Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

प्रकाश पर्व — दीपावलीबाट हामीले के सिक्नु पर्ला ?


२०७५ कार्तीक २२ गते , विहीवार प्रकाशित

  —लोकनारायण सुबेदी

         हामी हाम्रो देशमा ‘असत्यबाट सत्यतर्फ, मृतबाट अमृततर्फ, अन्धकारबाट उज्यालोतर्फ हिड्ने पुरानो परम्परा रहेको हामी दाबी गर्ने गर्दछौ र यसमा निकै गर्ब पनि गर्ने गर्दछैं । अध्यारोबाट पञ्छिने र उज्यालोतर्फलाग्ने संकल्प पनि गर्ने र यस उदेश्यकाप्रति गहिरो भाव आफुमा रहेको छ भन्ने कुरा पनि सगर्ब अभिब्यक्त गर्ने गर्दछौं । तर वास्तविकताले त्यस्तो पटक्कै दर्शाउदैन । हामी अध्यारोमै कतै छामछाम छुमछुम गरेर हिडिरहेको प्रतीत हुन्छ । अनि हामीले  भन्ने र गर्ने कुरा नमिलेका, फरक र पाखण्डपूर्ण रहेको महसुश हुन्छ ।  

     हुन पनि अन्धकार सबैतिर बडो डरलाग्दो नै हुन्छ र मानिन्छ । त्यसैल बाल बालिकाहरु अध्यारो ठाउमा जान मान्दैनन् । बच्चाहरुको भयको कारण अज्ञानताबाट उत्पन्न खतराको अनुभूति रहेको हुन्छ । अज्ञानताको भय स्वभाविक हुन्छ । ठूला मानिसहरुको मनमा संशय लागि रहन्छ कि थाहा छैन अन्धकार ठाउँमा के हुने हो या नहुने हो । अन्धकारलाई सँस्कृत भाषामा ‘तम’ भन्ने गरिन्छ । अनि यसको प्रबृत्ति पनि सात्विकताको बिपरीत तामसी नै हुने गर्दछ । हामीले आफु स्वयंलाई अन्धकारको कालीमाबाट बचाउने बच्ने काम गरिरहेका हुन्छौ तर अन्धकार बाहिरी संसारको पनि हुन्छ र हाम्रो आफ्नो मन भित्रको पनि । उसै पनि बाहिर र भित्रको संसार परस्पमा जोडिएकै छ । तिनका बीच आवत–जावत चलिरहन्छ, भइरहन्छ । भलै ती बेग्ला बेग्लै जस्ता देखिउन् तर ती एक किसिमको सामाञ्जस्यबाट परस्परमा जोडिएको हुन्छन, तिनको संसार । बाहिरी संसारमा जुन उथलपुथल हुन्छ त्यो एक हदसम्म भित्री संसारकै अभिब्यक्तिकोरुपमा प्रकट हुने गर्दछ । हामीहरु सबै मनै मनले उतार चढावमा, उथल पुथलमा लागिरहेका र रहिरहेका हुन्छौं । हाम्रो मनमा भत्किने बनिने क्रम सधैं चलिरहेको हुन्छ । अनि मनमा स्वच्छ इच्छाहरु, आकांक्षाहरु र कुण्ठाहरुलाई लिएर भित्रभित्रै एउटा युद्ध या संर्घष अनबरत भइरहेको हुन्छ । ति कुरासँग हामीले चाहे नचाहे पनि सामना गर्नु परिरहेको हुन्छ । हामी तिनलाई पञ्छाउन सक्ने स्थितिमा पनि हुदैनौ । हुन पनि हाम्रा धेरैजसो संकल्प, चेष्टा र प्रयत्नहरु यसै युद्धका प्रतिफल हुने गर्दछन् । यिनमा तमको अर्थात् अन्धकारको ठूलो अंश हुने गर्दछ जुन हाम्रा आफ्ना सीमित आत्मबोध र बढेको झूटो आत्माभिमानको परिणाम हुने गर्दछ । यस माध्यमबाट जुन संसार हामी देख्दछौ, देख्नपाउँदछौं त्यो यथार्थ नभएर हाम्रो आफ्नो ’स्व’को रंंगमा रंगिएको हुन्छ । हामीले आफुभन्दा भिन्न सारा संसारलाई आफ्नो ’स्व’को चस्माले नै हेर्दछौ, जान्ने चेष्टा गर्दछौं तर आफुमा यत्तिका धेरै हराइरहेका हुन्छौ कि थाहै हुँदैन या बिर्सन्छौ यो संसारलाई हामीले, हामीले एउटा खाश चस्माले हेरिरहेका छौं ।              बाहिरको संसारले दिएको मैनबत्ती, बिद्यूत जे उपलब्ध हुन्छ त्यसलाई लिएर हामी प्रकाशको आह्वान गर्दछौ र अन्धकार हटाउने यत्न गर्दछौं । तीब्र प्रकाशको यो तिरीमिरी बिभिन्न रुपको रंगमा सजिने गर्दछ र प्रकाशको एक अद्भूत छटा छाउँदछ । हामीले प्रकाशको स्नान गर्दछौं । बिभिन्न किसिमका भूइचम्पा, पटाका आदिका आतसबाजी चल्छ, चलाउदछौ र बिभिन्न प्रकारका प्रकाशहरुको प्रबाह हुने गर्दछ । त्यो चकाचांैधकासाथ हो–हल्ला पनि खुबै हुन्छ । दीपावलीको रात राती अबेर भए पछि बल्ल त्यो हो–हल्ला रोकिन्छ । अनि त्यसपछि धुमिल धुवाँको साम्राज्य छाउँदछ । श्वास प्रश्वास पनि प्रदुषणले मुश्किल हुने गर्दछ । ध्वनी र बायुको प्रदुषण चरम चुलीमा पुग्दछ । बाहिर देखिने प्रकाश मूलतः हाम्रो तम–अन्धकार या तामसकै प्रतिरुप हुन्छ, जसको भ्रममा हामी उल्झिएर रहेका हुन्छौं । जब आफ्नो वरिपरीको संसार र त्यहाँ घटित भइरहका घटनाहरुमा आँखा लगाइन्छ के लाग्दछ भने मानौं बाहिर भित्र सर्बत्र चारैतिर अन्धकारको साम्राज्य नै लमतन्न छाएको छ । बाहिरको किरणले थोरै समयसम्म प्रकाशको भ्रम अबश्य पैदा गरिदिन्छ । तर भित्रको अन्धकारले कम हुने कुनै नामै लिदैन बरु अझ फैलिदै र बढ्दै जान्छ । चारैतिर जता आखा दौडाउदा पनि अन्धकारकै घना साम्रज्य देखिदैगएको हुन्छ । यस्तो लाग्दछ कि त्यसले सबै कुरालाई निल्न खोजेको छ । सत्य र झूटको भेद समाप्त हुन लागेको स्थिति बिकसित हुन्छ । हमी हुनु र नहुनुको अन्तर पनि बिर्सन थालेका हुन्छौं । यस्तो घोर अध्यारोमा आलोक र्दुलभ हुँदै गइरहेको छ र त्यहाँ कुनै प्रकाशको किरण नै बर्जित भएको जस्तो हुन्छ । केही पनि देखिदैन । त्यतिबेला असत्यबाट सत्यतिर, मृत्युबाट अमृत्युतिर, अन्धकारबाट उज्यालोतिर हिड्ने जुन संकल्प लिइन्थ्यो र अन्धकारबाट टाढा भएर उज्यालोतिर अगाडि बढ्ने प्रतिज्ञा जुन गरिन्थ्यो अनि यो उदेश्यप्रति समर्पणको जुन भाव रहने गर्दथ्यो अब भने अन्धकारको यस्तो आदत बसिसकेको छ निरन्तरतको अभ्यासको कारण त्यो अस्वाभाबिक र असमान्य पनि हुन या लाग्न छाडेको छ । यसरी अन्धकार नै प्रिय लाग्न थालेको छ । उदासीनताको यस्तो क्षणमा असत्य, अनाचार,द्वेष, अकर्मण्यता, चोरी र कामप्रति अनादारको मात्रमा शतत बृद्धि हुँदै जान्छ, गइरहेको छ । आजको ब्याप्त भ्रष्टाचार, तस्करी, कालोबजारी, कमिशनखोरी आदि त्यसैका अनेक प्रतिरुप हुन् ।  

       अनि त यस्तो अमान्य र अस्वीकार्य अबस्थामा लक्ष्मीको बैभव र सम्पन्नताको उपासना पनि केवल नीजी भोग र संग्रहका लागि मात्र नै हुने गरेको छ । त्यो त्याग, परोपकार, दान र लोककल्याणका लागि हुन छाडेको छ । यद्यपि राष्ट्रको भावधारा यसमा जोडिएको र राजनीति त्यसरी देश र जनताप्रति समर्पित भएर चलेको भए वास्तवमा राष्ट्रमा चारैतिर उज्यालै उज्यालो छाउने थियो । अनि त्यसले सही गन्तब्य र गति पनि पहिल्याउँदथ्यो । फलतः ब्यक्ति, परिवार, समाज र राष्ट्र अनि अन्तर्र्रााट्रय जगत सबै प्रकाशबान् हुने थिए र सत्यको भित्री वास्तविक तहसम्म मानब समाज पुग्न सक्तथ्यो । त्यसैले पनि ज्ञानलाई प्रकाशकै प्रतिस्वरुप मानिएको र भनिएको पनि हो ।

        निश्चयनै अज्ञानताको तिमिरले समाजलाई अन्धा बनाउँदछ भने ज्ञानले सर्बत्र खुल्ला र सुस्पष्टता ल्याउछ र छाउँछ अनि उज्यालोको आलोकले के राजनीति के अर्थतन्त्र, के समाजिक संरचना के सँस्कृति सबैतिर मानबीयताको मूलबाटोबाट हिडाउने थियो । तर आजको संसारले बिज्ञान र प्रबिधिमा अकल्पनीय र आश्चर्यजनक बिकास गरेको भए पनि समाजिक असमानता, बर्गीय शोषण तथा उत्पीडनको अँध्यारोलाई अन्त्य गर्न सकेको छैन । त्यसैले उज्यालोको निमित्त, प्रकाशको निमित्तको संघर्ष संसारभरी निरन्तर जारी छ । प्रकाशको महत्व त्यसैले बिश्वभरी नै सर्बा्धिक ठूलो छ र रहिरहने छ । निरन्तर उज्यालोको पर्व मानिने तिहार अर्थात् दीपावलीमा यो यथार्थलाई आत्मसात गर्न अनि बस्तुगत र मनोगत ठोस ब्यवहारमा खरो उतार्न सकौ र सिकौं ! यही नै यसको सार्थकता हो र हुन्छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif