Monday, 17 December, 2018    |    २०७५ पौष २ गते , सोमवार

देश ठूलो चित्त सानो देखियो – भैरब रिसाल


२०७५ कार्तीक १४ गते , बुधवार प्रकाशित

  ‘‘आजको राजनीति सत्ताशालीहरुका लागि त राम्रै भएको होला तर अरु बाँकी कसैका लागि पनि राम्रो भएको छैन । वास्तवमा आजको राजनीति द्रब्यमुखी भएको छ, नाफामुखी भएको छ   समस्याको जड नै यही हो । राजनीतिलाई जनमुखी नबनाइएसम्म यसले जनता र राष्ट्रको हित र समुन्नति ल्याउन सक्तैन । या मेरो आजको स्थिति बिश्लेषणको  निष्कर्श हो ।’’

आज नबज्योति एफएम ८८.२ सँगको प्रश्न कार्यक्रमममा बोल्दै ९१ बर्ष पुगेका जेष्ठ नागरिक, पुराना बामपन्थी नेता तथा बरिष्ठ पत्रकार भैरब रिसाले उक्त कुरा बताएका हुन् ।   उनलाई आफ्ना जीवनको यति लामो यात्रामा आजको राजनीतिलाई कसरी मूल्यांकन गरिरहनु भएको र हेरिहरनु भएको छ भन्ने प्रश्न सोधिएको थियो । 

         उनले आदर्श र सिद्धान्तमा हिड्ने नैतिकबान पुराना नेताहरुको  या त अशक्त छन् या दिबंगत भइसके भन्ने स्मरण गर्दै जनता र राष्ट्रको सेवा गर्ने राजनीतिलाई नाफा कमाउने माध्यम बनाए पछि देश र जनताले दुःख पाउने बाहेक अरु केही हुँदैन भन्ने कुरा प्रष्ट उल्लेख गर्दै भने केही दिन पहिला शान्ता मानबी भेटन आएकी थिइन । उनले बनारस बस्दा आफुसँग एक पैसा नभएर कमरेड पुष्पलालसँग २ रुपैया माग्न पार्टी कार्यालय दशपुत्र गल्ली गइन् । उनी दूध बिनायक बस्थिन् । पुष्पलालसँग दुइ रुपैया थिएन रहेछ । उनले मानबीलाई भने — ‘मसँग २ रुपैयाँ छैन । कोटको गोजीमा ५ रुपैया मात्रै छ निकालेर लानु’ । मानबीले पुष्पलाललाई अनि मैले ५ रुपैया लगे पछि तपाई के गर्नु हुन्छ नि भनेर सोद्धा पुष्पलालले भने छन् — ‘होला नि एउटा उपाय । कोही साथी आउलान काम चलाउँला !’ अनि शान्ता मानबीले २ रुपैयाभन्दा बढी नलाने र पुष्पलालले ५ रुपैयाभन्दा कम दिन नसक्ने स्थिति भए पछि शान्ताले बाहिर गएर पाँचरुपैया भजाँइन् र ३ रुपैया कमरेड पुष्पलालले नमान्दा नमान्दै उहाँको पढ्ने टेबुलमा छोडेर २ रुपैया आफ्नो लागि लिएर गइन् ।  हिजो नेता कार्यकर्ता त्यसरी काम गर्थे आज त सब पैसाको पछि दौडेका छन् । द्रब्यमुखी राजनीतिले देशमा भ्रष्टाचार बढ्यो । नेता र कार्यकर्ता बीचको घुलमिल र अपनत्व पनि घट््यो । पार्टी संगठन केवल औपचारिक मात्र भयो । नेता र जनता बीचको सम्पर्क, सम्वन्ध पनि रहन छोड्यो ।

    अर्को नेपालको सीमा भारतले मिच्दै आएको  प्रसंगमा रिसालले भने –  "भारत देश ठूलो चित्त सानो देखियो । ठूलो देशले ठूलै छाती राख्ने हो भने नेपाल–भारत सीमा समस्या नसुध्रिने कुरै थिएन ।  नेपालको दार्चुला जिल्लामा म २०१८ सालमा जन गणना अधिकारी भएर गएको थिए । लिम्पियाधूरा हाम्रो हो र त्यो हिमाली क्षेत्रमा गर्मी याममा नेपालीहरु बसोबासो गर्ने गर्दछन् । महाकाली वारीको क्षेत्र नेपालको हो । नदीको कुरा गर्दा लामो, ठूलो र त्यसको क्याचमेण्ट(नदीप्रवाही क्षेत्र) क्षेत्रसमेतलाई हेरेर अन्तर्राष्ट्रिरुपमा तय गरिन्छ । तर त्यो क्षेत्रमा भारतले बखेडा झिकेर अहिलेसम्म हाम्रो जमिन हड्पेर त्यहाँ भारतीय सशस्त्र सेना राखेको छ । लिपु लेक पनि हाम्रै हो । त्रिदेशीय बिन्दूमा दुइ ठूला छिमेकीले मात्र निर्धारण गर्न पाउँदैनन् । भारतले त गर्न खोजेकैथ्यो । तर चीन पनि लिपु लेकबाट बाटो खोल्ने र आवात जावात गर्ने भन्ने कुरामा किन भारतसँगै उभ्भियो आश्चर्य लाग्दो छ । यद्यपि चीनले चीन र भारत बीच भएको त्यो बिबादास्पद सम्झौतालाई कार्यान्वयमा ल्याएको छैन । शायद चीनल सम्झौतापछि नेपालको जमिन भन्ने कुरा बुझ्यो कि ?"

  उहाले सरकार र राज्यले त ठूल्ठूला कुरै छोडौं जन जीवनका स–साना काम पनि गरेन । घर पोत्ने माटो खन्न जाँदा मानिसहरु पुरिन्छन्, झोलुंगे पुल मर्मतबिहीन छन्, तुइन हटाउने कुरा पनि पूरा भएन यसरी जनताको जीवन सुरक्षित तुल्याउने कुरासम्म पनि हुँदैन भने कसरी परिवर्तनले जनताका लागि केही गरेको मान्न सकिन्छ र परिवर्तन केवल सत्ताको लागि मात्रै भयो ।   तर रिसाल निराश भने छैनन् । उनले भने – यस्तो स्थिति बदल्ने बिकल्प खडा हुन्छ नभई सुखै छैन । जनता र देश सधै नाजुक स्थितिमा रही रहँदैनन् । यसलाई बदल्न जनताका बीचबाट कोही कोही बिकल्पसहीत खडा हुन्छ । यो परिवर्तनको नियम नै हो ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif