Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

बिन्ति छ साख्वा तिमी फेरि आउ !


२०७५ कार्तीक २३ गते , शुक्रवार प्रकाशित




तुलसा दुलाल


देशले ११३९औं संबत मनाइरहँदा तिम्रो बिशाल छातीलाई सम्झन्छु
तिमो सम्झनामा दीप प्रज्ज्वलन भइरहँदा
आज मौलिकता नै हराएको महसुस गर्छु 

म राष्ट्रले अस्मिता गुमाउदै गएको देख्छु !
सक्कली अन्न, जडिबुटी र मान्छे पनि उतैकाले उपयोग गर्छन्
सक्कली मूर्ति र देबी–देबताहरु पनि उतैको संग्रहालयमा पुग्छन्  लाखौ लक्का जवानहरु अरबको गर्मीमा छटपटाइरहेका छन्
‘एयरपोर्टमा लगेज’ गुडाउदै गएकाहरु – बाकसमा फर्कदैछन्
बिदेश गएका कर्मठ व्यक्तिहरु हातखुट्टाबिहीन भएर फिर्ता हुँदैछन्
तर पनि देशले गर्ब त गरिरहेकै छ 
किनकि देशमा रेमिट्यान्स आइरहेछ ! 

यति मात्र होइन, नेपालीको टाउकोमा थामिनसक्नु ऋणको भार छ
दाताको सहयोग उल्फाको धन फुपुको श्राद्ध भैरहेको छ 
बिकास बजेट अर्बमा पास हुन्छ तर करोडमा काम हुन्छ
त्यसैले असार श्रावण महिनामा सडकमा
गिटी र बालुवा चरालाई कनिका छरे झै छरिन्छ  !
कमिसनको जालो जताततै छ 
त्यसैले नेपाल आमाको छाती पोलेको छ 
सगरमाथाको शीर निहुरेको छ
पशुपति र गौतम बुद्ध लाई शिला पत्थरमा कैद गरिएको छ 
आज नेपाल आमा रोइरहेकी छन् 
झन पछि झन सोझा नेपालीहरुको शीर झुकिरहेको छ 
यस्तो लाग्छ राष्ट्रले आज यसरी नै ऋण मोचन गरिरहेछ 
त्यसैले साख्वा तिमो अभाबको महसुस भैरहेछ ! 
साख्वा अब तिमी फेरि आउ ! 
यो देशको अस्मितालाई बचाइदेउ 
मौलिकताको पाठ पुनः पढाइदेउ
अझै एक पटक खोलाको बालुवा र बगेको पानीलाई सेतो सुन बनाइदेउ
गाउँ गाउँका मौलिक प्रबिधि बढाइदेउ
बिकासको आफ्नै पाठ पढाइदेउ
तब मात्र राष्ट्रले ऋण मोचन गर्ने छ 
त्यसैले बिन्ति छ साख्वा तिमी फेरि आउ ! 
अनि मात्र तिमीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।      

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif