेरित हुन्छन् । दार्शनिक पक्षधरता नै यसको मुल पहिचान हुन्छ । कम्युनिष्ट भन्नासाथ माक्र्सवाद आउँछ । माक्र्सवाद भन्नासाथ वर्ग आउँछ, वर्ग संघर्ष आउँछ । वर्ग र वर्ग संघर्ष आउँनासाथ वर्ग पक्षधरता आउँछ । वर्ग पक्षधरता आउनासाथ व्यक्ति वा दल कुन पक्षधर भन्ने हुन्छ । राजनीतिक पार्टी सञ्चालन गर्नुको मुख्य कारण नै आफ्नो पक्षको सेवाका लागि हुन्छ । यसरी हेर्ने हो भने नेपालमा दुई मुख्य दार्शनिक आधारमा रहेका पार्टीहरू देखा पर्दछन् । वर्ग संघर्षलाई विश्वास गर्ने र नगर्ने पार्टीहरू । अहिलेको सरकारी पार्टी वर्ग संघर्षलाई विश्वास नगर्ने पार्टीमा रहेको कुरा त्यो पार्टीका आधिकारिक दस्तावेजहरूले बताउँदछ । जसलाई काँग्रेश वा राप्रपा वा तराई आधारित पार्टीहरू जस्तै भन्न सकिन्छ । सत्तासीन दलको पूँजीवादी, परम्परावादी, यथास्थितिवादी पार्टीको रूपमा पहिचान रहेको छ । कम्युनिष्ट पार्टीले वैज्ञानिक चिन्तन पद्दतिका आधारमा द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोण अनुरूप जीवन र जगतलाई बुझ्ने, बदल्ने र विकास गर्छ । जसले समाजमा चलिरहेको वर्ग संघर्षलाई आमुल परिवर्तनका पक्षमा नेतृत्व प्रदान गर्छ । जीवनपयोगी संस्कार र संस्कृति निर्माण गर्दछ । सामाजिक न्याय र आवश्यकताको आधारमा राज्य यन्त्र सञ्चालन गर्ने हुन्छ । न कि व्यक्तिगत हित वा विदेशीको स्वार्थ पुरा गर्ने खालको । अहिले सरकारी कम्युनिष्ट पार्टीहरू व्यक्तिगत नाफालाई बैधानिकता दिने र बहुराष्ट्रिय कम्पनीको दास हुने मनोृवत्तिकासाथ राज्य यन्त्रको प्रयोग गरिरहेका छन् । यसले नव सामन्ती र नव औपनिवेशिक शोषण उत्पीडनको निर्माण गरिरहेको छ । यसरी सरकारी पार्टी सिद्धान्तत् कम्युनिष्ट पार्टीको वैधानिकताबाट च्यूत भई सकेको छ ।

व्यवहारिक संकट 

हाल नेपालमा तीनवटा ‘नेपाल कम्युनिष्ट पार्टी’ अस्तित्वमा रहेका छन् । नामको वैधानिकता र निरन्तरताको हिसाबले ऋषिराम कट्टेल नेतृत्वको पार्टी आधिकारिक पार्टी हो । अर्को नेकपा(माओवादी)बाट ‘जनयुद्ध’ लडेको र पटकपटक विभाजित हुँदै आएको एक समुहले  ‘माओवादी’ बदनाम भयो भन्दै आफ्नो पार्टीको नाम परिवर्तन गर्दै नेपाल कम्युनिष्ट पार्टी राख्न पुग्यो । उसले दल दर्ता गरेन । र पनि यसरी उस्तै नाम राख्नु राजनीतिक संस्कार भित्र पर्दैन । यसपछि एमाले र माओवादी केन्द्र चुनावमा हार्ने डरले पार्टी एकताको कुरा गर्दै जबरजस्ती नेपाल कम्युनिष्ट पार्टी नाम राख्ने घोषणा गरे । तर नमिलेपछि वा कथित फरक छुट्याउने नाममा ब्राकेटमा ने क पा राखियो । 

अब सरकारी पार्टीले बाँकी नेकपालाई धरपकड गर्नुपर्ने हुन्छ । यो दुनियाकै लागि हँसीमजाक हुन्छ । भइ नै सक्यो । कानुनी र व्यवहारिक हिसाबले पनि अव निर्वाचन आयोगमा समान नाम , . , । / )( () राखेर दलहरू दर्ता हुने बाटो खुलेको छ । समान चुनाव चिन्हमा पनि गोलाकार भित्रको सूर्य, सेतो सूर्य, कालो सूर्य, रातो सूर्य, सूर्य बिचमा हँसियाहथौडा, सूर्य बिचमा घनकोदालो र सूर्यभित्र रूख, रूख लगायत स्थापित चिन्हहरूको प्रयोग यसगरी गर्ने गरी निर्वाचन आयोगले दल र चिन्ह दर्ता गर्नु पर्ने नजिर स्थापित भएको छ । यसरी नयाँनयाँ नजिरको स्थापना, चमत्कार र कीर्तिमान कायम हुने भएको छ । 

ब्राकेटको नेकपा कसको पार्टी हो त ? 

ब्राकेटको नेकपा; कम्युनिष्ट मन पराउने, विभाजनबाट विरक्तिएका, अन्य शक्तिको कामबाट सन्तुष्ट नभएका, केही हदसम्म प्रगतिको आशा गरेका, भारतीय समाज र राज्यव्यवस्थाको गरिवी र लुटाहा प्रबृत्ति देखेका भोगेका र चिनिया विकास र समृद्धिले न्यानो महसुस गरेका, संसदवादी अर्कमण्यताबाट पीडित र जनयुद्धले थिलोथिलो पारिएका दुई विपरित शक्तिको एकतामा पनि नेपाली जनताले अन्तिम आशाको रूपमा जिताएको पार्टी हो । तर पार्टीको नीति, नेता र नियत हेर्ने हो भने भोट माग्नका लागि आफैंले घोषणा गरेका कुनैपनि कार्यक्रमहरू कार्यान्वयनमा ल्याएका छैनन् । बरू उल्टै नेपालीको लगानीमा निर्माण गर्न सकिने माथिल्लो कर्नाली, अरूण ३ जस्तो सस्तो र सहज आयोजना विदेशिलाई सुम्पिएको छ भने महङ्गो, जटिल आयोजना भने राष्ट्र गौरव आयोजना भनिएको छ । यी त प्रतिनिधि विषयहरूमात्र हुन् । यसबाट के निष्कर्श निस्कन्छ भने यो नेपाली जनताबाट चुनिएको तर नेपाली जनताको हित विपरित दलाल, तस्कर, माफिया, गुण्डा, बलत्कारी व्यभिचारी, कमिसनखोर, कालोबजारी, घुसखोर, ठेकेदार होकी ठगदार आदिको रक्षा र विकास गर्ने ‘उखाने’ र ‘गु’ खानेकोहरूको पार्टी भएको छ । सरकार र सरकारी दल दलाल नोकरशाही पूँजीपति वर्गको सेवक भएको छ । नेपाली जनमानसमा भ्रम छर्ने अलि ठूलो हैसियत भएकाले यसलाई नयाँ कामदारको रूपमा स्थापित गर्न खोजिएको छ ।

नाम विवादको अन्तर्य ?

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएदेखि अहिलेसम्म यो आन्दोलनले धेरै घुम्ती र उतारचढावहरू पार परिसकेको छ । यसले टुटफुट, विभाजन र एकताका आरोह अवरोह पार गरेको छ । कतिपय सन्दर्भमा वैचारिक, सैद्धान्तिक विचलनका कारण त कतिपय सन्दर्भमा व्यवहारिक कठिनाइका कारण यो आन्दोलनले अनेकौं अप्ठ्याराहरू झेल्नु परेको छ । यसका नेतृत्वले कहिले  सामन्तवादवादसँग साँठगाँठ गर्ने, कहिले भारतीय एकाधिकारवादसँग सम्झौता गर्ने त कहिले अमेरिकी साम्राज्यवादीसँग भाका मिलाउने कार्य गरेकाले यो आन्दोलनमा सैद्धान्तिक र वैचारिक विचलन भइरहेको छ । कहिले यो आन्दोलन उग्रवामपन्थी दुस्साहसवादबाट त कहिले दक्षिणपन्थी संशोधनवादबाट ग्रसित हुने गरेको छ ।  जसका कारण यहाँ नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने नाममा विभिन्न समुहमा कम्युनिष्ट पार्टीको नामको पछाडि ‘फुर्को’ झुण्डाएर क्रियाशील छन् । उनीहरू कति कम्युनिष्ट, कति क्रान्तिकारी, कति बामपन्थी, कति प्रगतिशील भन्ने पहिचान गर्ने समय आएको छ । आज तिनीहरूले गरेका संसदवादी, उग्रबामपन्थी र मध्यपन्थी हर्कतबाट उनीहरू कम्युनिष्ट हुन कि हैनन् छुट्टिन थालेको छ । 

सत्ताधारी कम्युनिष्ट पार्टीको नीति, विचार, कार्यक्रम र सिद्धान्त गैर माक्र्सवादी भएकाले कम्युनिष्ट पार्टीकै नाममा कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्ने यो भन्दा राम्रो अवसर विस्तारवादी र साम्राज्यवादीहरूलाई उपलब्ध नहुने भएकाले सत्तासीन भएका कथित कम्युनिष्ट पार्टी र सरकारलाई प्रयोग गरेर श्रमजिवी जनताको मुक्तिको आन्दोलनलाई दिशाविहीन बनाउने भड्काउने र लम्ब्याई आफ्नो शासनसत्ता टिकाउने प्रपञ्च देशी विदेशी शक्ति केन्द्रहरूको आडमा भएको हो । अन्यथा पार्टीको नीति अनुरूप सुहाउँदोे पार्टीको नाम राख्दा नै इज्जत आउँथ्यो । आफैंले बनाएको कानुन विपरित काम गरी राष्ट्रियअन्तर्राष्ट्रिय स्तरमा बेइज्जती  कमाउन पर्दैनथ्यो । 

नेपाली कम्युनिष्ट आन्दोलन छद्म क्रान्तिकारी अवसरवाद जन्य भ्रमबाट मुक्त हुने चरणमा प्रवेश गरेको छ । कौवामा जडित मयुरको प्वाँख झर्न थालेको जस्तै गरी कम्युनिष्ट पार्टीको नाममा गरिएको जालसाँजीको पर्दाफास हुने भएपछि दुई अतिवादीको मिलन भएको स्पष्ट छ । यसो गर्नु उनीहरूको बाध्यता हो । किनभने दक्षिणपन्थी संशोधनवादमा पतन भएको एमाले,  उग्रबामपन्थी भड्कावले ग्रसित र बद्नाम भएको माओवादी केन्द्रले आफ्नो बद्नाम नाम र कर्मलाई चोख्याउने नाममा गरिएको अन्तिम प्रयासस्वरूप ‘नेपाल कम्युनिष्ट पार्टी’ नाम कब्जा गर्न खोजेको स्पष्ट हुन्छ । तर नेपाली क्रान्तिकारी जनतालाई कम्युनिष्ट पार्टीको नाममा अब लामो समयसम्म भ्रममा राख्न सकिँदैन । कम्युनिष्ट पार्टीको नाममा भ्रममा सत्ता चलाउने अभिष्ट नै उनीहरूको पतनको मुख्य कारण बन्ने भने निश्चित छ ।    

(लेखक नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य हुनुहुन्छ ।)   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif