Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

ऐतिहासिक सिन्धुलीगढीमा विजयोत्सव मनाइँदै


२०७५ कार्तीक २० गते , मंगलवार प्रकाशित


काठमाडौँ । नेपाली वीरताको सुनौलो इतिहास बोकेको सिन्धुलीगढीमा आगामी शनिबार कात्तिक २४ गते विशेष समारोहको आयोजना गरी भव्य रुपमा विजयोत्सव मनाइने भएको बताइएको छ । 
नेपाललाई सार्वभौम, स्वतन्त्र र अखण्ड बनाई राख्न निकै महत्वपूर्ण मानिने सिन्धुलीगढीमा भएको लडाइँमा नेपाली फौजले कप्तान ‘किनलक’को नेतृत्वको अङ्ग्रेज फौजलाई परास्त गरेको घटनाको सम्झनामा हरेक वर्ष कात्तिक २४ गते विभिन्न कार्यक्रमको आयोजना गरी विजय दिवस मनाइने गरिदै आएको छ । 



कमलामाई नगरपालिकाले यस पटक विजय दिवसका अवसरमा सकेसम्म गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले तयार गरेको गुरुयोजना कार्यान्वयनको घोषणा गर्ने सोच बनाएको थाहा भएको छ । 
नगरपालिकाले त्यस दिन झण्डोत्तोलनका अतिरिक्त सरसफाइसहित विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको नगर प्रमुख खड्ग खत्रीले जानकारी दिएका छन् । सिन्धुलीगढीको महत्वका कारण त्यस क्षेत्रको सुरक्षा र संरक्षणका लागि नगरपालिकाले सरकारसँग नेपाली सेनाको टुकडी तैनाथीका लागि अनुरोध पनि गरिसकेका छ । 
हालको कमलामाई नगरपालिका–३ मा पर्ने सिन्धुलीगढी समुद्र सतहबाट एक हजार ५२० मिटरको उचाइमा अवस्थित छ । त्यस क्षेत्रमा सानो र ठूलो गरी दुई वटा बेग्लाबेग्लै गढी रहेका छन् । ठूलोगढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला, ठूलोगढीमा तोप, गोलाबारुद्ध, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानीको सङ्कलन गरिन्थ्यो । सानोगढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास छ । 



मकवानपुरका सेन राजाको पालामा निर्माण गरिएका उक्त गढीमा कर सङ्कलन गर्ने प्रयोजनका लागि कार्यालयसमेत स्थापना गरिएको थियो । गढीमा शत्रुको निगरानी गर्न ११ वटा प्वाल भएको पर्खाल निर्माण गरिएको थियो । 
नेपाल एकीकरणको समयमा काठमाडौँका तत्कालीन मल्ल राजा जयप्रकाश मल्लको सहयोगका लागि कप्तान किनलकको नेतृत्वमा दुई हजार ४०० को सङ्ख्यामा काठमाडौँतर्फ अघि बढिरहेको ‘इष्ट इण्डिया कम्पनी’का फौजसँग नेपाली फौजले घमासान युद्ध गरेको थियो । 
विसं १८२४ असोज १५ गते भएको उक्त युद्धमा एक हजार ६०० जति अत्याधुनिक बन्दूकधारी अङ्ग्रेज जवान ज्यान गएको थियो । शिकारी सरदार वंशु गुरुङ, काजी श्रीहर्ष पन्त, काजी वंशराज पाण्डे, खजाञ्ची वीरभद्र उपाध्यायको फौजले चेपुवामा पारी अङ्ग्रेज फौजमाथि आक्रमण गरेको थियो । अङ्ग्रेज फौजसँगको लडाइँ असोजमा भए पनि लडाइँ सकेर फर्केको दिनलाई आधार मानेर कात्तिक २४ गतेका दिन विजय दिवस मनाउने गरिएदै आएको छ  । 



उक्त ऐतिहासिक लडाइँंबाट अङ्ग्रेज फौजका ५०० थान बन्दूक र केही तोप हात पार्न गोर्खाली फौज सफल भएको थियो । सिन्धुलीगढी लडाइँमा वीर गोर्खाली सेनाले खुकुरी, खुँडा, धनुकाँड, ढुङ्गा, घुँयेत्रो, अल्लो (जोडले पोल्ने जङ्गली सिस्नो) र अरिङ्गालजस्ता घरेलु हतियार र प्राकृतिक चिजबीज प्रयोग गरेको थियो । 
गोर्खाली फौजले निकै सुझबुझ र बुद्धि खेलाई रणनीतिक सफलता पाएको ‘सिन्धुलीगढीका लडाइँ’ आधुनिक नेपालको इतिहासमा सुनौलो अक्षरले लेखिएको छ । 
सिन्धुलीगढीमा गोर्खाली वीर योद्धाले अङ्ग्रेज फौजलाई परास्त गरेको २५०औँ वर्षगाँठको अवसरमा अघिल्लो वर्ष  राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले झण्डोत्तोलन गरेकी थिइन् । 
विसं २०२२ अघि सिन्धुली जिल्लाको सदरमुकामसमेत रहेको सिन्धुलीगढीमा भग्नावषेशका रुपमा दरबार, जेलघर, टुँडिखेल रहिआएका छन् । पछिल्लो समय आन्तरिक पर्यटनका अतिरिक्त बाह्य पर्यटकसमेतबाट बाक्लो रुपमा भ्रमण हुन थाले पनि वार्षिक रुपमा कति पर्यटक त्यहाँ पुग्छन् भन्ने तथ्याङ्क भने अहिलेसम्म रहेको पाइँदैन । 

नगरपालिकाले सोला भञ्ज्याङदेखि गढीसम्म पुग्ने बाटो सुधारको कार्यलाई अन्तिम चरणमा पु¥याइसकेको छ । गढी क्षेत्रको मर्मतका लागि नगरपालिकाले यस वर्ष रु एक करोड ५० लाख विनियोजन गरेको छ । गुरुयोजना लागू भएसँगै नगरपालिकाले त्यस क्षेत्रमा जाने पर्यटकसँग शुल्क उठाउने योजना बनाएको छ । हाल गढी क्षेत्रमा वनभोजमा आउने समूहसँग प्रतिसमूह रु ५०० शुल्क लिने गर्दैआएको छ । 
गढी क्षेत्रको महत्वलाई उजागर गर्ने सन्दर्भमा नगरपालिकाले त्यस युद्धमा लडेका सैनिक कमाण्डरको तस्वीरसहितको परिचय, स्थान परिचय दिने बोर्डहरु राख्नाका साथै विभिन्न महत्वपूर्ण मठमन्दिर र भग्नावशेषको संरक्षण गर्ने कार्यको थालनी गरिसकेको छ । 




नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सुवेदीले नेपाललाई जोगाउने धरोहरका रुपमा ख्याति कमाएको सिन्धुलीगढी स्थल संरक्षणका लागि नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । सिन्धुलीगढीका लडाइँमा बाँचेर फर्केका अङ्ग्रेज फौजले ‘नेपाली योद्धा मात्र होइन, त्यहाँका पातपतिङ्गर र कीरा फट्याङ्ग्रासमेतले एउटै मोर्चामा रही लडाइँमा भाग लिएको’ स्मरण सुनाउने गरेको इतिहास पाइन्छ । ‘सिन्धुलीगढी घुमेर हेर्दा’ भन्ने गायक कृष्ण थापाको प्रचलित एक गीतले माया पिरतीको बोल सँगसँगै नेपालीलाई यो ठाउँको ऐतिहासिकताको स्मरण दिलाउने गर्दैआएको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif